Comments Add Comment

किन खराब मानिन्छ मदिराको लत ?

मदिरा पिउने अधिकांशलाई थाहा छ, ‘यसले मेरो स्वास्थ्यलाई खराब गर्छ ।’ आफ्नो स्वास्थ्य बिगार्ने थाहा हुँदाहुँदै पनि मान्छेले मुखमा बुझो लगाउन सक्दैन, जब मदिरा पिउन बस्छन् ।  किन ?

प्रायः मानिसले देखासेखीमा वा रमाइलोका लागि मदिरा चाख्छन् । पहिलो पटक मदिरा सेवन गर्दा यसको स्वाद बस्दैन । न त यो स्वादिलो नै लाग्छ । तर, पहिलो पटक बेस्वादको लाग्ने मदिरा फेरी पनि पिउन उक्सिन्छन् । यसरी क्रमस उनमा मदिरा पिउने बानी बस्छ । कालान्तरमा मदिरा उनीहरुको आवश्यकताको साधन बन्न पुग्छ । मदिराको लतको एउटा ठूलो कारण घरेलु वातावरण पनि हो । किनभने जब घरका कुनै ठूलो सदस्यले घरका अन्य सदस्य तथा बच्चाहरुको अघिल्तिर खुल्ला रुपमा मदिरा पिएका हुन्छन् तथा पिएर आउँछन् । त्यसपछि अनुभव अथवा देखासिखीका लागि श्रीमती, छोरा-छोरी तथा घरका अन्य सदस्यहरुलाई समेत मदिरा पिउने लत बस्न सक्छ ।

मदिरापानको लत बस्ने अर्को एउटा कारण खराब संगत पनि हो । यदि व्यक्ति मदिरापान गर्ने व्यक्तिहरुसँग धेरै समय बिताउन थाल्छ । उसलाई मदिराको लत बस्न सक्छ । यद्यपि, कतिपय व्यक्ति मदिरालाई आफ्नो सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्छन् ।

मदिराको लतको अर्को एउटा ठूलो कारण निराशा, असफलता तथा हतास मानसिकतालाई मानिएको छ । किनभने प्रायः मानिसहरु यिनै चिजहरुलाई बिर्सनका लागि मदिराको सहारा लिइरहेका हुन्छन् । जुन कालान्तरमा बर्बादीको कारण समेत बन्न सक्दछ ।

अध्ययन तथा करियर

किशोरहरु तथा युवाहरुमा नशाको लत दिनप्रति दिन बढ्दै गइरहेको छ । त्यसकारण मदिरा उनीहरुको अध्ययन तथा करियरका लागि बाधा बनिरहेको हुन्छ ।

सामाजिक तथा आर्थिक हानि

मदिरापान गर्ने व्यक्तिको समाजमा खासै इज्जत हुँदैन । मदिरापानको बानीका कारण परिवारमा सधैं आर्थिक अभाव भइरहन्छ । जसका कारण परिवारका सदस्यहरुबीच कुटाकुटको स्थिती सिर्जना हुनु सामान्य झैं हुन्छ । मदिराको आवश्यकतालाई पुरा गर्नका लागि व्यक्तिले आफ्नो स्थायी पूँजी समेत दाउमा लगाइदिन्छ । जसबाट छोरा-छोरीको पढाई तथा करियर समेत प्रभावित हुन्छ ।

स्वास्थ्यको दुस्मन

स्वास्थ्यका लागि मदिरा विष झैं हुन्छ । जसले व्यक्तिलाई बिस्तारै-बिस्तारै मृत्युसम्म पुर्‍याउँछ । एक जना मानसिक तथा नसा रोग विशेषज्ञका अनुसार मदिरामा पाइने अल्कोहलले शरीरका विभिन्न अंगहरुलाई नराम्रो प्रभाव पार्छ । जसका कारणले २ सयभन्दा बढी रोगहरु लाग्ने खतरा हुन्छ ।

अत्यधिक मदिरापान गर्नाले शरीरमा भिटामिन तथा अन्य आवश्यक तत्वहरुको कमी हुन्छ । मदिराको लगातारको प्रयोगले पित्तको संंक्रमण बढ्छ । जसबाट ब्रेस्ट तथा आन्द्राको क्यान्सर हुने सम्भावना समेत हुन्छ ।

मदिरामा पाइने इथाइल अल्कोहलले लिभर सिरोसिसको समस्यालाई जन्माउँछ । जुन निकै गाह्रोगरी निको हुने रोग हो । इथाइल अल्कोहलका कारणले पाचन प्रकृया समेत बिग्रन्छ । जसले लिभर बढ्छ र त्यस्तो अवस्थामा व्यक्तिले यदि मदिरापानलाई जारी राख्यो भने अल्कोहल हेपाटाइटिस नामको रोग लाग्न सक्छ ।

यौन जीवनमा प्रभाव

चिकित्सकहरुका अनुसार मदिरा यौन सुखका लागि घातक हुन्छ । मानिसहरु यौन सम्बन्धको अत्यधिक आनन्द उठाउनका लागि लामो समयसम्म आत्मविश्वासका साथ सहवास गर्नका लागि मदिरा पिउँछन् । तर, लगातार मदिरापान गर्नाले पुरुषको गोप्य अंग उत्तेजित नै हुन छाड्छ । जसको नतिजा नामर्दको रुपमा देखिनसक्छ । कामेच्छाको कमीका साथै महिलाहरुको महिनावारीसमेत यसले असर गर्छ ।

सडक दुर्घटनाको कारण

प्रायः सडक दुर्घटनाको सबैभन्दा ठूलो कारण नै मदिरापान गरेर गाडी चलाउनु हुन्छ । किनभने मदिरापान गरेपछि गाडी चलाउनाले ड्राइभरको दिमाग उसको नियन्त्रणमा हुँदैन र ड्राइभरले गाडीबाट नियन्त्रण गुमाउँछ । जसका कारण उ दुर्घटनामा पर्छ ।

अपराधलाई बढावा

मदिराको नशा विश्वभरीमा हुने अपराधहरुको सबैभन्दा ठूलो कारण मानिन्छ । प्रायः मदिरापान गर्ने व्यक्तिले नशामा आफ्नो होस-हवास गुमाउँछ र कुनै पनि अपराध गर्न अग्रसर हुन्छ ।

कसरी पाउने छुटकारा ?

मदिराको लतको शिकार भएका व्यक्तिहरु यसबाट हुने हानिका बारेमा जानकारी पाएर प्रायः मदिरापानलाई त्याग्ने कोसिस गर्छन् । यद्यपि, प्रभावकारी कदमको जानकारीको अभावमा उनीहरुले मदिरापानलाई त्याग्न सक्दैनन् । यहाँ दिइएका केही उपायहरु अपनाएर व्यक्तिले मदिरापानको नराम्रो लतबाट छुटकारा पाउन सक्छ :

-यदि तपाईंलाई मदिरापानको लत बसेको छ र यसबाट टाढा रहन चाहनुहुन्छ भने यसलाई छाड्नका लागि एउटा निश्चित मिति तय गर्नुपर्छ । उक्त मिति तपाईंको जन्मदिन, विवाहको वाषिर्कोत्सव आदि हुनसक्छ । मदिरापान त्याग्नुभन्दा अघि त्यसको जानकारी आफ्ना चिनजानका सबैलाई दिनु अनिवार्य हुन्छ ।

-यदि तपाईंका सन्तान मदिरापानको शिकार भएका छन् भने आमा-बुवाले उनीहरुको गतिविधिहरुमा ध्यान दिनुपर्छ र समयभन्दा अघि नै नशामुक्ति केन्द्रमा लैजानुपर्छ । यसका साथै मानसिक रोग विशेषज्ञसँग पनि सम्पर्क गर्नु पर्छ ।

-त्यस्ता स्थानहरुमा जानबाट बच्नु पर्छ, जहाँ मदिराका पसलहरु अथवा मदिरापान गर्नेहरुको संख्या बढी हुन्छ । किनभने तपाईं ती स्थानमा पुग्नुभयो भने तपाईंलाई पुनः मदिरापान गर्न मन लाग्छ ।

-कमजोरी, उदासी अथवा एक्लोपना महसुस भएको अवस्थामा नडराउनुहोस् । त्यस्तो बेलामा आफूले भरोसा गर्न लायक व्यक्तिसँग आफ्नो अनुभवहरु बाँड्नुपर्छ र कठिनाइहरुबाट उठ्ने प्रयास गर्नुपर्छ ।

-मदिरा त्याग्नुअघि तपाईंले के सोच्नु अनिवार्य छ भने मदिराका कारणले तपाईंले के-के गुमाउनुभयो र कस्तो प्रकारको क्षति व्यहोर्नुभयो ? यसले तपाईं मदिराबाट टाढा मात्र रहनु हुनेछैन, आफ्ना बिग्रेका सम्बन्धलाई पुनः ताजा समेत गर्न सक्नुहुनेछ ।

-मदिरापान त्यागेपछि उत्पन्न हुने परिस्थितीहरुलाई सामना गर्नका लागि कुनै राम्रो चिकित्सक अथवा मानसिक रोग विशेषज्ञको सल्लाह लिन नबिर्सनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment