
२५ कात्तिक, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले राजीनामा दिएका छन् । शिव सेनाबाट लोकसभा सांसद बनेका उनी नरेन्द्र मोदीको क्याबिनेटका हेभी इन्डष्ट्रिज एण्ड पब्लिक इन्टरप्राइजेज मन्त्री थिए ।
भारतीय जनता पार्टी र शिवसेनाबीच महाराष्ट्रको सत्ता साझेदारीको विषयमा विवाद भइरहेको बेला मन्त्री सावन्तले ट्विटरमार्फत मन्त्री पद त्यागेको जानकारी दिएका छन् ।
भाजपाका एक नेताले आइतबार प्रदेश प्रमुखसँगको छलफलमा शिव सेना आफूहरुको साथमा आउन तयार नभएकाले ऊ विपक्षमै बस्ने बताएका थिए ।
यो समाचार सार्वजनिक भएलगत्तै सावन्तले ट्वीटरमार्फत् पद त्यागेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘शिव सेना सत्यको साथमा छ । यस माहोलमा सरकारमा रही रहनुको के अर्थ ? त्यसैले केन्द्रीय मन्त्री पदबाट राजीनामा दिँदै छु ।’
शिव सेनाका प्रमुख उद्धव ठाकरेको निर्देशनमा मन्त्री सावन्तले पदबाट राजीनामा दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
शिव सेनाका नेता सञ्जय राउतले भनेका छन्, ‘भाजपा सरकार बनाउन तयार छैन । उसले महाराष्ट्रका जनताको अपमान गरेको छ । अब शिव सेना भाजपासँग मिलेर सरकार बनाउँदैन ।’
मन्त्री सावन्तको राजीनामासँगै शिव सेनाले महाराष्ट्रमा एनसीपी र कांग्रेसको सहयोगमा सरकार बनाउने बताइएको छ । एनसीपीले मोदी नेतृत्वको सरकारबाट बाहिरिएपछि मात्रै सरकारमा समर्थन गर्ने सर्त राखेको थियो ।
प्रतिक्रिया 4