Comments Add Comment

नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा शल्यक्रिया

१९ कात्तिक, काठमाडौं । नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको छ ।

काठमाडौंबाट सोमबार दाङ यात्रमा निस्किएका सुवेदीलाई थानकोट नपुग्दै हृदयघात भएको उनका ज्वाइँ मधु उप्रेतीले जानकारी दिए ।

दाङ जाने क्रममा थानकोट नपुग्दै सुवेदी गाडीभित्रै बेहोस भएका थिए । त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गरिएको उप्रेतीले बताए ।

उनका अनुसार, चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । उनको सोमबार दिउँसो नै सफल शल्यक्रिया गरिएको छ । अहिले उनलाई अति सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

परिवारका सदस्यका अनुसार सुवेदीमा यसअघि मुटुको समस्या देखिएको थिएन, बरू तीन महिनाअघि पत्थरीको अप्रेसन गरिएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डले मंगलबार बिहान नर्भिक अस्पताल पुगेर सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

विप्लव समूहमा आबद्ध छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई भेट्न उनी दाङ जाँदै थिए । प्रहरीले केही दिनअघि दाङमा चलाएको अप्रेसनका क्रममा सन्तोष पक्राउ परेका छन् ।

नेकपा नेता झक्कु सुवेदी रोल्पाका हुन् । जनयुद्धमा प्रत्यक्ष सहभागी सुवेदी संविधानसभाको पहिलो निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई परास्त गरेर चर्चामा आएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनी कांग्रेस नेता भीमसेनदास प्रधानसँग पराजित भएका थिए । उनी हाल नेकपाको केन्द्रीय सम्पर्क मञ्चका सह–संयोजक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment