Comments Add Comment

प्रगतिका आधारमा मात्र एक सय गन्तव्यलाई थप बजेट

Photo Credit : सय गन्तव्यमा परेको मकवानपुर गढी / अनलाइनखबर फाइल ।

२५ कात्तिक, काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा घोषणा भएका एक सय गन्तव्यले कार्य सम्पादन तथा प्रगति प्रतिवेदनका आधारमा मात्र बजेट पाउने भएका छन् । सरकारले चालु आर्थिक वर्षमा छुट्याएको बजेटमध्ये पहिलो किस्ता पठाउँदै दोस्रो किस्ताका लागि यस्तो शर्त राखेको हो ।

सरकारले पर्यटकीय गन्तव्यको विकासका लागि विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयनको मार्गदर्शन तयार पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पहिलो किस्ताबाट भएको भौतिक तथा आर्थिक प्रगतिको विवरण प्राप्त भएपछि मात्र मन्त्रालयले दोस्रो किस्ता उपलब्ध गराउने छ ।

एक सय गन्तव्य विकास र त्यसको प्रवर्द्धनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । कार्यक्रम केन्द्रको भए पनि कार्यान्वयन भने स्थानीय तहबाटै हुने गरी व्यवस्था मिलाइएको छ ।

सरकारले अघिल्लो आवमा नयाँ गन्तव्य विकास गर्ने लक्ष्यसहित हरेक जिल्लाबाट कम्तिमा एउटा पर्ने गरी १ सय गन्तव्यको घोषणा गरेको थियो । ७ वटा प्रदेशबाट कम्तिमा १० गन्तव्य पर्ने गरी छुट्याइएको थियो । १ सय गन्तव्यका लागि अघिल्लो वर्ष ५० करोड रुपैयाँ छुट्याएको सरकारले चालु आवमा समेत उत्ति नै रकम छुट्याएको छ ।

गत आवको प्रतिवेदन अझै आएन

नेपालको पर्यटन लामो समयदेखि सिमित गन्तव्यमा केन्द्रित छ । यसलाई बिस्तार गर्दै हरेक जिल्लामा कम्तिमा एक नयाँ गन्तव्य स्थापित गर्ने लक्ष्यसहित सरकारले १ सय गन्तव्यको छनोट गरेको थियो । यी गन्तव्यमा दिएको रकम स्थानीय तहले पूर्णतया पूर्वाधार विकासमा खर्च गर्नुपर्छ ।

गत आवमा समेत सरकारले दुई किस्तामा स्थानीय तहमार्फत यी गन्तव्यका लागि रकम दिएको थियो । तर, स्थानीय तहले गत आवमा पठाइएको बजेटको वित्तीय तथा भौतिक प्रगति र खर्चको वार्षिक आर्थिक विवरण अझै पठाएका छैनन् ।

मन्त्रालयले स्थानीय तहसँग उक्त विवरणसमेत मागेको छ । बजेट तथा कार्यक्रम कार्यान्वयनको मन्त्रालयबाटै अनुगमन हुने समेत स्पष्ट पारिएको छ । खर्चको लेखा परिक्षणसमेत हुने भएको छ ।

मन्त्रालयले बजेट निकासा र खर्चको विवरण मासिक रुपमा, भौतिक प्रगति भने चौमासिक र वार्षिक रुपमा मन्त्रालयमा पठाउन समेत स्थानीय तहरुलाई मार्गनिर्देशन गरेको छ ।

स्थानीय तहहरुले १ सय गन्तव्यभित्र परेको आफ्नो क्षेत्रको भौतिक विकासको गुरुयोजना बनाउनु पर्नेछ । स्थानीय तहले गुरुयोजना बनाएर केन्द्रको बजेट भौतिक पूर्वाधार विकासमा लगाउन मन्त्रालयले निर्देशन दिएको छ । गुरुयोजना तयार भइसकेकाको हकमा भने सोही अनुसार निर्माण र सुधार गर्नुपर्ने भएको छ ।

चालु आर्थिक वर्षका लागि १ सय गन्तव्यले प्राप्त गर्ने पर्यटन पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट सम्बन्धित स्थानीय तहको नाममा स्वीकृत भएको छ । सरकारले अधिकांश स्थानीय तहलाई पहिलो किस्तावापत २५ लाख रुपैयाँ दिएको छ । कतिपयले ४० लाख, कतिपयले ५० र कुनै कुनै स्थानीय तहको नाममा ५५ लाखसमेत निकासा भएको छ ।

यी हुन १०० गन्तब्य

तिङबुङ पोखरी (ताप्लेजुङ), गूरु फाल्गुनन्द सर्किट (पाँचथर), तीनजुरै-मिल्के-जलजले (तेह्रथुम), बालेश्वर ऐतिहासिक गुफा (संखुवासभा), हलदे पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), बराह पोखरी (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु), थोलेदम्बा डाँडा (ओखलढुंगा), उदयपुरगढी (उदयपुर), शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र (झापा), धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर-दन्तकाली पदमार्ग (सुनसुरी), सहलेस दरवार पर्यटन क्षेत्र (सिरहा), नाडी ताल (सर्लाही, धनेश्वर महादेव पर्यटन विकास क्षेत्र (धनुषा), जलेश्वर मन्दिर (महोत्तरी), मरघर सिमसार क्षेत्र पतौरा पुरात्वात्विक महादेव मन्दिर (रौटहट) रहेका छन् ।

यस्तै, सिम्रौनगढ (बारा), घडीअर्वा पोखरी (पर्सा), छिन्नमस्ता (सप्तरी), जिरी शैलुङ पर्यटन पदमार्ग (दोलखा), सिन्धुलीगढी (सिन्धुली, सुनकोशी र्‍याफ्टिङ (रामेछाप), महाभारत ट्रेल (काभ्रे), पाँचपोखरी (सिन्धपाल्चोक), कल्चेडी-झिल्केश्वर-देविघाट-भैरवी-दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज ट्रेल (रसुवा), स्काई ट्रेल, रानीझरना क्यानोनिङ थाक्रे (धादिङ), बिस हजारी ताल, सोमेश्वर गढी पर्यटन विकास माडी, पटीयानी पर्यटकीय क्षेत्र (चितवन), मकवानपुरगढी (मकवानपुर), निलबाराही मन्दिर/पार्क (भक्तपुर), दहचोक (काठमाडौं) छन् ।

अन्य नयाँ गन्व्यमा नागदह पर्यटकीय क्षेत्र, गोदावरी फुलचोकी हाइकिङ (ललितपुर), चुमभ्याली (गोरखा), काउलेपानी (घलेगाँउ), तनहुँ कालिका शहीद तथा शान्ती पार्क, सिद्धगुफा (तनहुँ), मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र (कास्की), नार्फु ट्रेल (मनाङ), लोमाङथाङ दरवार र गुफा क्षेत्र (मुस्ताङ), दूर्लुङ क्यानोनिङ, केभिङ र होमस्टे, महाशिला (पर्वत), सतौ-चण्डीमालिका क्षेत्र, आलमदेवि (स्याङ्जा), भकुण्डे भैरवस्थान गाजाको दह, ढोर पाटन आरक्षण क्षेत्र -बागलुङ), दाउन्नेदेवि (नवलपरासी पूर्व), घोरेपानी पर्यटकीय क्षेत्र (म्याग्दी) रहेका छन् ।

रामग्राम (नवलपरासी पश्चिम), बाउन्नकोटी वनबाटिका, सैनामैना पर्यटकीय क्षेत्र (रुपेन्देही), जशदिशपुर, सागरताल (कपिलवस्तु), तालपोखरा रम्भादेवि मन्दिर (तानसेन), पाँणिनी तपोभूमि (अर्घाखाँची), रेसुंगा तपोभूमि, रुरु क्षेत्र, भगवती मन्दिर पर्यटकीय क्षेत्र (गुल्मी), जलजला (रोल्पा), रक गार्डेन, ओखरकोट डाँडा, झिमरुक (प्यूठान), बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र (दाङ), कम्मर शाह मजार धार्मिक पर्यटकीय क्षेत्र (बाँके), ओमकेदारेश्वर धाम धार्मिक पर्यटकीय स्थल, शिवमन्दिर धार्मिक पर्यटकीय स्थल (बर्दिया), कुभिन्डेदह (सल्यान),
त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र (डोल्पा), डुडुल चैत्य (जुम्ला), लिमी उपत्यका पर्यटकीय स्थल (हुम्ला), रारा से फोक्सुन्डो पदमार्ग (मुगु), पाचाल झरना (कालीकोट), खलंगा दरबार क्षेत्र (जाजरकोट), कोतगढी-पञ्चदेवल-वेलासपुर-महावु पर्यटकीय विकास (दैलेख), जाजुरा दह, गिद्देडाँडा (सुर्खेत), वोतामकोट चित्री पाटन शाहसिक पदमार्ग (रुकम पश्चिम), कोल्टी-बुढीगंगा-बढीमालिका पदमार्ग (बाजुरा), गोरखनाथ मन्दिर पैदलमार्ग (बझाङ) पनि नयाँ गन्तव्यमा परेका छन ।

साथै, बडिकेदार धार्मिक पर्यटकीय क्षेत्र (डोटी), सूर्यकोट मस्तादेवि पर्यटन क्षेत्र (अछाम), मालिकार्जुन (दार्चुला), सिद्धनाथ उदयदेव धार्मिक स्थल पाटन (बैतडी), अमरगढी-उग्रतारा (डडेलधुरा), रौटेला झम्केली ब्रहृमादेवधाम धार्मिक विकास क्षेत्र (कञ्चनपुर), बन्दा ताल कोटीहोम पर्यटकीय क्षेत्र र बर्दगोरिया मन्दिरधाम (कैलाली) पनि सय गन्तव्यमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment