Comments Add Comment

रेसुङ्गामा हरिबोधनी एकादशी मेला, पूजा गर्नेको घुइँचो

२२ कात्तिक, गुल्मी । हरिबोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिकस्थल रेसुङ्गामा बिशेष मेला एवम् पूजा गर्नेहरुको भीड लागेको छ ।

हरिबोधनी एकादशीको दिन धार्मिकस्थल रेसुङ्गामा ठूलो मेला लाग्नुका साथै स्नान र पूजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता छ । त्यसैले पोखरीमा नुहाउन गुल्मीलगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन् ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल रेसुङ्गामा विहानैदेखि गुल्मीलगायत बिभिन्न स्थानबाट श्रद्धालुहरु भक्तजन पूजा गर्नुका साथै मेल अवलोकनका लागि रेसुङ्गा जाने गर्दछन् ।

सदरमुकाम तम्घासदेखि अग्लो शीरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिशेष मेलामा लागेको छ । रुरु-रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समाबेश गरेको छ ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका बस्तु र स्थानहरुको संरक्षण, सम्बर्द्धन र प्रचार-प्रसारको काम भइरहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताए ।

हरिबोधनी एकादशीको अवसरमा रेसुङ्गामा समितिले भैलो र भजनकृतको कार्यक्रम राखेको अध्यक्ष भुसालले बताए । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वन क्षेत्रभित्र पर्दछन् ।

यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्यावलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।

यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । यस मन्दिरमा दैनिक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ । केही वर्ष पहिलेबाट तपोभूमि रेसुङ्गामा सवारीसाधन जान थालेका हुन । रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्बजनिक बिदासमेत दिएका छन् ।

यता गुल्मीको अर्को पवित्र धार्मिक स्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि नदीमा स्नान तथा पूजापाठ गर्ने श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ । हरीबोधनी एकादशी अबसरमा गुल्मी पाल्पा स्याङ्गजाको संगम स्थल रिडीमा ऋशीकेश उत्सवको पहिलो दिनको अवसरमा रिडीमा धार्मिक मेला आजबाट सुरु भएको छ ।

सोही अवसरमा हजारौंको संख्यामा तीर्थ यात्रीहरु कालीगण्डकीमा स्नान गर्न तथा ऋशीकेश भगवानको दर्शन गर्न रिडी आउने गर्दछन् । ऋशीकेश उत्सवको पहिलो दिनको अवसरमा रिडी बजारबाट पञ्चेबाजासहित फूलपाती, फलफूल तथा रोटीहरुको बिभिन परिकारसहित ऋशीकेश मन्दिर लगिएको थियो ।

द्वादशीको दिन ऋशीकेश भगवानको प्रतिमालाई रथमा राखी भब्य रुपमा रिडी बजारमा परीक्रमा गराइदैँ छ । त्यसको अवसरमा एकादशी र द्धादशीको दिन रिडीमा मेला लाग्ने गर्दछ । रथारोहरण कार्यक्रममा सहभागी हुन हजारौंको संख्यामा तीर्थालुहरु रिडी आउने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment