Comments Add Comment

छापामा आज : दिल्ली संस्थापनको इसारामा तेस्रो शक्ति निर्माण प्रयास

१७ कात्तिक, काठमाडौं । आफ्नो पछिल्लो स्वास्थ अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेताहरूलाई दिएको जानकारी आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक कांग्रेसका सबै संयन्त्र निष्क्रिय बनेको, राष्ट्र बैंकका डेपुटी गभर्नरलाई बर्खास्त गर्ने तयारी गरिएको, दिल्ली संस्थापनको इसारामा नेपालमा तेस्रो शक्ति निर्माणको प्रयास भइरहेको लगायत खबर पनि आजका पत्रिकाहरूमा छापिएका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले ‘ध्रवीकरणको दक्षिणी डिजाइन’ शीर्षकमा आवरण स्टोरी बनाएको छ । रिपोर्टमा लेखिएअनुसार, दिल्ली संस्थापनको इसारामा तेस्रो शक्ति निर्माणको प्रयास भइरहेको छ । त्यसका लागि मधेसकेन्द्रित र संघीय समाजवादी पार्टीबीच एकताको प्रयास भइरहेको उसको दाबी छ ।  कात्तिक २८–३० को समाजवादी पार्टी बैठकले शक्तिशाली तेस्रो ध्रुव बनाउनेबारे निर्णायक छलफल गर्ने रिपोर्टमा उल्लेख छ ।

नेपाल साप्ताहिकका अनुसार, भारतीय संस्थापन पक्ष तेस्रो शक्ति निर्माणमा जुटिरहेको छ । ०७२ को नाकाबन्दीका सूत्रधार अजित डोभाल काठमाडौंमा गुमेको प्रभुत्व फर्काउन शृंखलाबद्ध कसरतमा छन् । डोभाल रोडम्याप कार्यान्वयनमा रअका नेपाल चिफको दौडधुप देखिए पनि भारतीय दूतावास भने यसमा उदासीन देखिएको दाबी रिपोर्टमा गरिएको छ ।

एकता नभएमा अर्को विकल्प पनि अघि सारिएको दाबी नेपालको छ । रिपोर्टअनुसार उपेन्द्र यादव सरकारबाट कथम् बाहिर आउन नचाहे क्षेत्रीय शक्तिहरू संघीयता रक्षाका लागि भन्दै नयाँ गठबन्धन बनाउने सोचमा छन् । पहिचानवादी पार्टीहरूसँग मिलेर मोर्चाबन्दी गर्न बैठक डाक्ने तयारी छ । तर विगतमा उपेन्द्रले आफ्नो प्रभावमा राखेर चलाउँदै आएको संघीय गठबन्धनमा भने आफूहरू नअट्ने तिनको बुझाइ छ । प्रस्तावित गठबन्धनको नाम छ– राष्ट्रिय मुक्ति आन्दोलन ।यो प्लान बीको मुख्य लक्ष्य पहिलो संविधानसभाकालीन १० प्लस १ प्रदेशको माग ब्युँताउनु रहेको रिपोर्टमा लेखिएकाे छ ।

कान्तिपुरले सरकारले राष्ट्र बैंकका डुपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोपमा छानबिन गर्ने भएको लेखेको छ । लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोपमा श्रेष्ठमाथि छानबिन हुन लागेको समाचारमा लेखिएको छ ।

छठ पर्वका ब्रतालुको तस्वीर छापेको अन्नपूर्णले स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्रीले गरेको ब्रिफिङ, गरिमा धानको बिउका कारण किसानमा परेको असरलगायत विषय उठाएको छ ।

नागरिकले कांग्रेसका सबै संयन्त्र निष्क्रिय बनेको लेखेको छ भने राजधानीले उपनिर्वाचनका लागि उम्मेदवार छान्न साना दललाई कठिन भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment