Comments Add Comment

निगमले जहाज तान्ने उपकरण किन्ने

२० कात्तिक, काठमाडौं । नेपाल वायू सेवा निगमले बिग्रिएका जहाज तान्ने उपकरण (रोडा) खरिद गर्ने भएको छ । फेब्रुअरी २०२० सम्म नेपाल आइसक्ने गरी खरीद प्रक्रिया अगाडि बढाइएको निगमले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थलमा पछिल्लो ५ वर्षभित्र तीन ठूला जहाज धावनमार्गमा चिप्लिए । २० फागुन २०७१ मा टर्कीस एयर, ७ वैशाख २०७५ मा मालिन्दो एयर र २७ असार २०७६ मा यति एयरको जहाज धावनमार्गबाट अगाडि कान्लातर्फ लागेका थिए ।

यी दूर्घटनामा मानवीय क्षति नभए पनि लामो समय विमानस्थल अवरुद्ध भयो । टर्कीसका कारण ४ दिन ठप्प रहेको विमानस्थल मालिन्दो र यति दूर्घटनामा समेत लामो समय अवरुद्ध हुन पुगेको थियो । यसको मूख्य कारण धावनमार्गमा जहाज अडि्कएपछि हटाउने उपकरणको अभाव हो । यो अभाव पूरा गर्न अब रोडा खरिद गर्न लागिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए ।

‘अब नेपालमा धावनमार्गमा जहाज बिग्रिएर वा दूर्घटना भएर लामो समय अडि्कनु पर्ने छैन,’ उनले भने ।

त्रिभुवन विमानस्थलको ग्राउण्ड हृयाण्डिलिङ सेवा निगमले जिम्मा लिएको छ । सोही कारण निगमले धावनमार्गमा हुन सक्ने सम्भावित अवरोधलाई हटाउने गरी उपकरण खरिद गर्न लागेको हो । ‘यसले नेपालको विमानस्थल सुरक्षित छ भन्ने सन्देश विश्वभर जानेछ,’ कार्यकारी अध्यक्ष खरेलले भने, ‘यो मुलुककै लागि सकारात्मक विषय हो ।’

निगमले ग्राउण्ड हृयाण्डिलिङ सेवालाई चुस्त बनाउन निकट भविश्यमा ४ वटा र्‍याम्प बस भित्राउने भएको छ । यी बस टर्मिनलदेखि जहाजसम्म पुग्ने यात्रु ओसार्न प्रयोग हुनेछ । यी बस आगामी एक महिना भित्रै नेपाल भित्रिसक्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment