Comments Add Comment

वायुप्रदूषण : नखाएको विषले मार्दैछ काठमाडौंवासीलाई

वायुप्रदूषणका गैरहिस्सेदार पीडितको बारेमा कसले बोल्ने ?

‘एउटा बिराउने, साखा पिराउने’ भनेजस्तै भएको छ काठमाडौंको वायुप्रदूषण । काठमाडौंको वायुलाई दूषित बनाउनेहरूको कारण अरु थुप्रै सर्वसारण दम, खोकी, मिर्गौला, क्यान्सरजस्ता रोगको शिकार बन्नु परिरहेको छ । यसरी अरूको कारणले आफ्नो शरीर नै रोगी र जीर्ण बनाइरहेका छन्, काठमडौंका सर्वसाधरण ।

संविधानले क्षतिपूर्तिको व्यवस्था गर्‍यो, सरकारले उल्टै कर लगाइदियो

काठमाडौंको रत्नपार्कमा वायुप्रदूषणले तोकिएको मापदण्डको तह पार गर्दैगर्दा त्यहाँ नाङ्लो पसलमा व्यवसाय गरिरहेकाहरू त्यसको पहिलो शिकार बन्छन् । सुकिलो बनेर आएका उनीहरू बेलुका घरजाँदा धूलो र धुवाँका कारण चिन्न गाह्रो हुनेगरी फर्किन्छन् । त्यस्तो अवस्थामा फर्किएका उनीहरूको कस्तो होला स्वास्थ्य ? वातावरण स्वास्थ्य विज्ञ डा‍. यादवप्रसाद जोशी काठमाडौंको रत्नपार्क, चाबहिल, कलंकीजस्ता सवारी चाप हुने ठाउँमा फुटपाथमा व्यवसाय गर्नेहरूलाई प्रदूषणले गम्भीर असर गर्ने बताउँछन् ।

यो शहरले प्रदूषण गर्न कुनै भूमिका नखेलेकालाई बढी सजाय दिँदै आएको छ । काठमाडौंमै बस्ने अझै पनि कैयौं जमात छ जो कुनै उद्योग कलकारखानासँग सम्बद्ध छ न त उनीहरूसँग कार्वन उत्सर्जन गर्ने कुनै सवारी साधन नै । केवल आफ्नै पौरखमा बाँचेकाहरू नै अरूका कारण रोगी बनिरहेका छन् ।

यो शहरले प्रदूषण गरेर हिँड्नेलाईभन्दा प्रदूषण नगर्नेलाई बढी सजाय दिँदै आएको छ । काठमाडौंमै बस्ने अझै पनि कैयौं जमात छ जो न त कुनै उद्योग कलकारखानासँग सम्बद्ध छ न त उनीहरूसँग कार्वन उत्सर्जन गर्ने कुनै सवारी साधन नै । केवल आफ्नै पौरखमा बाँचेकाहरू नै अरुका कारण रोगी बनिरहेका छन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । संविधानको धारा ३० ले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने समेत लेखेको छ । तर, विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको एक अध्ययन अनुसार नेपालमा हरेक वर्ष नौ हजार ९४३ जनाले वायुप्रदूषणका कारण ज्यान गुमाउने गरेका छन् । अरुको गल्तीका कारण ज्यान गुमाउने परिवार र गम्भीर बिरामीहरूलाई क्षतिपूर्ति दिने कसले ?

संगठनले विश्वभर गरेको अध्ययनले हरेक १० जना मध्ये ९ जना प्रदूषणबाट प्रभावित हुने गरेको प्रतिवेदन निकाल्यो । सोही वर्ष विश्व बैंकले पनि प्रदूषणलाई मूल्यमा ढालेर तथ्यांक निकालेको थियो । जस अनुसार नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वार्षिक २ खर्ब ८० अर्ब रुपैयाँको नोक्सानी प्रदूषणकै कारण हुने गरेको पाइयो । यसमा अधिकांश क्यान्सर जस्ता गम्भीर किसिमका रोगहरूको लागि खर्च गरिएको थियो ।

अर्थहीन प्रदूषण कर

मौलिक हकको रुपमा संविधानमा स्वच्छ वातावरणमा बाँच्न पाउने हकबारे लेख्नुभन्दा पहिले नै सरकारले वायुप्रदूषण नियन्त्रण गर्ने नाममा कर उठाउन सुरु गरेको थियो । प्रदूषणको शिकार भएकाहरूले क्षतिपूर्ति पाउने संवैधानिक व्यवस्था भएपनि उनीहरूलाई नै अप्रत्यक्ष रुपमा थप भार पर्ने गरी प्रदूषण कर उठाउने गरेको छ । आर्थिक वर्ष ०६५/६६ बाट प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको सरकारको खातामा ४ अर्बभन्दा धेरै पैसा जम्मा भइसक्यो । प्रदूषण शुल्क कोषको रकमसँगै काठमाडौंको वायुप्रदूषण पनि भयावह रुपमा बढिरहेको छ । यसमा सरकारी प्रयासले काम गर्न सकिरहेको छैन ।

वायुप्रदूषण : अमूर्त हत्यारा

सन् २०१६ मा प्रदूषण सम्बन्धी अध्ययन गरेपछि विश्व स्वास्थ्य संगठनले वायुप्रदूषणलाई ‘अनभिजिवल किलर’ अर्थात् अदृश्य हत्याराको उपमा दिएको छ । यो रोगले तत्कालको लागि नाक, घाटी र फोक्सोमा सामान्य असर परेपनि दीर्घकालमा ठूला ठूला रोगहरूको समेत शिकार बनाएर मानिसको औषत् उमेरभन्दा अघि नै ज्यान लिने गरेको संगठनको अध्ययनले देखाएको छ । तत्काल केही असर नदेखिए तापनि यो प्राणघातक हुने भएकोले यसलाई अदृश्य हत्यारा भन्ने नाम दिइएको हो ।

त्यस्तै, अघिल्लो वर्ष वातावरण तथा सामुदायिक स्वास्थ्य नामक एक जर्नलको २०१८ को अंकमा काठमाडौंमा वायुप्रदूषणको भयावह अवस्थाको चित्रण गरिएको थियो । त्यो प्रतिवेदनको पनि सारांस खण्डमा वायुप्रदूषणलाई अदृश्य हत्याराको रुपमा नै उल्लेख गरिएको छ ।

काठमाडौंको वायुप्रदूषणमा जिम्मेवार को ?

काठमाडौंको जनघनत्व १३ हजार २२५ प्रति वर्गकिलोमिटर छ । अर्थात् एक वर्गकिलोमिटरमा १३२५ जनासम्म बस्नुपर्ने छ । त्यसैमाथि यहाँको जनसंख्या बृद्धि पनि तीब्र मात्रामा बढीरहको छ । यो उपत्यकाको चारैतिर समुद्रीसतहदेखि २००० मिटरदेखि २८०० मिटरसम्मका अग्ला पहाडहरू छन् । जसका कारण हावा तातेर अन्यत्र जान मुस्किल हुने भएकोले प्रदूषित हावा उपत्यका भित्रै रुमलिइरहेको हुन्छ ।

अघिल्लो वर्ष वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा काठमाडौं उपत्यका लगायत देशभर प्रदूषण निम्त्याउने कारकहरूको उल्लेख गरिएको थियो । त्यसलाई आधार मान्दा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वायुप्रदूषण सवारी साधनको कारणले हुने गरेको छ । सवारीको मात्रै कूल प्रदूषित वायुमा ३७ प्रतिशतको योगदान छ । त्यसकै हाराहारीमा उद्योगधन्दा, इट्टाभट्टा आदिबाट निस्कने धुवाँको हिस्सा छ । यसबाहेक घरेलु प्रयोगमा आउने सामग्रीहरू र वनजंगलमा हुने आगलागीको हिस्सा निकै कम छ ।

केही अंश नेपालकै तराई भेगको प्रदूषण र पश्चिमी भूभागमा देखिएको प्रदूषणले पनि काठमाडौंमा असर गर्ने गर्छ । मौसम पूर्वानुमान महाशाखाका मौसम् विद समीर श्रेष्ठ हिउँद महिनामा पश्चिमी वायु काठमाडौं आउने भएकोले दिल्ली लगायत पश्चिमी भेगमा बढेको प्रदूषित हावा पनि काठमाडौंमा प्रवेश हुने बताउँछन् ।

वैज्ञानिक तथ्य अनुसार हाम्रो वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन हुन्छ । झण्डै २९ प्रतिशत अक्सिजन रहेको हुन्छ । यी दुई तत्वहरूबीच रासायनिक प्रतिक्रिया नभएसम्म यो हामीहरूको शरीरको लागि दुबै लाभदायक हुन्छन् । तर, यी दुई ग्यासबीचको प्रतिक्रियापछि बन्ने नाइट्रोजन अक्साइड नै हाम्रो शरीरको लागि घातक हुनेगर्छ । सवारी साधनबाट र उद्योगबाट निस्कने ग्यासमा यसैको मात्रा धेरै हुन्छ । यिनै ग्यासहरूलाई हामीले विभिन्न नाम दिएर चिन्ने गर्छाैं ।

यो प्रदूषणलाई मापनमा हामी पार्टिकुलेट म्याटर ‘पिएम’को प्रयोग गर्ने गर्छाैं । यसको पनि ३ वटा चरण हुन्छ । निर्माण स्थलबाट उत्पन्न हुने प्रदूषण, भत्किएको सडकबाट उत्पन्न हुने धुवाँधुलोमा १० माइक्रोमिटरभन्दा साना परमाणुहरू पाइन्छ । जसको असर स्वरुप रिस एवं जलन उत्पन्न हुने, नाकमा समस्या सिर्जना हुने, श्वासनलीमा संक्रमण हुने समस्या देखिन्छ । नाककान घाँटी रोग विशेषज्ञ डा. अनुप ढुंगाना यसले नाकको घ्राण शक्ति नष्ट गर्ने, रुघाखोकीपछि पिनासको सम्भावना समेत हुने बताउँछन् । घाँटीमा विभिन्न संक्रमण हुने र फोक्सोसम्म पनि यसले असर गर्ने भएकोले प्रदूषणबाट जतिसकिन्छ बचेर हिँड्न उनी सुझाव दिन्छन् ।

अर्काेतर्फ, परमाणु २.५ माइक्रोमिटरभन्दा कम भएको खण्डमा फोक्सो सम्बन्धी गम्भीर रोग लाग्ने, निराशा बढ्ने, एल्भोलरको भित्तामा क्षति पुग्ने हुन्छ । जसको कारण फोक्सोले लामो समयसम्म काम गर्न सक्दैन । विश्व स्वास्थ्य संगठन (सन् २०१६) को अध्ययन प्रतिवेदनले हरेक वर्ष वायुप्रदूषणको असरले ३४ प्रतिशत मुटुको रोगबाट, ३२ प्रतिशत मस्तिष्कघातबाट, १८ प्रतिशत क्रनिक ओब्स्त्रक्तिभ पल्मोनरी डिजिजबाट, ९ प्रतिशत फोक्सो क्यान्सरबाट र ७ प्रतिशत अन्य रोगका कारण मृत्यु हुने गरेको देखाएको छ । घर बाहिर हुने वायुप्रदूषणबाट मात्रै वार्षिक ४० लाखभन्दा धेरैको मृत्यु हुने गरेको छ ।

प्रदूषण रोक्न अदालत र जनप्रतिनिधिको असफल चासो

वातावरणीय विकास तथा संरक्षण कानून मञ्चका संस्थापक अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले २०७३ माघ १० गते ‘सडक निर्माण र मर्मत, मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउँदा निस्केको धुलो, व्यवस्थापन नहुँदा वातावरण निकै प्रदूषित बन्दै गएको र त्यसबाट मानव स्वास्थ्यमा गम्भीर असर परेको दाबीसहित नियन्त्रण गर्न माग’ गर्दै रिट दायर गरे ।

सो मुद्दामा सर्वाेच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशी र हालका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको संयुक्त इजलासमा बहस भएको थियो । सो इजलासले काठमाडौं उपत्यकाबाट प्रदूषित वायु बाहिर जान नसकी वायुमण्डल नै प्रदूषित भएको ठहर गर्दै न्यूनीकरणका लागि १३ वटा उपाय अबलम्बन गर्न सरकारको नाममा आदेश जारी गरेको थियो । तर, त्यो आदेश आदेशमा मात्रै सीमित रह्यो । प्रदूषणको मात्रा बढिरह्यो ।

त्यस्तै, अघिल्लो वर्ष कात्तिकमा काठमाडौं र ललितपुर महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाका जनप्रतिनिधिहरूले ललितपुरको एक तारे होटलमा बैठक गरी वायुप्रदूषणलाई नियन्त्रण गर्ने बारे ९ बुँदे समझदारी गरे । उनीहरूले यो समझदारी गरेपछिको वर्ष नै गत जेठ ५ गते काठमाडौं उपत्यकामा प्रदूषणको स्तर सम्भवतः एक दशककै बढी भयो । त्यो तारे होटलको बैठकले बरु दीर्घकालीन सोच र तत्काल प्रदूषणबाट बढी शिकार भएका सर्वसाधारणलाई यो अमूर्त हत्याराबाट बचाउने उपाय अपनाएनन् । त्यसले पनि प्रदूषण रोक्न कुनै अपेक्षित प्रगति भएन । बरु यही वर्ष नै तीन वर्षदेखिको सबैभन्दा प्रदूषित हावा काठमाडौंबासीले लिए ।

सन् २०१९ को जनवरी एकदेखि आजसम्मको झण्डै ११ महिनामा काठमाडौंको महाराजगञ्ज क्षेत्रको वायुप्रदूषणको मापनलाई विश्लेषण गर्दा त्यहाँको हावा अधिकांश समय स्वास्थ्यको लागि हानिकारक रहेको पाइएको छ । आफ्नो कार्यालय अघिको वायुलाई नेपाल स्थित अमेरिकी दूतावासले गरेको गुणस्तर परीक्षणमा यस्तो देखिएको हो । सो रिपोर्टलाई आधार मान्दा २०१९ को मे महिनाको २० तारिक, २४ तारिक र अक्टोबर ११ तारिकको दिन सो क्षेत्रको वातावरण हानिकारक तहको पनि उच्च स्थानमा पुगेको थियो । पिएम २.५ को हावा सबैभन्दा धेरै २० तारिकमा ३९५ माईक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । अर्काे दिन २७६ माईक्रोग्राम प्रतिघनमिटर र अक्टोबर ११ को दिन २५९ माईक्रोग्राम प्रतिघनमिटर पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment