Comments Add Comment

सरकारी मोटरसाइकलमा लागूऔषध तस्करी, समातिए कारोबारी

२२ कात्तिक, विराटनगर । प्रहरीले सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध तस्करी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज २ का राजदेव टोलका २६ वर्षीय कपिल यादव छन् ।

सरकारी सेतो नम्बर प्लेटको स १ ब १४१० नम्बरको मोटरसाइकलमा भारतीय बजार जोगवनीबाट लागूऔषध लिएर आउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यादवका बुबा सत्यनारायण वन डिभिजन कार्यालय उदयपुरका अधिकृत हुन् । बुबाले प्रयोग गर्दै आएको मोटसराइकल लिएर जोगवनी आएका यादवले कम्मरमा बाधेर डाइजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेका यादव लागूऔषध प्रयोगकर्ता र बिक्रेता पनि हुन् । ‘लागूऔषधि प्रयोग र बिक्री गर्ने उदेश्यले लिएर आएको देखियो ।’ श्रेष्ठले भने, ‘बिक्रीबाट हुने नाफा आफूले प्रयोग गर्ने रहेछन् ।’
सरकारी नम्बर प्लेटको मोटरसाइकलमा शंका नहुने भएकाले सप्तरीबाट विराटनगर हुँदै जोगवनी पुगेका थिए । तर विशेष सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

मोरङ प्रहरीले मोरङको सिमावर्ती क्षेत्र रानीमा लागूऔषधविरुद्धको अभियान (क्यान) सञ्चालन गरिरहेको छ । भारतीय बजार जोगवनीमा लागूऔषध सेवनका लागि पुग्ने प्रयोगकर्ताहरुलाई प्रहरीले क्यान अभियान मार्फत काउन्सिलिङ गर्दै आएको छ ।

काउन्सिलिङका लागि ल्याइएका लागूऔषध प्रयोगकर्ता कै सूचनाका आधारमा यादव पक्राउ परेको डीएसपी श्रेष्ठले जानकारी दिए । ‘संगत नसुध्रिसम्म प्रयोगकर्तालाई सुधार गर्न कठिन छ ।’ उनले भने, ‘ लागूऔषध प्रयोगकर्ताको सूचनाका आधारमा यादव पक्राउ परेका हुन् ।’

यादवमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार म्याद थप गरी अनुसन्धान सुरु गरिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment