Comments Add Comment

बझाङको सुरुङमा फसेका ४ मजदुरको उद्धार हुन सकेन, काठमाडौंबाट टोली झिकाइयो

१८ कात्तिक, धनगढी । अक्सिजन नपुगेपछि बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ भएको छ ।  स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको छ ।

नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएका हुन्।  बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कविहीन भएको जानकारी आफूले आइतबार साँझ ६ बजे मात्र पाएको र त्यसलगत्तै उद्धारको प्रयास थालेको बताए ।

‘स्थानीय टोलीभित्र छिर्यो तर दुईजना बेहोस भएपछि अहिले उद्धार स्थगित गर्न निर्देशन दिइएको छ’, प्रजिअ पाण्डेले भने, ‘काठमाडौंबाट विज्ञसहितको टोली हेलिकप्टरमा झिकाइएको छ ।’

सम्पर्कविहीन भएलगत्तै प्रहरी उद्धारमा खटिए पनि अक्सिजन अभावमा सुरुङ प्रवेश गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।

अक्सिजन नपुगेपछि इलाका प्रहरी कार्यालय, बुङ्गलका प्रहरी सहायक निरीक्षक अमर भण्डारीलगायतको टोली अन्योलमा परेको छ । प्रहरी नायब उपरीक्षक बमका अनुसार, अक्सिजनकै कारण प्राविधिक टोलीले पनि उद्धार कार्य अघि बढाउन सकेको छैन ।

‘प्रहरीसँगै प्राविधिक टोली उद्धारका लागि घटनास्थल पुगे पनि अक्सिजन अभावमा टनेल बाहिरै रहेको छ’, प्रहरी सहायक निरीक्षक भण्डारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment