Comments Add Comment

कफी आयातमा भन्सार बढ्यो, निर्यात उत्साहजनक

२६ कात्तिक, काठमाडौं । सरकारले विभिन्न १४ मुलुकबाट नेपालमा भित्रिने कफी तथा कफी मिसिएको बस्तु आयातमा भन्सार महसुल १० प्रतिशत वृद्धि गरेको छ । आयात निरुत्साहित गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यले यस्तो निर्णय लिइएको हो ।

परिवर्तित भन्सार दरले आयातित कफी महँगो भएर स्वदेशी उद्योगलाई राहत मिल्नेछ । बढेको भन्सार महसुलले बंगलादेश, भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, इटाली, इन्डोनेसीया र टर्कीबाट नेपाल भित्रिने कफीको मूल्य बढ्ने भएको छ ।

भन्सार विभागको विवरणअनुसार चालू आर्थिक वर्षको तीन महिनामै साढे ४ करोड रुपैयाँ बराबरको ७१ हजार किलोभन्दा धेरै कफी आयात भइसकेको छ । गत वर्ष ३८ करोड ४१ लाख बराबरको २ लाख ५० हजार १३९ किलो कफी तथा ४५ हजार ९५० किलो कफीजन्य बस्तु विभिन्न मुलुकबाट नेपाल आयात गरिएको भन्सार विभागले जनाएको छ ।

नेपाली कफी निर्यात उत्साहजनक

चालु आर्थिक वर्षको तीन महिनामा नेपालले विश्वका ११ मुलुकमा झण्डै २७ हजार किलो कफी बिक्री गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार २६ हजार ८ सय ११ किलो कफी साउनदेखि असोज मसान्तसम्म नेपालबाट निर्यात भएको छ । निर्यात भएका कफीको बजार मूल्य ३ करोड १३ लाख २३ हजारभन्दा धेरै रहेको विभागले जनाएको छ ।

नेपाली कफी क्यानाडा, अमेरिका, जापान, ताइवान, बेलायत र यूरोपेली बजारसम्म पुगेका छन् । अहिलेको विवरणले भने यूरोप नै नेपाली कफीको मुख्य बजार भएको संकेत गर्छ । आर्थिक वर्षको सुरुआती तीन महिनामा नेपालले सबैभन्दा धेरै कफी जर्मनी निर्यात गरेको छ ।

यस्तै दोस्रो ठूलो बजार स्विट्जरल्याण्ड देखिएको छ । जर्मनीमा ९ हजार २ किलो र स्विट्जरल्याण्डमा ८ हजार किलो कफी साउनदेखि असोज मसान्तसम्म बिक्री भएको हो ।

यस्तै दक्षिण कोरियामा ४५ सय किलो, डेनमार्कमा २ हजार किलो, अमेरिकामा १३ सय ९३ किलो, फ्रान्समा ६ सय किलो कफी निर्यात भएको छ । क्यानाडामा १३५ किलो, बेलायतमा ३२० किलो, हङकङमा २७० किलो, जापानमा ५३६ किलो तथा ताइवानमा ५५ किलो कफी नेपालबाट निर्यात भएको छ । आर्थिक वर्ष ०७५/७६ मा ९ करोड ९६ लाख बराबरको कूल ८४ हजार १ सय ३१ किलो कफी नेपालबाट निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment