Comments Add Comment

बुद्ध एयरको कलकत्ता उडान असफल, डिसेम्बरबाट बन्द हुँदै

१८ कात्तिक, काठमाडौं । यात्रु अभावका कारण बुद्ध एयरले कलकत्ताको नियमित उडान बन्द गर्ने तयारी गरेको छ । नोभेम्बरसम्म निर्धारित सबै उडान गरिसकेर डिसेम्बरबाट उडान फिर्ता लिने तयारी गरिएको हो ।

१३ जेठ २०७६ मा निकै आशापूर्वक बुद्धले कलकत्ता उडान थालेको थियो । त्यसबेला बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्र बस्नेतले भनेका थिए, ‘यो हाम्रो महत्वपूर्ण गन्तब्य हो, यसमा सफल भयौं भने अन्य गन्तब्य बिस्तारको ढोका खुल्ने छ ।’ तर, ६ महिना पुग्दा नपुग्दै कलकत्ताले बुद्ध एयरलाई निराश बनाएको छ ।

‘डिसेम्बरबाट अब हामी कलकत्ता उडान निरन्तर गर्न नसक्ने अवस्थामा पुगेका छौं,’ कम्पनीका एक अधिकारीले भने, ‘जुन अपेक्षासहित सेवा थालेका थियौं, त्यस्तो रेस्पोन्स विजनेशमा भएन ।’

भारतमा बंगाली नागरिक बढीजसो विदेश घुमघाममा रमाउँछन् । त्यसकारण कलकत्ताबाट पर्याप्त भारतीय नागरिक नेपाल भ्रमणमा आउने आंकलन बुद्धको थियो । नेपालको वैदेशिक व्यापारको मूख्यद्धार नै कलकत्ता हो । बुद्धले व्यापारका लागि पुग्ने व्यापारीलाई पनि यस रुटमा लक्षित गरेको थियो । तर, अपेक्षा अनुसार पर्यटक आएनन् ।

बुद्धका ती अधिकारी भन्छन्, ‘पर्यटकलाई लक्षित गरी उडान शुरु भएको हो, तर अपेक्षा अनुसार पर्यटक बढेनन्, यो हामीले मात्र प्रयास गरेर हुने कुरा होइन ।’

वृहद रुपमा हुने प्रवर्द्धनबाट मात्र पर्यटक भित्राउन सकिने बुद्ध एयरको निष्कर्ष छ । कलकत्तामा कम्पनीले आफ्नै सक्रियतामा पर्यटन प्रवर्द्धन गरेको थियो । बुद्ध होलिडेमार्फत कम्पनीले प्रवर्द्धन गरे पनि यात्रु नभएकै कारण कम्पनीले उडान फिर्ता गर्न लागेको हो ।

कलकत्तामा बुद्ध एयरले दुइतर्फी भाडादर २४ हजार कायम गरेको थियो । यो भाडा पनि न्यूनतम मुनाफा राखेर प्रवर्द्धनात्मक रुपमा राखिएको कम्पनीले बताएको छ । एकतर्फी १२ हजार हाराहारी मूल्य कायम गरेको बुद्धको यो भाडा करीव डेढ घण्टा उडान समयका लागि हो ।

यस रुटमा बुद्धले एटीआर जहाज उडाएको छ । ठूलो क्षमताका जेट इन्जिन जहाजहरुले काठमाडौं–कलकत्ता १ घण्टामै पार गर्छन् । उता, कलकत्ताबाट थाइल्याण्ड जान तुलनात्मक रुपमा सस्तो छ । विदेशी एयरलाइन्सले औसत ८ हजार नेपाली रुपैयाँ एकतर्फी भाडामा थाइल्याण्डको बैंककबाट कलकत्ता उडान गर्छन् । जहाँ कि थाइल्याण्ड–कलकत्ता रुटको उडान समय करीव ३ घण्टा हाराहारी हो ।

कलकत्तालाई बुद्धले परीक्षणकै रुपमा लिएको थियो । उडानको प्रारम्भमै प्रवन्ध निर्देशक बस्नेतले भनेका थिए, ‘हाम्रो एटीआरबाट कलकत्ता उडान परीक्षणका रुपमा हुनेछ । यो क्षेत्रमा सफलता हात लागेको अवस्थामा भारतका अन्य गन्तब्यमा पनि उडान हुनेछ ।’

त्यसपछि चेन्नई, हैदरावाद, बैंग्लौरसहितका शहरमा उडान गर्ने योजना उनले सुनाएका थिए । आन्तरिकतर्फ सबैभन्दा सफल कम्पनीसमेत हो बुद्ध । यो आर्थिक रुपमा सवल मानिन्छ । तर, बुद्धको कलकत्ता उडानको असफलताले भने विदेश उडानको तयारी गरिरहेका अन्य वायुसेवा कम्पनीलाई चिन्तित बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment