+
+
Shares

उज्यालो वीरगञ्ज बनाउन आधुनिक ‘टावर लाइट’

सुरेश बिडारी सुरेश बिडारी
२०७६ कात्तिक २६ गते १८:४९

१६ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ‘उज्यालो वीरगञ्ज’ अभियान अन्तर्गत १० वटा टावर लाइट लगाइने भएको छ । त्यसक्रममा वीरगञ्जका विभिन्न ६ स्थानमा लाइट जडान धमाधम भइरहेको छ ।

नेपाली चलचित्र स्वार्णिम महोत्सव २०७६ का लागि आदर्शनगर रंगशालामा जडान गरिएको लाइट बल्न थालिसकेको छ ।

 

रंगशालामा अर्कोपनि लगाउने तयारी छ । भने रजतजयन्ती चोक,  परवानीपुर, बिन्दवासीनीको केहुनिया चोक, रामगढवा हुँदै ड्राईपोर्ट जाने बाटोमा र बसपार्कमा पोल ठड्याएर लाइट लगाउने कार्य जारी छ ।

महानगरको शहरी तथा ग्रामिण भेगलाई उज्यालो बनाउने उद्देश्यका साथ महानगरपालिकाले चालु आर्थिक वर्षदेखि ‘उज्यालो वीरगञ्ज’ अभियान सञ्चालन गरेको नगर प्रमुख बिजयकुमार सरावगीले जानकारी दिए ।

‘उज्यालो वीरगञ्ज’ अभियान अन्तगत यसवर्ष महानगरमा १० वटा टावर लाइट लगाउने योजना बनाएका छौं,’ उनले भने, ‘दुईवटा जडान भई सञ्चालनमा आइसकेको छ, बाँकीको काम कात्तिक मसान्तसम्म सक्ने लक्ष्य छ । सहरलाई उज्यालो बनाउने प्रयास निरन्तर जारी रहन्छ ।’

दुई वर्षभित्र वीरगञ्ज महानगरभित्र समय अनुसार स्वचालित टावर तथा रोड लाइट जडान गरी उज्यालो वीरगञ्ज बनाउने आफ्नो लक्ष्य रहेको नगर प्रमुख सरावगीले बताए ।

यसअघि नै वीरगञ्जको घण्टाघर र प्रतिमा चोकमा टावर लाइट जडान भइसकेको छ । प्रतिनिधि सभा सदस्य प्रदीप यादवले संसदीय कोषको पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत साढे १२ मिटर उचाइका लाइट लगाएका हुन् । उनले उज्यालो वीरगञ्ज बनाउन सकेको योगदान दिने बताउँदै आएका छन् ।

तर तत्कालिन नगर प्रमुख बिमल श्रीवास्तवको पालामा जडान गरिएका पुराना सडक बत्ती (भेपर लाइट) को नियमित मर्मत संभार समेत गर्न नसकेको महानगरपालिकाले खर्चिलो ‘टावर लाइट’ लगाएको भन्दै कतिपयले यसको आलोचना समेत गरिरहेका छन् ।

के हो त हाईमास लाइट अर्थात टावर लाइट ?

अंग्रेजी नामलाई नेपालीमा अर्थ्याउँदा अग्लो र धेरै क्षेत्र समेटने लाइट नै टावर लाइट भनेर सहजै बुझ्न सकिन्छ । वीरगञ्जमा टावर लाइटका लागि १२.५ मिटर र १६ मिटरका प्रयोग गरिएको छ ।

१२.५ मिटरको लाइट भ्याट बाहेक झण्डै १० लाख र १६ मिटरको १२ लाखमा खरिद गरिएको छ । १२.५ मिटरमा ८ वटा र १६ मिटरकोमा १० वटा ४ सय वाटका एलईडी लाइट जडान गरिन्छ ।

सुर्या कम्पनीको १० वर्षे ग्यारेन्टी वाला एलईडी बल्ब टावर लाइटमा जडान गरिएको महानगरपालिकाका इन्जिनियर सुरेन्द्र साहले बताए । ‘हाइट अनुसार लाइट जडान गर्ने हो । खुल्ला ठाउँमा १ किलोमिटर र अन्य ठाउँमा कम्तीमा ३/४ सय मिटरसम्म उज्यालो दिन्छ ।’ इन्जिनियर साहले भने ‘बत्ती अटोमेटिक बल्ने र निभ्ने गर्छ ।’

भेपर लाइटबाट निस्कने पहेँलो किरणले जस्तो मानिसको छालामा यसको किरणले असर नगर्ने दाबी उनले गरे ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?