Comments Add Comment

कास्की २ को उपचुनाव : उम्मेदवारी दर्तामा यस्तो देखियो

२१ कात्तिक, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि दलहरुले बाजागाजासहित उम्मेदवारी दर्ता गरिरहेका थिए । जिल्ला निर्वाचन कार्यालय, कास्कीमा बिहीबार २५ जनाले उम्मेदवारी दिए ।

उम्मेदवारी दिन गएका कोही उम्मेदवार रक्सीले टिल्ल थिए भने कोहीले अंग्रेजीमै भाषण ठोकिरहेका थिए । जनकपुरबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिन आएका एक जना भने प्रस्तावक र समर्थक समेत पाएनन् ।

जनकपुर १४ देखि आएको बताउने डा. कृष्णचन्द्र प्रसाद साह प्रस्तावक र समर्थक खोज्दै निर्वाचन कार्यालय वरिपरि भौतारिए । प्रस्तावक र समर्थक स्थानीय नै हुनुपर्ने कानुनी प्रावधान छ । दुवै नपाएपछि उम्मेदवारी नदिने भन्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई जीतको शुभकामनासहित बिदा भए ।

उम्मेदवारी दिनका लागि बिहीबार एक बजेसम्मको समय तोकिएको थियो । समय सकिन केही मिनेट बाँकी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तिम उम्मेदवारी दियो । दुबोमालासहित उम्मेदवारी दर्ता गर्न आएका रोमबहादुर भण्डारी जीत पक्कापक्की भएर दूबो माला लगाएको प्रतिक्रिया दिए । उनले भने, ‘हेर्नुस्, म ७० वर्षको भएपनि जित्ने खुसीले अहिले ५४ को युवा भएँ ।’

बिहीबार उम्मेदवारी दर्ताका लागि आएका २५ नाममध्ये २२ जनाले मात्रै स्थान सुरक्षित गरे । ३ जना भने समानुपातिकको बन्द सूचिमा रहेकाले रद्द प्रक्रियामा गएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य चुनावका लागि २६ वर्षदेखि ७४ वर्षसम्मकाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने सबैभन्दा बढी उमेरका कांग्रेसका खेमराज पौडेल हुन् । ६ दशकको राजनीतिपछि पहिलो पटक टिकट पाएका उनले कांग्रेसले जसरी पनि जित्ने दाबी गर्दै थिए । ‘अब जनता लहैलहैमा नझुक्किने र जनताले सरकारको गतिविधि हेरेर कांग्रेसलाई भोट दिन्छन्,’ उनले भने ।

सबैभन्दा कम उमेरका सुनिल भुसाल छन् ।

कपिलवस्तु नगरपालिका ९ इमिलायाबाट उम्मेदवारी दिन पोखरा आइपुगेका उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । बिहीबार उनीसँगै ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले विद्या भट्टराईलाई उम्मेवार बनाएको छ । उनी दिवंगत पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । हेलिकप्टर दुर्घटनामा अधिकारीको मृत्यु भएपछि हुन लागेको उपचुनावमा उठेकी भट्टराईले आफू शोकलाई शक्तिमा बदल्न चुनावमा होमिएको प्रतिक्रिया दिएका छिन् ।

प्रतिनिधि सभा सदस्यका लागि १७ जना पुरुष छन् भने ५ जना महिला चुनावी मैदानमा होमिएका छन् ।

विवेकशील नेपाली दलबाट उम्मेदवारी दिएकी जमुना शर्मासमेत स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएकी छिन् । उनको पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण उनले स्वतन्त्र बाटो चुनेकी हुन् ।

चुनावमा कास्कीबाटै १६ जनाले उम्मेदवारी दिएका छन् । सुर्खेत, तनहुँ, स्याङ्जा, पर्वतलगायतकाले पनि उम्मेदवारी दिएका छन् ।

गएको चुनावमा तत्कालीन एमालेबाट दिवंगत पूर्वमन्त्री रवीन्द्र अधिकारीले २७ हजार भोटसहित जीत हासिल गरेका थिए । दोस्रो स्थानमा रहेको कांग्रेसका देवराज चालिसेले १८ हजार मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको विवेकशील साझाका श्रीकृष्ण श्रेष्ठले ८ सय भोट ल्याएका थिए । तर हाल विवेकशील र साझा अलग छन् । साझा पार्टीले रजनी केसीलाई प्रत्याशी उठाएको छ ।

उपचुनावका लागि शुक्रबार ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दिने समय निर्धारण गरेको छ । २३ गते उजुरीउपर जाँझबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने बताएको छ । उम्मेदवारी फिर्ताका लागि २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment