
२२ कात्तिक, काठमाडौं । स्याङ्जाको वालिङमा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम त्रैमासिक समिक्षा गोष्ठी, वीमा सम्बन्धि तालिम तथा शाखा प्रमुखहरुको भेला पोखरामा सम्पन्न भयो । संस्थाका ७१ वटा शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको ३ दिने कार्यक्रममा पहिलो त्रैमासमा भएको प्रगति विवरण एवं समिक्षा गरिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा कालिका लघुवित्त वित्तीय संस्थासंग मर्ज हुन लागेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति अध्यक्ष विकास गौचनले कालिका संग मर्ज भए पश्चात संस्थालाई नेपालको लघुवित्त क्षेत्रमा उत्कृष्ट र नमुनाको लघुवित्तको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
विशेष अतिथि संस्थाका अध्यक्ष कृष्ण खाँणले दुबै संस्थाको लागि यो एउटा सुवर्ण अवसर रहेको र यसमा सबैको सकारात्मक धारणा पाएको बताए । उनले सबैको जीत हुने तरिकाले मर्ज हुने र लघुवित्त संस्था मर्जमा सुनौलो इतिहास बनाउन सबैलाई आग्रह गर्नु भयो । कर्मचारीहरुलाई उच्च मनोवलको साथमा कार्य गर्न प्रोत्साहन दिंदै अध्यक्ष खाँणले कर्मचारीहरु संस्थाका पिल्लर भएको र मिहिनेत गर्ने कर्मचारीहरु कोहि अन्यायमा नपर्ने पनि बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संचालकहरु नित्यानन्द तिवारी, कृष्ण काजी केसी, सन्तोष श्रेष्ठ, विश्वराज नेपाल, करुणा पोखरेल, जनसेवी लघुवित्त वित्तीय संस्थाका संचालक तथा संयुक्त मर्जर समितिका संयोजक पदमराज रेग्मी, संचालकहरु कुल प्रसाद गुरुङ, मेघनाथ सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको लागि प्रभु लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्सले सहयोग गरेको थियो भने शाखा प्रमुखहरुलाई वीमा सम्बन्धि तालिम पनि दिइएको थियो । संस्थाको तर्फबाट योजना तथा अनुगमन विभाग एवं कर्जा तथा जोखिम विभाग प्रमुख राजेश श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी विभागिय प्रमुखहरू अनुप श्रेष्ठ र याम प्रसाद अर्याल लगायतले सहजिकरण गरेका थिए ।
यसै बीचमा संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन पनि सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ७४ लाख त्रियासी हजार खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो ६ गुणाले बढि हो । लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ७४ करोड ९६ लाख निक्षेप र ९१ करोड २३ लाख सापटीबाट १ अर्ब ८१ करोड ८५ लाख कर्जा परिचालन गरेको छ ।
यसबाट लघुवित्तले ४ करोड ९ लाख ५८ हजार खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको यो खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १ करोड १५ लाख ५५ हजारले बढी हो। चुक्ता पुँजी १० करोड ८० लाख रहेको संस्थाले गत आर्थिक वर्षको मुनाफबाट १२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4