Comments Add Comment

करमैत्री यात्रा : धोती-कुर्तामा झुल्किए हाँस्य कलाकार

२७ कात्तिक, वीरगञ्ज । पछिल्लो समयमा नेपालका चर्चित कलाकारहरु वीरगञ्ज आउँदा गम्छासहित धोती कुर्तामा झुल्कने गरेका छन् । करमैत्री यात्रा मार्फत देश दौडाहामा निस्किएका सिस्नुपानी नेपालका हाँस्यकलाकरहरु बुधबार धोती कुर्तामा देखिए ।

आन्तरिक राजश्व विभाग काठमाडौंको आयोजनामा वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम राखिएको थियो । हाँस्यकलाकारहरु मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धिरेन्द्र प्रेमर्षी, शिशिर योगी लगायत सेतो रङगको धोती, कुर्ता र गम्छामा झुल्किए ।

किन धोती-कुर्तामा त मनोज दाई ?

‘धर्ती हाम्रो घर, आकाश हाम्रो छाना–छानामुनि बरोबरी, हामी सबै जना’ प्रश्न भूँईमा खस्न नपाउँदै मनोज गजुरेलले जवाफ दिए ।

जुन गजुरेलले स्वयंले लेखेको ‘सिंगो धर्ती’ कविताको अंश थियो । जसको अर्थ सजिलै बुझ्न सकिन्छ । ‘मधेसी, पहाडी, हिमाली, हामी सबै नेपाली, सबै समान छौं, एउटै परिवारका सदस्य हौं ।’ कवितामा त उनले पूरै विश्वका मानिस बराबर भएको सन्देश दिन खोजेका छन् ।

भेषभुषाप्रति गरिएको सम्मानलाई यस क्षेत्रका नागरिकले पनि सकारात्मक रुपमा लिने गरेका छन् । नेकपाका युवा नेता अरविन्द सिंह कलाकारले धोती कुर्ता लगाएर सामाजिक एकताको सन्देश दिन खोजेको बताउँछन् । ‘धोती, कुर्ता, गम्छा मधेसको पहिचान हो, विगतमा राजनीतिक नेतृत्वले यसो गर्थे तर नेताले गर्दा नाटकको रुपमा लिइन्थ्यो । तर कलाकार सबैका साझा हुन्छन् । धोती कुर्ता गम्छा लगाएर कलाकारले मधेसको पहिरन प्रतिको सम्मान दर्शाए ।’ उनले भने ‘ यसले फरक–फरक समुदायका बेग्दा बेग्लै पहिचान, भाषा र सँस्कृति छन तर यो हामी सबैको साझा हो । यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन्छ ।’

पछिल्ला दिनमा शहरका मानिसले धोती कुर्ता लगाउन छोडेको र ग्रामिण क्षेत्रका पुराना पुस्ताले मात्रै पहिचान धानेको उनको भनाई छ ।
सामाजिक एकताकै सन्देश दिन कात्तिक २२ गते वीरगञ्जमा आयोजित सप्तरंग श्रृंखलामा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल धोती कुर्तामा देखिएका थिए ।

यो पनि पढ्नुहोस जब धोती-कुर्तामा देखिए राजेश हमाल

कर मैत्री यात्रा कात्तिक २१ गते बनेपाबाट सुरु भएको हो । ललितपुर, विर्तामोड, विराटनगर, जनकपुर हुँदै टोली बुधबार वीरगञ्ज आइपुगेको आन्तरिक राजश्व कार्यालय वीरगञ्जका कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए । यात्रा अन्तर्गत बिहीबार हेटौंडामा कार्यक्रम राखिएको छ । चितवन, बुटवल, दाङ, सुर्खेत, धनगढी, नेपालगञ्ज पोखरा हुँदै मंसिर ७ गते काठमाडौंमा पुगेर यात्रा टुंगिन्छ ।

करले जनतालाई रुवाएको गुनासो आउने गरेकोमा कर यात्रामा हाँस्य कलाकारहरुले सहभागीलाई पेट मिचीमिची हँसाउने गरेका छन् । विदेशीले दिएको अनुदानले मात्रै मुलुक समृद्ध नबन्ने भएकोले इमान्दारीपूर्वक कर तिर्न उनीहरुले आग्रह गर्ने गरेका छन् । कर सही ठाउँमा सदुपयोग भएको छ कि छैन भनेर खबरदारी गर्नुपर्नेमा उनीहरुको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment