Comments Add Comment

अनमोलमाथि क-कसको आँखा ?

अहिलेका चर्चित नायक हुन्, अनमोल केसी । अनमोलको चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेर्ने गरिन्छ । अनमोललाई लिए चलचित्र सफल हुने कुरामा निर्माता ढुक्क हुन्छन् । त्यसैले होला, प्रायः निर्मातालाई अनमोल लिएर चलचित्र निर्माण गर्ने मन हुन्छ ।

हालै मिडियामा अनमोलले साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको चलचित्र ‘धुपौरे’बाट हात झिकेको समाचार निकै आयो । निर्माणपक्षले यस समाचारलाई स्वीकारेको छैन् । तर, अनमोल निकट स्रोतले अनमोलले चलचित्र नगर्ने पक्का पक्की गरिसकेको जनाएको छ ।

अनमोलले ‘धुपौरे’मा काम नगर्ने समचार आएपछि केही निर्माता निर्देशक अनमोलको पछि परेका छन् । अनमोललाई आफ्नो चलचित्रमा लिने होडबाजीमा निर्माताहरु छन् ।

सफल निर्माता माधव वाग्ले चलचित्र निर्देशनमा आउँदैछन् । उनको निर्देशनमा चलचित्र ‘पारस’ बन्दैछ । माधवले पनि पारसको लागि अनमोललाई आँखा लगाइरहेका छन् । वाग्लेले अनमोलसम्म चलचित्रको स्क्रिप्ट पनि पुर्‍याइसकेका छन् ।

 

त्यस्तै, निर्देशक हेमराज विसी पनि अनमोललाई आफ्नो चलचित्रमा काम गराउन चाहन्छन् । अनमोलले हेमराजण्कै निर्देशनमा तयार भएको चलचित्र ‘होस्टेल’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए । हेमराज र अनमोलको सहकार्यमा ‘जेरी, गाजलु’ चलचित्र तयार भएका छन् । जुन निकै सफल पनि भए । हेमराज पुनः आफ्नो नयाँ चलचित्रमा अनमोलसँग काम गर्न चाहान्छन् ।

केही दिन अगाडिमात्र निर्माता रोहित अधिकारीले आफू नयाँ चलचित्र निर्माण गर्न लागेको घोषणा गरे । जसको निर्देशन दिनेश राउतले गर्दैछन् । निर्माता रोहित पनि यस प्रोजेक्टमा अनमोललाई लिएर काम गर्न चाहन्छन् । स्रोतका अनुसार अनमोललाई लिएर काम गर्ने सर्तमा नै रोहित र दिनेशको टिमअप भएको हो । अनमोल र रोहितले चलचित्र गाजलुमा सहकार्य गरेका थिए ।

त्यस्तै, जात्राका निर्देशक प्रदीप भट्टराई र अनमोलबीच टिमअप हुने समाचार पनि मिडियामा धेरै आइरहेको थियो । तर, यो टिमअप भने अहिले सम्भव भएन । निर्देशक भट्टराई मह सञ्चारको चलचित्र निर्देशन गर्ने तयारी गरिरहेका छन् ।

यी केही प्रतिनिधि चलचित्रकर्मी हुन् । जसले अनमोलसँग सहकार्यको चाहना राखिरहेका छन् । अनमोलसँग काम गर्न चाहनेको संख्या लामै छ । तर, अनमोल अहिले होम प्रोडक्सनको चलचित्र ‘एन्टि हिरो’मा फोकस छन् ।

यस चलचित्र आगामी दशैंमा रिलिज हुनेछ । नयाँ वर्षको अवसरमा पनि अनमोलको चलचित्र रिलिज हुने बुझिएको छ । तर, अनमोलले कसको चलचित्र गर्छन् त्यो भने धेरैको चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment