Comments Add Comment

को हुन् शिख धर्मका प्रवर्द्धक गुरु नानक ?

बालक नानकका पिता कल्याणरायले उनको यज्ञोपवित गराउनको लागि आफ्नो इष्टमित्र एवं परिचितहरुलाई निमन्त्रणा गरे । बालक नानकलाई आसनमा राखेर जब पुरोहितहरुले उनलाई केही मन्त्र पढ्नको लागि भने । त्यतिबेला नानकले यज्ञोपवित गराउनुको प्रयोजन सोधे ।

कट्टर हिन्दु परिवारमा जन्मिएका उनले यज्ञोपवितकै दिन सोधेको यति ठूलो प्रश्नले त्यहाँका गुरु पुरोहितहरुलाई झस्कायो ।

तर, शान्त भएर उनीहरुले गुरु नानकलाई पुरोहितहरुले सम्झाउँदै भने, ‘अहिले तिम्रो यज्ञोपवित संस्कार हुँदैछ । धर्मको मर्यादा अनुसार यो पवित्र डोरो प्रत्येक हिन्दूले यस संस्कार मार्फत् धारण गर्न सुरु गर्छन् । धर्मका अनुसार यज्ञोपवित संस्कार पूर्ण भएपछि मात्रै तिम्रो दोस्रो जन्म हुन्छ । त्यसैले तिमीलाई पनि यसै धर्म अनुसार दीक्षित गराउन लागिएको हो ।

नानकले प्रश्न गरे, ‘तर यो त एउटा धागो हो । यो फोहोर हुँदैन ?’

गुरुले भने ‘हुन्छ, तर यसलाई सफा पनि त गर्न सकिन्छ ।’

फेरि नानकले सोधे, ‘यो त टुट्नपनि त सक्छ नि, होइन ?’

गुरुले भने ‘टुट्न सक्छ, तर नयाँ पनि धारण गर्न त सकिन्छ नि ।’

नानकले फेरि सोचेर भने ‘यो मृत्युपछि शरीरका साथ जल्ने पनि त सम्भावना हुन्छ नि ? यदि यसको धारण गरेर पनि आफ्नो शरीर, आत्मा तथा स्वयं यज्ञोपवितको पवित्रता राख्न सक्दैनन् भने यसको धारणको के फाइदा ?

नानकको यो प्रश्नको उत्तर त्यहाँ उपस्थित भएका कुनैपनि गुरु पुरोहितहरुले दिन सकेनन् ।

फेरि नानकले सोधे ‘गुरुजी, यदि कहिलै फोहोर नहुने र कहिलै नटुट्ने यज्ञोपवित छैन ? यदि छ भने त्यो लगाइदिनुहोस् ।’

अधिकांश दार्शनिकहरु सानैदेखि यस्तै तीक्ष्ण प्रश्नहरुद्वारा स्थापित भएका हुन्छन् । चाहे गुरु नानक हुन् या त विवेकानन्द वा शंकराचार्य । सबैको यस्तै किसिमका जीवनकथाहरु सुन्न पाइन्छ । उनीहरु सबै पछि गएर आफ्नो भिन्दै दर्शनका कारण समाजमा स्थापित भएका छन् ।

यस्तै दार्शनिक मध्येका एक हुन् शिख धर्मका प्रवर्द्धक गुरु नानक । उनको जीवनको सुरुवातदेखिकै संघर्षको कथा भिन्न प्रकारको छ । बादलको डरलाग्दो गर्जन, बिजुलीको चमक र वर्षाको आभाससँगै सुरुभएको थियो उनकी आमाको प्रशव पीडा पनि । त्यो पीडाले केवल एक जना नानकलाई जन्माएन । एउटा नयाँ सिद्धान्त समेत जन्माएको छ । उनको वास्तविक जन्म सन् १४८७ को चैत महिनामा भएको भएपनि अधिकमास र तिथिको संयोग मिलाएर जन्मदिन कात्तिकमा मनाउने गरिन्छ ।

आफ्नो जीवनकालमा गुरु नानक भगवानले कुनैपनि मानिसलाई आफ्नो र पराईको नसम्झने धारणा राख्थे । उनको विचारमा भगवानले पूजा गरेकै आधारमा कसैलाई पनि आफ्नो नसम्झने र पूजा नगरेकै आधारमा कसैलाई भेदभाव गर्दैन । भगवानसँगको विश्वासभन्दा आफ्नो कर्ममा धेरै विश्वास गर्नुपर्ने ज्ञान उनले दिएका थिए । अहंकार, क्रोध, लोभ, आशक्ति र अभिलाषालाई जीवन बर्बाद गर्ने कारकको रूपमा उनले वर्णन गरेका छन् । प्रत्येक मानिसलाई यस्ता कारकहरुसँग टाढा रहन उनले सल्लाह दिए । उनले जातिगत पदानुक्रम समाप्त गर्ने, सबै कानूनहरु महिलाका लागि समान रहेको धारणा बताउनुका साथै सतिप्रथाको पनि विरोध गरेका थिए ।

जब समाजमा कपट, अन्धविश्वास र धेरै असमाजिक कुप्रथाको वातावरण खडा भएको थियो । असमानता, छुवाछुत र अराजकताको वातावरण फस्टाएको नाजुक समय (सन् १४८७) मा गुरु नानकले आध्यात्मिक चेतनालाई मूलधारमा ल्याउन यथासक्दो प्रयास गरेका थिए ।

सोही सिद्धान्तको नेपाल प्रवेश

उनको यही सिद्धान्तपछि गएर धर्मशास्त्र बन्न पुग्यो । अहिले उनको सो सिद्धान्तलाई झण्डै पौने ३ करोड मानिसले मान्ने गरेका छन् । सो मध्ये २ करोड जति जनसंख्या भारतमा मात्रै रहेको छ ।

नेपालको जनगणना २०६८ अनुसार नेपालमा शिखहरुको कूल संख्या जम्मा ६०९ जना छ । विशेषगरी व्यापार र सेवा क्षेत्रमा काम गर्नको लागि नेपाल आएकाहरु यतै बसोबास गरेर नेपाली नागरिकता लिएकाहरुको हो यो संख्या पनि । जंगबहादुर राणाकै पालादेखि शिखहरुको नेपाल आवतजावत रहेको भएपनि सन् १९३१ मा तत्कालीन सरकारले सरदार मनोहर सिंहलाई पानीको योजनाको लागि नेपाल बोलाएपछि नेपालमा शिखहरुको बसोबास सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment