Comments Add Comment

भगिनी शहरको फाइदा विदेश घुमघाम !

२३ कात्तिक, काठमाडौं । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणमा नेपाल र चीनबीच विविध २० वटा क्षेत्रमा समझदारी एवम् सहमति भए । २० समझदारीमध्ये दुई वटा समझदारी दुई देशकका शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा थियो ।

सीको भ्रमणका क्रममा काठमाडौं महानगरपालिका र चीनको नान्जी शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न सहमति पत्रमा हस्ताक्षर भएको हो । सोही दिन बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न सहमति पत्रमा हस्ताक्षर भयो ।

महानगरले अन्य देशका शहरसँग भगिनी सम्वन्ध स्थापना गरेको यो पहिलोपटक भने होइन । काठमाडौंलगायत नेपालका विभिन्न शहरहरुले अन्य देशका शहरसँग भगिनी सम्बन्ध स्थापना गर्दै आएका छन् । तर, यो भगिनी सम्वन्धले खासै केही उपलब्धी भने प्राप्त भएको अनुभव छैन ।

नेपालको सबैभन्दा पुरानो र जनसंख्या धेरै भएको महानगर काठमाडौंले अहिलेसम्म विभिन्न देशका डेढ दर्जन शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । काठमाडौं उपत्यकाभित्रकै ललितपुर महानगरले ७ वटा र भक्तपुर नगरपालिकाले पनि केही सहरहरुसँग भगिनी सम्झौता स्थापना गरिसकेको छ ।

चीनको सियानसँग भगिनी सम्बन्ध स्थापनाको सम्झौतापत्र आदानप्रदान गर्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत होउ याङ् छी

काठमाडौं बाहिरका नगरपालिकाहरुले पनि विभिन्न देशका सहरमा भगिनी सम्बन्ध स्थापना गरेका छन् । पछिल्लो समय क्रमशः भगिनी सम्बन्ध स्थापनाको लहर चल्दैछ ।

दुई देशबीचका सहरहरुबीच भएको भगिनी सम्बन्ध स्थापनाले बास्तवमा फाइदा चाहिँ के हुन्छ त ? परराष्ट्र मामिलाका जानकारहरु भगिनी सम्बन्धको नेपालमा कुनै सदुपयोग नगरिएको बताउँछन् । भगिनीसहरमा घुमघामको चाँजो मिलाउनमै यस्तो सम्वन्ध सीमित रहेको उनीहरुको टिप्पणी छ ।

काठमाडौंले भगिनी सम्बन्ध स्थापित गरेका शहर

१. युजेन, अमेरिका

२. रोचेस्टर, अमेरिका

३. मात्सुमोतो, जापान

४. सियान, चीन

५. मिन्सक, बेलारुस

६. यंगुन, बर्मा

७. पेङवाङ, उत्तर कोरिया

८. ल्हासा, चीन

९. सेन्जेन, चीन

१०. वाराणसी, भारत

११. ग्वाङझाओ, चीन

१२. सोल, दक्षिण कोरिया

१३. छेन्दु, चीन

१४. फ्रेडरिकबर्ग, अमेरिका

१५. बोल्डर, अमेरिका

१६. बैंकक, थाइल्याण्ड

१७. नाञ्जिङ, चीन

भगिनी सम्बन्धका फाइदा

काठमाडौं महानगरपालिकाले सम्बन्ध गाँसेका विदेशी शहरहरुबाट देखिने सहयोग चीनको छेन्दु नगरबाट मात्र भएको छ । यस नगरले काठमाडौंका सडक सफा गर्न ब्रुमर अनुदान दिएको थियो ।

महानगरले इन्द्र जात्राको अवसरमा आफ्ना सम्बन्ध रहेको विभिन्न सहरका ५ मेयरसहितको टोलीलाई काठमाडौं उपत्यका घुमाएको थियो । यसले पर्यटन प्रवर्द्धनमा फाइदा पुग्ने महानगरको दावी छ ।

चीनको सिचुवान प्रान्तसँग भगिनी सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल

महानगरका निर्देशक बसन्त आचार्यका अनुसार दुई देशका शहरहरुका बीचमा स्थापना गरिने भगिनी सम्बन्धको मुख्य उद्देश्य अनुभव आदान-प्रदान गर्ने नै हो । दुई सहरहरुले आ-आफ्ना सहरहरुका अनुभव सेयर गर्नलाई नै भगिनी सम्बन्ध स्थापना गरिने आचार्य बताउँछन् ।

‘मुख्य कुरा त अनुभव नै हो, हामीसँग भगिनी सम्बन्ध भएका सहरहरुमा हामी अवलोकन गर्छौं । त्यहाँका प्रतिनिधिहरुलाई पनि हामी हाम्रो सहर देखाउँछौं,’ उनले भने, ‘एक-अर्काको सहर घुमिसकेपछि त्यहाँबाट केही नयाँ कुरा सिकिन्छ । आफ्नो कमजोरी थाहा हुन्छ ।’

काठमाडौं महानगरसँग सम्बन्ध भएका विभिन्न देशका शहरहरुमा भ्रमण आदानप्रदान चलिरहेको उनले बताए ।

‘घुम्नकै लागि भगिनी सम्बन्ध’

पूर्वाधार विज्ञ सूर्यराज आचार्य घुम्नका लागि मात्रै दुई देशका सहरहरुबीच सम्बन्ध स्थापना हुनुको अर्थ नरहेको बताउँछन् । भगिनी सम्बन्ध स्थापना भइसकेपछि दुवै सहरले फाइदा लिनुपर्ने उनको भनाइ छ ।

‘देश-देशबीच भएको सम्बन्ध जस्तै सहर-सहरबीचको सम्बन्ध पनि राजनीतिक, कूटनीतिक सबै स्तरबाट राम्रो हुनुपर्ने हो,’ उनले भने । तर, अहिले भगिनी सम्बन्ध स्थापना गरेपछि यताका मेयर उता जाने र उताको मेयर यता घुम्न आउने चलनमात्रै हुनु ठीक नभएको आचार्यको भनाइ छ ।

‘सम्बन्ध स्थापना भएपछि त्यसको सदुपयोग गर्नुपर्‍यो, एक आपसमा अनुभव आदान-प्रदान हुनुपर्‍यो,’ उनले भने, ‘दुवै देशका हितका लागि के गर्न सकिन्छ भन्ने सोच्न पर्‍यो, घुम्नकै लागि त सम्बन्धको अर्थ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment