Comments Add Comment

पोखराका फुटपाथ पसल हटाउन ७ दिनको अल्टिमेटम

१७ कात्तिक, पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रको फुटपाथमा पसल सञ्चालन गर्ने ब्यापारीलाई ७ दिनभित्र छोड्न आग्रह गरेको छ । आइतबार महानगरका नगर प्रहरी, जिल्ला ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिले फुटपाथमा पसल सञ्चालन गर्ने व्यापारीलाई ७ दिनभित्र छोड्न अल्टिमेटम दिएका हुन् ।

पोखरा महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगरलगायतका बजार क्षेत्रको फुटपाथमा व्यापार गर्न नपाइने र अटेरी गरेमा कारबाही गर्ने महानगरले जनाएको छ । ‘दिएको समयभित्र पसल नहटाए महानगरले कारबाही प्रक्रिया अघि बढाउँछ,’ फुटपाथ पसल हटाउन गठित समिति संयोजक पुरुषोत्तम थापाले भने, ‘अटेरी गरे ५ हजार देखि १० हजारसम्म कारबाही गरिन्छ ।’

पोखरा महानगरले सडक छेउका अनधिकृत र अव्यवस्थित फुटपाथ पसल हटाउने निर्णय कात्तिक ७ गते नै गरेको थियो । महानगर ट्राफिक व्यवस्थापन समिति, नगर प्रहरी, जिल्ला ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ लगायतको संयुक्त बैठकले फुुटपाथ पसल हटाउने निर्णय गरेको थियो ।

‘सहरी क्षेत्रका फुटपाथहरु अतिक्रमण गरी व्यवसायहरु सञ्चालन भइरहेको पाइएको छ र यसले सहरको सुन्दरतामा ह्रास आइरहेको छ,’ निर्णयमा भनिएको छ, ‘यसले बटुवाहरुको यात्रालाई असहजता भएकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहयोग लिएर फुटपाथ पसल हटाउने निर्णय भएको छ ।’

महानगरले पृथ्वी चोकमा रहेको माइक्रो बस स्टेसन पनि तत्काल हटाउने निर्णय गरेको थियो । तर सो निर्णय कार्यान्वयनमा आइसकेको भने छैन । ‘मैले ट्राफिक प्रहरीलाई सो स्टेशन हटाउन जिम्मा दिएको हुँ । निर्णयअनुसार ८ गते नै हटिसक्नुपर्ने हो,’ महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘अब केही दिनमै हटिसक्छ ।’ महानगरले चिप्लेढुंगास्थित चौतारो वरिपरिसमेत कुनै व्यापार गर्न नपाउने निर्णय गरेको छ ।

पोखरा महानगरको सबैभन्दा व्यस्त व्यापारिक क्षेत्र लेकसाइडपछि महेन्द्रपुल–चिप्लेढुंगालाई मानिन्छ । जहाँ दैनिक हजारौं सेवाग्राही, उपभोक्ताको भीड थामिनसक्नु देखिन्छ । यो समस्या महेन्द्रपुलमा मात्रै नभई चिप्लेढुंगा, बगर, पृथ्वीचोक, सिर्जनाचोक, सिद्धार्थ चोकको साझा समस्या हो ।

महानगरले पैदलयात्रीका लागि कुनै ठाउँमा अपांगमैत्री फुटपाथ बनाइसकेको छ भने कुनै ठाउँमा निर्माणाधीन छ । तर, हिँड्नलाई बनाएका ती बाटोमा व्यापारी र सवारीचालकले ठाउँ ओगट्दा यात्रु समस्यामा पर्ने गरेका छन् ।

२०७१ सालमै साविक पोखरा उपमहानरपालिकाले पोखराका मुख्य बजार क्षेत्रका फुटपाथ पसल हटाएको थियो । तर, निरन्तता दिन नसक्दा समस्या दोहोरिएको छ । प्रत्यक्षदर्शीका अनुसार अहिले फुटपाथ व्यापारीको संख्या उल्लेख्य वृद्धि भएको छ ।

‘फुटपाथमा आधा बाटोसम्मै सामान राखेर व्यापार गर्छन्,’ चिप्लेढुंगाका एक व्यापारीले भने, ‘नगर प्रहरी आउँदा हटाएको जस्तो गर्छन् । उनीहरु गइसकेपछि फेरि सामान सडकमा ल्याउन थालिहाल्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment