Comments Add Comment

सहजपुर–बोगटान सडक : प्रधानमन्त्रीको आश्वासन पूरा नहुने चिन्ता

रुख काट्ने आदेश नपाउँदा कालोपत्रे गर्न ढिलाइ

२४ कात्तिक, डोटी । ‘आज शिलान्यास भएको छ, भोलि नै पिच हुन्छ भनेर नसोच्नु होला । भोलिदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नुहोला । ३० महिनाभित्र पिच भइसक्छ, अनि सररर गुड्छ गाडी । ३० महिना पर्खिनुहोला ।’

गत फागुन ७ गते डोटीको बीपीनगरमा सहजपुर–बोगटान सडक कालोपत्रेको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणको अंश हो यो । सडक काटिएको झण्डै ४० वर्षपछि कालोपत्रे हुन लागेको सहजपुर–बोगटान सडकको शिलान्यासका क्रममा ओलीले तोकिएको समयमै कालोपत्रे सम्पन्न हुने बताएका थिए ।

तर, ठेक्का सम्झौता भएको करिब एक वर्ष पुग्न लाग्दा कालोपत्रेको काम भने ११.५ प्रतिशतमात्रै काम हुनुले प्रधानमन्त्रीको त्यो आश्वासन पूरा नहुने पो हो कि भन्ने शंका स्थानीयमा उब्जिएको छ ।

कहिले सडक कालोपत्रे होला र सुरक्षित यात्रा गर्न पाइएला भन्ने आशमा बसेका स्थानीयबासीहरु प्रधानमन्त्री स्वयंले कालोपत्रेको शिलान्यास गर्दा आशावादी भएका थिए । तर वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समयमै नहुँदा काम ढिलो हुन थालेपछि फेरि सशंकित भएका छन् ।

‘रुख काट्न पाइएन’

‘काम त भइरहेको छ, तर जुन गतिमा हुनु पर्ने हो त्यसरी भएको छैन,’ कैलाली चुरे गाउँपालिका–२ का खेमबहादुर पातली भन्छन्, ‘वन क्षेत्रमा रुख कटानी आदेश नपाइएका कारण ढिलो भयो भन्छन्, यो आदेश पाइने हो कि नपाइने पो हो ।’

रुख कटानी आदेश नपाइए कालोपत्रे नहुने र फेरि आफूहरुले धुले सडकमै असुरक्षित यात्रा गर्नुपर्ने पो हो कि भन्ने चिन्ता छ पातलीलाई ।

यस्तै दुखेसो पोख्छन् चुरे गाउँपालिका–१ का रामबहादुर विक । उनलाई काम किन ढिलो भइरहेको छ भन्नेबारे जानकारी छैन । तर, काम ढिलो भइरहेकोमा चिन्ता भने छ । सडक कालोपत्रे हुने भन्ने कुरा आठ–नौ वर्ष अघिदेखि नै सुन्दै आएका विक भन्छन् ‘फेरि यो काम बिचमै रोकिने पो हो कि !’

सडकको काम तोकिएकै समयमा हुनुपर्ने माग राख्छन् डोटी बडीकेदार गाउँपालिका–१ अर्जुन बहादुर । उनी भन्छन् ‘गाउँगाउँमा कुनै प्रक्रिया पूरा नगरी सडक काट्ने नाममा पूरै जंगल सखाप गर्दा समेत कसैलाई वास्ता हुँदैन, तर ४० वर्ष पहिले काटिएको सडकमा कालोपत्रे गर्नका लागि अनेक झमेला गर्न थाले ।’ उनी अनावश्यक बखेडा झिकेर सडकको काम हुन नदिने खेल पो हो कि भन्ने चिन्तामा छन् ।

ईआईए जति छिटो भयो, त्यति छिटो काम

वातावरणीय प्रभाव मूल्यांकनको काम नटुंगिदा काम गर्न ढिलाई भएको निर्माता कम्पनी पीआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रवन्धक ईश्वर बस्नेत बताउँछन् । ‘कालोपत्रे हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर वन क्षेत्रमा पर्छ,’ बस्नेतले भने ‘ईआईएको प्रतिवेदन नआएसम्म कटानी आदेश आउँदैन, त्यसैले द्रुत गतिमा काम हुन सकिरहेको छैन ।’ उनले यस विषयमा सरकारलाई पनि चासो नभएको बताए ।

आफूहरुले रुख छल्दै, काम गर्दै गरिरहेको बताउँदै बस्नेत भन्छन् ‘यदि समयमै ईआईएको काम सकिने हो भने हामी तोकिएकै समयमा काम सम्पन्न गर्छौं ।’

उनले अर्को समस्या मुआब्जाको रहेको बताए । मुआब्जाको विषयमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनु पर्ने अवस्था रहेको बस्नेत वताउँछन् । ‘एक घर त पुरै भत्काउनु पर्छ, अन्य ६० घरहरुमा कसैको सिंढी, कसैको पाली, कसैको आँगन भत्काउनु पर्ने अवस्था छ,’ बस्नेत भन्छन्, ‘यस बिषयमा अहिलेसम्म केही भएको छैन, मुआब्जा कसले दिने हो भन्ने पनि जानकारी छैन ।’

यदि ईआईए र मुआब्जाको विषय छिटो टुंगो लागे काम द्रुत गतिमा हुने उनी बताउँछन् । ‘हामीले १३ वटा मेसिन साइडमै राखेका छौं, दुई मेसिन फेरि आउँदैछन्,’ उनले भने, ‘तर मेसिन काम नपाएर थन्किएका छन् ।’ हाल तीन सय मजदुरले काम गरिरहेको बताउँदै बस्नेतले चार सय मजदुर थप्ने तयारी भइरहेको बताए ।

ईआईएको काम छिटै टुंगिने बताउँछिन् सडक सुधार तथा विकास आयोजना अन्तरगतको सहजपुर–बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारी । उनले भनिन्, ‘ईआईएको काम अन्तिम चरणमा पुगिसकेको छ, अब एक–दुई महिनाभित्रै अन्तिम प्रतिवेदन आईसक्छ ।’

मुआब्जाको विषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको बैठक बसेर टुंग्याउने अधिकारीले जानकारी दिइन् ।

कैलालीको सहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ५ डिसेम्वर २०१८ मा पीएलआर–कुमार जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दायाँ–बायाँ एक–एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेछ ।

एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment