Comments Add Comment

बालुवा ठगीको विचाराधीन मुद्दामा यातायात विभागको सक्रियता

२७ कात्तिक, काठमाडौं । बालुवा ठगी काण्डमा मुछिएका मिनी ट्रक व्यवसायीहरुको एक समूह आइतबार मीनभवनस्थित यातायात व्यवस्था विभागमा पुग्यो । केहीबेरको छलफलपछि विभागको निर्णय आयो, निर्माण सामग्री बोक्ने मिनी ट्रकको समस्याबारे अध्ययन गर्न समिति गठन गर्ने ।

तर, समितिले काम नथाल्दै विभागले निश्कर्ष निकालिसकेको छ, बालुवामा उपभोक्तासँग पैसा ठगिएको छैन, गाडीमा प्राविधिक परिवर्तन गरेर झुक्याइएको मात्र हो । विभागको यस्तो निश्कर्षबाट आरोपी बालुवा व्यवसायी र यातायात व्यवसायीले राहत महसुस गरेका छन् ।

गत कात्तिक १ गते मिनी ट्रकहरुमा बक्स बनाएर निर्माण सामग्रीको परिमाण घटाउँदै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई पक्राउ गरेको थियो । उनीहरुमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा थुनछेक बहसको क्रम चलिरहेको छ । यातायात व्यवस्था विभागले यही प्रकरणमा छुट्टै अनुसन्धान थाल्ने निर्णय गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा अनुसन्धानमा मिनी ट्रकभित्र पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढुंगाको परिमाण घटाएर बेच्ने गरेको पाइएको थियो । प्रहरीले यसलाई ठगीको दावी गरिरहँदा व्यवसायीहरु भने प्राविधिक विषय ठहर्याउन खोजिरहेका छन् । उनीहरुले गाडीको तोकिएको भारवहन क्षमताबारे विभागको अध्ययन प्रतिवेदन अगाडि सार्ने तयारी गरेका छन् ।

विभागका एक अधिकारीका अनुसार मिनी ट्रकको भारवहन क्षमता यसै पनि थोरै हुन्छ । त्यसमा पनि गिट्टी, बालुवालगायतका निर्माण सामग्री ढालाभरि बोकेमा तोकिएको भारवहन क्षमताको नियम उल्लंघन गरेको ठहर्छ । ठगीबारे प्रहरीले अनुसन्धान गरेपछि यातायात तथा बालुवा व्यवसायीले भारवहन क्षमता उल्लंघन नहोस् भनेर बक्स बनाइएको तर्क गरेका छन् ।


‘उनीहरुले ट्रकभित्र बक्स बनाएर ढालाभरि निर्माण सामग्री बोकेको भ्रम उपभोक्तामा छर्दा रहेछन् । त्यो बक्स नहुने हो भने उनीहरुले ढालाभरि निर्माण सामग्री बोक्न मिल्दैन,’ ती अधिकारीले भने, ‘अब यसबारे हामी अध्ययन गर्छौं र सबै मिनी ट्रकमा बनाइएका बक्स हटाउँछौं ।’

बक्स हटाएपछि मिनी ट्रकले कति निर्माण सामग्री बोक्न पाउने भनेर विभागले चिनो लगाउने योजना रहेको ती अधिकारीको भनाइ छ । त्यसो हुँदा भारवहन क्षमताभन्दा बढी निर्माण सामग्री बोक्न नपाउने र उपभोक्ता पनि नठगिने उनको तर्क छ । अब उप्रान्त निर्माण सामग्री ढुवानी गर्दा व्यवसायीले ढालाभन्दा ५ इन्च मुनिसम्म मात्रै राखेर बालुवा बेच्न छुट पाउनेछन् ।

‘मूल्य कति लिने भन्ने विषय ढुवानीकर्ता र उपभोक्ताबीचको हो,’ अधिकारी भन्छन्, ‘उपभोक्ता पनि झुक्किनु भएन र भारवहन क्षमताको सही पालना पनि हुुनुपर्यो, विभागको चासो त्यत्ति हो ।’

विचाराधीन मुद्दामा विभागको सक्रियता

बालुवामा ठगी भएकोबारे अनुसन्धान गरेर उपभोक्ता हित संरक्षण मञ्चले जाहेरी दिएको थियो । यो मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा रहेको बेला विभागको निर्णय आउनुलाई आश्चर्यजनक मानिएको छ ।

मुद्दालाई प्रभावित गर्ने गरी कुनै काम भए तुरुन्तै पूरक जाहेरी दिएर संलग्नहरुलाई पनि अनुसन्धानमा ल्याउने चेतावनी मञ्चले दिएको छ । मञ्चका महासचिव विष्णु तिमल्सिना यातायात व्यवस्था विभागले जनताको भन्दा व्यवसायीको पक्षपोषण गर्न थालेको बताए ।

‘यत्रो ठूलो अपराध भएको छ, यसलाई निरुत्साहित गर्न लाग्नुपर्नेमा उल्टो गुणस्तर तथा नापतौल विभागको कार्यक्षेत्रमा प्रवेश गरेर मुद्दालाई कमजोर बनाइए हात बाँधेर बस्दैनौं,’ उनले भने, ‘जनतामाथि भएको ठगीलाई वैधता दिन खोजिए अर्को कानूनी लडाइँमा जान्छौं ।’

इन्जिनियर मोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको स्रोतले बताए पनि विभागका निर्देशक तथा तथा प्रवक्ता तीर्थराज खनालले यसबारे आफूलाई जानकारी नभएको बताए ।

‘व्यवसायीसँग छलफल भएको छ, के सहमति वा निर्णय भयो भन्ने मलाई थाहा भएन,’ उनले भने ।

प्रहरीले गुण्डानाइके सुकबहादुर लामा (बाघे) सहित २३ जना विरुद्ध ठगीको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्यामबहादुर मगर र नो नेम सप्लायर्सका पुष्कर थापा पनि छन् ।

त्यसैगरी श्रीकाली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ (विजय) गोरखकाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ रहेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चले दिएको उजुरीका आधारमा महाशाखाले उनीहरुलाई पक्राउ गरेको थियो । महाशाखाले ती सप्लायर्सका ३५ वटा सवारी साधन र चालकलाई पनि नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment