Comments Add Comment

संविधान संशोधन गरी नक्सा सच्याउन विवेकशीलकाे माग

२७ कात्तिक, काठमाडौं । संविधान संशोधन गरी नेपालको नक्सा सच्याउन विवेकशील नेपाली दलले सरकारसँग माग गरेको छ ।

दलका प्रदेश ३ सांसद् रमेश पौड्यालले मंगलबार एक विज्ञप्ति जारी गर्दै संविधान संशोधन गरी यथाशीघ्र नक्सा सच्याउन माग गरेका हुन् ।

नेपालको संविधानको अनुसूची ३ मा व्यवस्था रहेको नेपालको निशाना छापमा प्रयुक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकक्षेत्र नसमेटिएकाले यथाशीघ्र नेपालको संविधानको अनुसूची ३ संशोधन गरी नेपालको नक्सामा उक्त क्षेत्रहरू समावेश गर्नुपर्ने विवेकशीलको माग छ । उसले संविधानमा प्रयोग गरिएको गलत नक्साप्रति क्षमायाचना गर्न पनि मुख्य दलहरूलाई आग्रह गरेको छ ।

‘संविधानमा नै गलत नक्सा प्रयोग गरी विगतमा नेतृत्व पंक्तिबाट भएको गम्भीर गल्तीप्रति आमनागरिकसमक्ष क्षमायाचना गर्दै यथाशीघ्र संविधान संशोधनको पहल सुरु गर्न सरकारलाई आग्रह गर्दछौं’, विवेकशीलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले विगतमा प्रयोग भएको नक्सा गुगलबाट निकालिनु गल्ती भएको भनेर व्यक्त गरेको भनाइप्रति पनि विवेकशीलले आपत्ति जनाएको छ ।

मुलुकको भौगोलिक अखण्डतासँग जोडिएको गम्भीर महत्त्वको विषयमा हुने ढिलाइ स्वीकार्य नहुने भन्दै विवेकशीलले संविधान संशोधनमा ऐक्यबद्धता जनाउन सबै राजनीतिक दलहरूलाई आह्वान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment