Comments Add Comment

मृत भेटिएकी युवतीको हत्या आशंका, श्रीमान पक्राउ

१७ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ ।

उनी जिराभवानी गाउँपालिका–३ परसवा बस्ने रामबाबु पासवानको श्रीमती १८ वर्षीया नीपुकुमारी पासवान रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए । उनको माइती भारत बिहार राज्यको पचरुखी सेढवामा पर्छ ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नीपुको श्रीमान रामबाबुलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मृतक युवतीको पहिचान भएको र अनुसन्धानका लागि श्रीमानलाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘शव पोष्टमार्टमका लागि अस्पताल पठाएका छौं, रिपोर्ट आएपछि थप अनुसन्धान पक्रिया अगाडि बढाउन सहज हुन्छ,’ उनले भने ।

यो पनि पढ्नुहोस पर्सामा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

एसपी राठौंर स्वयं घटनास्थलमा पुगेका थिए । नीपुको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

नीपुको बुवा कपिलदेव पसवानले आइतबार बेलुका साढे ८ बजेतिर घटनास्थलमै पुगेर शवको पहिचान गरेका थिए । ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चादेखि उत्तरतर्फ ओरियाखोला किनार स्थित झाडीमा किशोरीको शव भेटिएको थियो । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने झाडीमा गोठाला गएका स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

ज्वाइँले नै हत्या गरेको माइती पक्षको दाबी

माइती पक्षले ज्वाइँ रामबाबुले नै नीपुको हत्या गरेको दाबी गरेका छन् । रामबाबुको गाउँमा अर्कै युवतीसँग हिमचिम बढेको जानकारी नीपुले पाएपछि घरमा खटपट चलिरहेको थियो । नीपुले माइतीमा यसबारे जानकारी गराएकी थिइन् ।

नीपुको बुवा कपिलदेवका अनुसार आइतबार घरमा नीपुको बहिनीको ‘गौना’ थियो । नीपुले जान अस्वीकार गरेपनि रामबाबुले नै फकाएर ससुराली लिएर जाँदै थिए । अचानक रामबाबुले कपिलदेवलाई फोन गरेर ‘ओरिया खोलामा आइपुगें मोटरसाइकलमा पेट्रोल सकियो । लिएर आउनुस्’ भनेका थिए ।

कपिलदेवले पेट्रोल लिएर आउँदा छोरी ज्वाइँ दुवैलाई त्यहाँ भेटेनन् । वरपर खोजतलास गर्दै गर्दा ज्वाइँको फोन आएको थियो । ‘पेट्रोल लिएर आउनुस् भनेपछि लिएर आएँ, भनेको ठाउँमा उनीहरु थिएनन्, अर्को पटक फोन गरेर ‘तपाईँको छोरी भाग्यो म खोज्दैछु, भने,’ कपिलदेव भन्छन्, ‘त्यसपछि ज्वाइँलाई भेटेँ, अनि हामी दुवैजना मिलेर निपुको खोजी गरेका थियौं । रातपरेपछि मात्रै दुवैजना आ–आफ्नो घर फर्केका हौं ।’

किशोरीको शव भेटिएको खबर पाएपछि ‘कतै आफ्नो छोरी त हैन ? ’ भनेर हेर्न आएका कपिलदेवको अनुमान सही सावित भयो । ससुराको बयानकै आधारमा रामबाबुको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई घरमै सुतेको अवस्थामा सोमबार बिहान २ बजेतिर नियन्त्रणमा लिएको थियो ।

सेढवा हुँदै भंगाहा भएर ससुराली जानुपर्नेमा सुवर्णपुर, सानो बाघमोर्चा, ठूलो बाघमोर्चा देखि उत्तरतर्फ निपुलाई लगेकोले पनि रामबाबु शंकाको घेरामा छन् । घटनास्थलको प्रकृति हेर्दा सामूहिक प्रयासमा हत्या गरिएको अनुमान प्रहरीले लगाएको छ । घटनास्थल नजिकै वनभोज मनाएको जस्तो पनि देखिएको स्थानीयले बताएका छन् ।

तर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । सोमबार बिहानै घटनास्थल पुगेका डीएसपी गौतम थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । ‘शवको पहिचान भइसकेको छ, पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएका छौं,’ डिएसपी थापाले भने, ‘ हत्या कसले किन र कसरी गर्‍यो भन्नेबारे अनुसन्धानकै क्रममा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment