Comments Add Comment

अनमोलविना किन निरन्तर असफल हेमराज ?

चलचित्र ‘होस्टेल’ निर्देशन गर्दा निर्देशक हेमराज वीसीको तारिफ नै तारिफ भयो । हेमराज वीसी लभ स्टोरी चलचित्र निर्देशनमा उदाए । यो चलचित्रबाट नायक अनमोल केसी पनि उदाए ।

यसपछि, अनमोल र हेमराजले चलचित्र ‘जेरी’मा काम गरे । यो चलचित्र पनि बक्स अफिसमा सफल भयो । हेमराज र अनमोलको तेश्रो सहकार्यको रुपमा बनेको चलचित्र ‘गाजलु’ पनि बक्स अफिसमा सफल भयो ।

हेमराज र अनमोलले एकसाथ सहकार्यमा ह्याट्रिक गरे । यसपछि, भने अनमोल र हेमराजको सम्बन्ध विग्रिएको गसिप सार्वजनिक भए । तर, अनमोल केसीको टेबुलमा हेमराजको अफर पुगिरहेको थियो । तिन हिट चलचित्र दिएर हेमराज सफल निर्देशकको रुपमा चिनिएका थिए । उनलाई चलचित्र निर्देशनमा लिनका लागि निर्माताले धेरै समय सोचेनन् ।

अनमोल केसीसँगको सहकार्य बाहिर रहेर हेमराजले बनाएको पहिलो चलचित्र थियो, ‘सम्बोधन’ । दयाहाङ राई, नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र बक्स अफिसमा चिसो भयो ।

यसपछि, हेमराजले नायक आशिरमान देशराज र नायिका आना शर्मालाई लिएर चलचित्र ‘ग्याङस्टार ब्लूज’ बनाए । हुनत, यो चलचित्रको अफर पनि नायक केसीलाई गएको थियो । तर, विविध कारणले केसीले यो चलचित्रमा काम गरेनन् । बक्स अफिसमा यो चलचित्र चिप्लियो । समिक्षक र दर्शकले पनि यसलाई राम्रो चलचित्र भन्न सकेनन् ।

हेमराजले यसपछि बनाएको अर्को चलचित्र हो, ‘दि ब्रेकअप’ । आशिरमान देशराज र शिल्पा मास्केलाई लिएर उनले निर्देशन गरेको यो चलचित्रले झनै खराब व्यापार गर्यो । यो चलचित्र नायक केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’सँग जुधेको थियो । बक्स अफिसमा हेमराज अनमोलविना तेश्रो पटक चिप्लिए ।

उनै, हेमराज निर्देशित नयाँ चलचित्र ‘घामड शेरे’ अहिले हलमा लागिरहेको छ । यो चलचित्रको व्यापार पनि सुखद छैन । निश्चल बस्नेत र स्वस्तिमा खड्का जस्ता कलाकार भएको यो चलचित्रले पनि सुखद व्यापार नगर्दा हेमराजले चलचित्र निर्देशन गर्नु अगाडि धेरै पटक सोच्नुपर्ने अवस्था आएको छ ।

अनमोलसँग तिन पटक सहकार्य गर्दा तिनै पटक हिट भएका हेमराज यसपछि लगातार चौथो पटक चिप्लिएका छन् । आखिर, अनमोल केसीविना हेमराजका चलचित्र किन चल्दैनन् ? यो प्रश्न भने चलचित्र क्षेत्रमा उब्जिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment