Comments Add Comment

पोखरामा ठूला दलको निराशा नै साना दलको आशा !

एनजीओकर्मीदेखि लाहुरेसम्म चुनावी होडमा

१९ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्छ, ‘गएको निर्वाचनमा भन्दा ५ हजार बढी मतान्तरले जित्छौं ।’ गएको निर्वाचनमा नेकपाका रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवारलाई ८ हजार ५४२ मतान्तरले जितेका थिए । रवीन्द्रको दुर्घटनामा मृत्यु भएपछि उनकै पत्नी विद्या भट्टराईलाई उत्तराधिकारी घोषणा गर्दै चुनावी अभियान थालेको नेकपाले जीत सुरक्षित ठानेको छ ।

कांग्रेस भन्छ, ‘हामी आलोचित सरकारको फाइदा उठाउँदै निर्वाचनमा जीत हात पार्छौं ।’ यद्यपि अहिलेसम्म कांग्रेसले कास्की उम्मेदवारको टुंगो लगाउनै सकेको छैन

गएको निर्वाचनमा मुख्य प्रतिस्पर्धी नेकपा र कांग्रेस नै हुन् । यस पटक भने साना दलले पनि उम्मेदवार घोषणा गर्दै भनेका छन्, ‘यसपटकको चुनावमा जनताले राजनीतिको विकल्प खोज्ने छन् र देशभर कास्कीबाट नयाँ सन्देश दिने छौं ।’ ठूला दलप्रति जनतामा छाएको निराशा नै साना दलको जितको सबैभन्दा ठूला आशा देखिएको छ ।

गएको निर्वाचनको तथ्यांक उनीहरुको अनुकुल छैन, तर वैकल्पिक भनिएका साना दलहरुको आश छ, ‘राजनीतिमा सधैं विकल्प खुला हुन्छ । यसपटक वैकल्पिक शक्ति अगाडि आउँछ ।’

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउँदै घरदैलो गरिरहेको छ भने विवेकशील र समाजवादी पार्टीले मंगलबार उम्मेदवार घोषणा गरेको छ ।

समाजवादी पार्टीले पूर्व गोर्खा सैनिक धर्मराज गुरुङलाई उम्मेदवार घोषणा गर्दै एजेण्डासहित चुनावी मैदानमा उत्रिएको छ । गुरुङ इन्जिनियर हुन् । गत चुनावमा अलगअलग लडेका संघीय समाजवादी र नयाँ शक्ति मिलेर समाजवादी पार्टी बनेको हो । गएको निर्वाचनमा संघीय समाजवादीले ३ सय ४० र नयाँ शक्तिले २ सय ८३ मत पाएका थिए ।

सामान्य व्यक्तिले असामान्य राजनीति गर्न सक्ने उद्घोष गर्दै जमुना शर्मालाई मैदानमा उतारेको छ । समाजशास्त्रमा स्नातकोत्तर गरी मनोसामाजिक परामर्शको काम गर्दै जमुना द्वन्द्वपीडित परिवारकी सदस्य हुन् । द्वन्द्वका समयमा परीक्षा नियन्त्रक छँदा उनका ससुरा चन्द्रबहादुर आचार्यको हत्या भएको थियो । गैरसरकारी संस्थामा काम गरेको अनुभव र द्वन्द्वपीडितको मुद्दा उठाउँदै उनी निर्वाचनको मैदानमा उत्रिएकी छन् ।

विवेकशीलका लागि कास्कीको चुनाव नयाँ अनुभव हुनेछ । किनकी अघिल्लो चुनावमा विवेकशील साझा पार्टी मैदानमा थियो । अहिले विवेकशील र साझा अलग अलग पार्टी छन् ।

यो पनि पढ्नुहोस कास्की २ मा विवेकशीलको उम्मेदवार जमुना शर्मा

कांग्रेसको राजनीति गरिरहेकी रजनी केसीलाई भित्राउँदै साझाले चुनाव जित्ने हुँकार गरिरहेको छ । तर दुबै पार्टीलाई मत आर्जनको वातावारण सिर्जना गरेर जीत हाँसिल गर्नु चुनौतिको पहाड हो ।

कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार घोषणा गरेर चुनावी अभियान थालेको अर्को पार्टी राप्रपा हो । उसले पुराना नेता रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ ।

तर साना दलहरुलाई कास्की २ को चुनाव जित्छौं भन्न जति सजिलो छ, जनताको मत पाउन त्यति नै गाह्रो हुने देखिन्छ ।

तत्कालीन माओवादी र एमाले एक भएर बनेको नेकपाभित्र कास्कीमा विद्या भट्टराई उम्मेदवार भएकाले पनि त्यति ठूलो अन्तरविरोध छैन । कांग्रेसले अझैसम्म उम्मेदवारको टुंगो नै नलाएकाले कसलाई उम्मेदवार बनाउँछ र माहोल कता जान्छ यसै भन्न सकिने अवस्थामा छैन । तर, जसलाई उम्मेदवार बनाए पनि कांग्रेसको अन्तविरोधले साना पार्टीको पल्लाभारी हुने अवस्था नदेखिएको विश्लेषण हुन थालेकाधे छ ।

गएको निर्वाचनमा नेकपा माले, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी लगायत १३ पार्टी चुनावी प्रतिस्पर्धामा थिए ।

७० हजार ६ सय ५१ कुल मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा जम्मा ४९ हजार ९ सय १३ मत खसेको थियो । अहिले मतदाताको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment