+
+
Shares

दाङमा १४ उम्मेदवार, राजपा र राजमोको उम्मेदवारी परेन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १९:२२

२१ कात्तिक, घोराही । प्रदेशसभा अन्तर्गत दाङ क्षेत्र नं. ३ ‘ख’मा हुन लागेको उपनिर्वाचनका लागि १४ जनाको उम्मेदवारी परेको छ । १२ उम्मेदवार राजनीतिक दलका छन् । स्वतन्त्र उम्मेदवार दुई जना छन् । राजपा र राजमोले भने उम्मेदवारी दर्ता गराएनन् ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेकपाबाट विमला कुमारी खत्री (वली) र नेपाली कांग्रेसबाट केशव शर्मा आचार्यको उम्मेदवारी परेको छ ।

वलीको प्रस्तावक शोभाराम बस्नेत र समर्थक मेघनाथ शाह छन् । यस्तै आचार्यको प्रस्तावक कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थक क्षेत्रीय सभापति जगतबहादुर डाँगी छन् ।

विमला प्रदेशसभाका दिवंगत सांसद उत्तर कुमार खत्रीकी जीवन संगिनी हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित खत्रीको सडक दुर्घटनामा निधन भएपछि रिक्त भएको दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेकपाले उनकै पत्नी विमलालाई उम्मेदवार बनाएको हो ।

उम्मेदवारी दर्ताका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसभामुख ओनसरी घर्ती, राष्ट्रियसभा सदस्य कोमल वली लगायत झाँकीसहित निर्वाचन कार्यालयमा पुगेका थिए ।

दलबलसहित उमेदवारी दर्ता गराएका अर्का उमेदवार आचार्य नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी दाङका पुराना कांग्रेस नेता हुन् । आचार्यले उम्मेदवारी दर्ता गर्नुअघि बीपीको शालिकमा माल्यार्पण गरेका थिए ।

१४ मंसिरमा हुन लागेको उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा पनि नेकपाकी वली र कांग्रेसका आचार्यबीच नै हुने अनुमान गरिएको छ ।

अरु उम्मेदवार को को ?

यद्यपि समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, साझा पार्टीका शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज बिक, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राप्रपा (संयुक्त)का छोटीलाल थारु, नेकपा (माले)का हरिप्रसाद डाँगीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी उम्मेदवारी दर्ता गराएका अन्यमा राप्रपाका भुपाल रावत, मंगोल नेशनल पार्टीका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र खत्री र नेपाली कांग्रेस (बीपी)का दीपक धिताल पनि छन् ।

त्यस्तै स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

उपनिर्वाचनका लागि राजपा र राष्ट्रिय जनमोर्चा (राजमो)ले भने उम्मेदवारी दर्ता गराएनन् । राजपाका स्थानीय नेताहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ताको फारम लगेका थिए । तर, निर्धारित समयभित्र कोही पनि उम्मेदवारी दर्ता गराउन आएन ।

शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार राजमोले भने नेकपा उम्मेदवारलाई सघाएकाले दाङमा उम्मेदवारी दर्ता नगरेको हो ।

श्रीमानको सपना साकार पार्छु : विमला

नेकपा उम्मेदवार विमलाले दिवंगत श्रीमानको सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताइन् ।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो श्रीमानको सपना पश्चिम दाङलाई समृद्ध बनाउने भएको भन्दै अब त्यो सपना पूरा गर्ने जिम्मेवारी आफ्नो भएको बताइन् ।

‘श्रीमानले देखेका सपना पूरा गर्ने जिम्मा पार्टीले मलाई दिएको छ,’ उनले भनिन्, ‘म ती सपना साकार पार्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?