Comments Add Comment

स्वास्थ्यकर्मीको महाधिवेशनमा उठ्नु पर्ने एजेण्डा

नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । अझैपनि स्वास्थ्यकर्मी संघ भन्नेवितिकै नितान्त सरकारी क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको संगठन भनेर हल्का रुपमा लिइन्छ । निजी वा गैरसरकारी क्षेत्रमा काम गर्ने ठूलो संख्यालाई ट्रेड युनियनको प्रसङगसंग जोडेर अगाडि बढ्न संघ अहिलेसम्म सफल हुन सकिरहेको छैन ।

संघको पहिला भएका र अहिले हुन लागिरहेको महाधिवेशन अलिक फरक हुनुपर्छ । संघले अब आधाभन्दा बढी संख्यामा रहेका निजी स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यसँग सम्वन्धित कर्मचारीहरुलाई समेटेर लैजाने बाटो तय गर्नुपर्छ । त्यो प्रयासको थालनी पनि केही मात्रामा सुरुवात समेत भएको छ । सरकारी, निजी गैरसरकारी र स्वास्थ्य स्वंयमसेविकाहरुलाई समेटेर लैजाने प्रयासलाई सार्थकता दिने थलो महाधिवेशन बन्नुपर्छ ।

अर्कोतर्फ झट्ट हेर्दा यसले राम्रो र तलैबाट स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वंयमसेविकाहरुको मुद्दालाई पर्याप्त मात्रामा उठान गर्न सकिरहेको छैन । यदि हामीले निजी तथा गैरसरकारी क्षेत्र र अनौपचारिक क्षेत्रमा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीको मुद्दालाई उठान गर्न पनि सबैलाई संघमा समेट्नुपर्छ । सरोकारवाला निकायलाई आफ्ना माग र मुद्दा उठाएर बलियो रुपमा घच्घच्याउन र झकझकाइरहन निजी क्षेत्रमा समेत काम गर्ने साथीहरुको साथ हुने भयो भने पक्कै पनि सहज हुनेछ ।

यो महाधिवेशन विगतमा जस्तै पात्र बदलिने र प्रकृति उस्तै रहने भयो भने संघको त्यति अर्थ रहन्छ भन्ने मलाई लाग्दैन । कसैलाई रहर लागेको भरमा संघ संगठनको नेतृत्वमा पुग्ने र कुनै पनि एजेण्डा तय नगरी नेतृत्व मात्र गर्न खोज्ने अवस्था अहिलेसम्म हुदै आएको छ । यस्तो भएमा पात्र परिवर्तन हुन्छ नेतृत्वमा तर, संगठनले गति लिन सक्दैन । पात्र परिवर्तन भएपनि संगठनको अवस्था उस्तै रहन्छ । त्यसैले अव नेतृत्वले पात्र परिवर्तन हुन्छ कि हुदैन भन्ने भन्दा पनि प्रवृति पहिलाको भन्दा समय अनुसार परिवर्तन हुन्छ कि हुँदैन भन्नेमा महाधिवेशनमा आएका प्रतिनिधिहरुले विशेष ध्यान दिनु आवश्यक छ ।

मेडिकल कलेजहरुले लुटे भन्दै दिनहुा सडक संघर्षमा उत्रिने विद्यार्थीहरुका एजेण्डालाई यो महाधिवेशनले छुन्छ कि छुादैन ? अहिले ख्याल गर्नुपर्ने जल्दोबल्दो एजेण्डा यही हो ।

स्वास्थ्यकर्मी पेसा उपयुक्त छ भनेर अध्ययनरत हजारौँ विधार्थीहरुको उज्वल भविष्यको सपनालाई यस महाधिवेशनले छुन्छ कि छुँदैन, त्यो पनि ख्याल गर्नु अहिलेको आवश्यकता हो

नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा एजेण्डा बोकेको र आफूहरुका पक्षमा आवाज उठाउन सक्नेलाई नेतृत्वमा पुर्‍याउने प्रयास साथीहरुले गर्नुपर्छ । एजेण्डाको आधारमा मतदाताले नेतृत्व चयन लोकतान्त्रिक विधिबाट गरेमात्र संगठन गतिशील बन्न सक्छ । र, एजेण्डा दिएर स्वास्थ्यकर्मी मतदाताबाट चयन भएको नेतृत्वले ट्रेड युनियनले उठाउनुपर्ने खास मुद्दालाई अंगालेर संगठन विस्तारमा जोड लगाउनु पर्छ । अहिले औपचारिक, अनौपचारिक, निजी र सरकारी क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीका मुद्दालाई उठाएर उनीहरुले झेल्दै आएका समस्या समाधान गर्ने बाटोमा नयाँ नेतृत्वलाई घच्घच्याउने बेला हो ।

अहिले स्वास्थ्यकर्मीहरु न्युनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षा तथा जोखिममा काम गरेबापत जोखिम भत्ता पाइरहेका छैनन् । नगन्य सरकारी संस्थामा काम गर्नेबाहेक सबैको अवस्था दयनीय छ । यस्तो अवस्थालाई सरोकारवाला निकायसँग जोडदार रुपमा उठान गर्ने र स्वास्थ्यकर्मीको हितमा काम गर्ने नेतृत्व महाधिवेशनले चयन गर्न सक्नु पर्छ । त्योसँगै संगठनको काम कर्तव्य र अधिकारको कुरा महाधिवेशनमा उठ्नु पर्छ ।

सबैभन्दा पहिला यस महाधिवेशनले तराईमा काम गरेको होस् या हिमाल पहाडको ग्रामिण भेगमा बसेर काम गरेको किसानदेखि मजदुरसम्मलाई स्वास्थ्यसेवाले छुन्छ कि छुँदैन भनेर खोजीनीति गर्नुपर्छ । स्वास्थ्यकर्मी पेसा उपयुक्त छ भनेर अध्ययनरत हजारौँ विधार्थीहरुको उज्वल भविष्यको सपनालाई यस महाधिवेशनले छुन्छ कि छुँदैन, त्यो पनि ख्याल गर्नु अहिलेको आवश्यकता हो । सुन्दर सपना बोकेर खाडी मुलुकमा पुगेर काम गर्ने स्वास्थ्यकर्मी वा चिकित्सक बनेपछि ठूलो सपना बोक्ने र युरोप अमेरिकालगायत विकसित मुलुकमा पलायन हुने यस्ता विद्यार्थीको मनोभावनालाई यस महाधिवेशनले छुन्छ कि छुँदैन ? विद्यार्थीका ति सपनालाई आफ्नो अध्ययन पश्चात् यहीँ नेपालको सहरदेखि ग्रमिण भेगसम्म काम गर्दा पनि भविष्य उज्ज्वल छ भन्ने कुराको अनुभूति गराउन अबको नेतृत्वले सक्नु पर्दछ ।

नेपालको स्वास्थ्य क्षेत्रमा हालसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषदले ३३ विधाको स्वास्थ्य व्यवसायी, छुट्टै नर्सिङ फार्मेसी र आयुर्वेद गरी झन्डै ३६ बढी विधाको स्वास्थ्यकर्मीहरुलाई मान्यता दिने गरेको छ । अव ती सम्पूर्ण स्वस्थ्यकर्मीहरुको माग र उत्पादनबारे मन्त्रालयको नीति तथा योजनाको प्राथमिकतामा पर्नु पर्दछ ।

अबको नेतृत्वले यी र यस्ता विषयहरुलाई गम्भिर रुपमा उठान गरेर नेपालको स्वास्थ्य क्षेत्रमा बेरोजगार समस्याबारे गम्भिर हुन जरुरी छ । नकी शैक्षिक क्षेत्रको उत्पादनमा मात्र ध्यान दिने अनि अरु नयाँ अर्गानोग्राममा ख्याल नगरी बस्ने हो भने निकट भविष्यमा ठूलो चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यस्ता विषयहरु समयमै ख्याल गर्ने हो भने स्वास्थ्य क्षेत्रको बेरोजगार समस्या पनि समाधान गर्न मद्दत पुग्ने देखिन्छ ।

(लेखक नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment