Comments Add Comment

आबुधाबीमा नेपाली चित्रकलाको आकर्षण

युएई । आवुधाबीस्थित अटिज्म सेन्टरमा चार दिनसम्मका लागि आइतबारदेखि विभिन्न देशका बालबालिकाले बनाएका चित्रकला प्रदर्शन भएको छ । प्रदर्शनीमा नेपालका बालबालिकाले बनाएका चित्रहरुको बेग्लै आकर्षण रहृयो ।

चित्रकला प्रदर्शनी बुधबार सम्पनन भएको छ । नेपाली बालबालिकाले बनाएको चित्रकला हेर्न पाउँदा युएईका नेपाली हषिर्त देखिन्थे ।

नेपालसहित विश्वका १२४ मुलुकका बालबालिकाले बनाएका चित्रकलाहरु युएईमा प्रदर्शन गरिएको हो । ६ देखि १२ वर्ष उमेरका नेपाली बालबालिकाले बनाएका ३० वटा चित्रहरु त्यसमा समावेश गरिएको थियो ।

नेपालका चार विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका चित्रहरु प्रदर्शनीमा समावेश गरिएको थियो । ललित सेकेन्डरी, आदर्श विद्या सदन, रिजेन्ट र योङ पिकासो कम्युनिटी स्कूल अफ फाइन आर्टका विद्यार्थीको चित्रकलालाई प्रदर्शन गरिएको हो । प्रदर्शनीको संयोजन बालचित्रसम्बन्धी अन्तर्राष्ट्रिय संस्था कलर फर पिसले गरेको थियो ।

कलर फर पिसका नेपाल प्रमुख तथा वरिष्ठ चित्रकार अजय देशारले संसारमा शान्ति चाहिन्छ भन्ने मूल नाराका साथ कोरिएका चित्रहरु प्रदर्शन गरिएको बताए । ‘बालबालिकाको मनोभावलाई चित्रमा उतारेर विश्वमा शान्तिको सन्देश दिन खोजिएको छ,’ उनले भने, ‘चित्रहरुले नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि सहयोग पुग्नेछ ।’

अन्तर्राष्ट्रिय स्तरको चित्रकलामा नेपालको उपस्थितका लागि राज्यको सहयोग नरहेको उनको गुनासो छ । राज्यले यसलाई प्राथमिकता दिएमा नेपाली बालबालिकाको क्षमता वृद्वि हुनुका साथै थप उत्प्रेरणा जगाउने उनले जनाए ।

आयोजक संस्था कलर फर पिस अर्जेण्टिनाकी मुख्य प्रतिनिधि मरियाका अनुसार नेपाली बालबालिकाले बनाएको शान्तिको सन्देशसहितका चित्र नै प्रदर्शनीको मुख्य आकर्षण थियो ।

कलर फर पिसले हरेक वर्ष विभिन्न देशका बाल चित्रकारले बनाएका चित्र प्रदर्शनी गर्दै आएको छ । आबुधाबीमा प्रदर्शन गरिएका यी चित्रहरु नेपालमा सन् २०२० को फेब्रुअरीमा हुने अन्तर्राष्ट्रिय चित्र प्रदशनीमा समेत राखिने जनाएको छ ।

आबुधाबीपछि आगामी वर्ष रोममा हुने चित्रकला प्रर्दशनीमा पनि नेपालले सहभागीता जनाउने देशारले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment