Comments Add Comment
मेरो कथा :

केही सपना पूरा भए, केही अधुरा छन्

‘आमाको हौसलाले शक्ति प्राप्त हुन्छ ’

मन उद्वेलित छ । कारण अरु केही होइन, नजिकै आएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता बाहेक । राष्ट्रिय खेलाडी हुनुको वास्तविक दबाव यतिबेला नै महसुस हुँदो रहेछ ।

मनभित्रको उथलपुथल सम्हाल्दै नियमित अभ्यास गरिरहेको छु । अनेकन कौतुहलहरु त जाग्छन् नै । मंसिर १५ देखि २४ गतेसम्म हुने १३ औं सागको लागि हिटिङ स्वीमिङ पुल तयार हुन्छ कि हुदैन ? सागमा नेपालको प्रदर्शन कस्तो हुन्छ ? मेरो कस्तो होला ? नेपालले साग कतिको भव्य र सभ्य बनाउन सक्छ ?

यस्ता जिज्ञासा मजस्तै अरु खेलाडीको मनमा पनि आएकै हुनुपर्छ । अब मोटामोटी १५ दिन त बाँकी छ साग सुरु हुन् । तर, अझै पनि पूर्वाधारका धेरै कुराहरु अनिश्चित छन्, जुन दिक्कलाग्दो विषय हो । खैर, हामी आशावादी हुनुपर्छ । सबै कुरा राम्रो होस् ।

०००

१३औं सागबाट बाहिर निस्केर एकछिन पुराना दिनमा फर्किन्छु । धेरै कुरा छन्, सुनाउन योग्य । सुरुवात चाहिँ मैले तोडेको राष्ट्रिय कीर्तिमानबाट गर्न मन लाग्यो ।

सन् २०१७ मा हंगेरीको बुढापेष्टमा भएको विश्व च्याम्पियनसिपमा जहाँ मैले राष्ट्रिय कीर्तिमान तोडेको हुँ । च्याम्पियनसिपमा जानुअघि मैले नयाँ कीर्तिमान बनाउने कुरा सोचेकै थिइनँ । आफ्नो व्यक्तिगत प्रदर्शन सुधार्ने मात्र लक्ष्य थियो । तर नसोचेको उपलब्धि हात पारेँ ।

यो प्रतियोगिताको झझल्कोले निकै आनन्दित तुल्याउछ मलाई । टाइमिङ त मेरो यो प्रतियोगिताभन्दा पनि अघि राष्ट्रिय रेकर्ड नजिक नजिक नै थियो । बटरफ्लाई ५० मिटरमा योभन्दा अघि २८ः६५ मिनेटको राष्ट्रिय किर्तिमान थियो । मैले २८ः२६ मिनेटको नयाँ कीर्तिमान राखेँ । त्यो बेला विश्व च्याम्पियनसिपमा म र सुभम श्रेष्ठ थियौं । उनले पनि नयाँ राष्ट्रिय कीर्तिमान राखेका थिए ।

मैले अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेको धेरै भएको छैन । सन् २०१६ मा भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता खेलेको थिएँ । यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यसैले निकै नर्भस भएको थिएँ ।

१२ औं सागमा म पर्छु भन्ने आश नै थिएन । किनकी त्यो बेला निकै राम्रा खेलाडीहरु हुनुहुन्थ्यो । १२औं सागको लागि भएको छनोटमा म ब्याक स्ट्रोकमा दोस्रो भएको थिएँ । शिरिष गुरुङ पहिलो । उहाँ फ्रिस्टाइलबाट सागमा खेल्ने भएपछि मैले मौका पाएँ । यो मेरो लागि एउटा सुनौलो अवसर थियो ।

नयाँ खेलाडी भएपछि मनमा अनेकथरीका कुराहरु खेल्दो रहेछ । सुरुमा त कसरी टिममा परेँ जस्तो लागेको थियो । खुशी त लाग्ने नै भयो । डरसँगै उत्साह र उमंग त थियो नै । विदेशी खेलाडीसँग आफ्नो क्षमता मापन गर्नका लागि पनि म उत्साहित थिएँ ।

१२औं सागमा मैले ५० र १०० मिटर ब्याक स्ट्रोकमा भाग लिएको थिएँ । रिले पनि खेलेँ तर सोचेको जस्तो टाइमिङ आएन । सायद म निकै नर्भस भएर होला । मेरो पर्सनल टाइमिङ सुधार त भयो तर सोचेको जस्तो चाहिँ भएन ।

०००

२०१८ मा चीनमा विश्व च्याम्पियनसीप भएको थियो । यहाँ पनि मैले सर्ट कोर्समा दुई वटा इभेन्ट्समा कीर्तिमान राखेर फर्किएँ । बटरफ्लाई ५० र १०० मिटरमा राष्ट्रिय कीर्तिमान कायम गरेको थिएँ ।

तर २०१८ मै इन्डोनेसियामा भएको एसियन गेम्स भने खेल्न पाइनँ । फिना पोइन्टमा म तीन अंकले पछि परेँ । यस्तो बेला दुःख त लाग्दो रहेछ । तर एउटा इख भने जाग्दो रहेछ । आगामी खेलमा जसरी भए पनि जितेर जान्छु भन्ने हुदो रहेछ ।

अरु निकै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेको छु । प्रदर्शन एकनासको हुँदैन । कुनै बेला सोचेको भन्दा राम्रो हुन्छ भने कुनै बेला खस्किन्छ । यसको पछाडि धेरै कारणहरु छन् ।

मुख्य कारण हो मौसमी अभ्यास । हामी गर्मी मौसममा मात्रै स्वीमिङ अभ्यास गर्छौ । हामीसँग हिटिङ स्वीमिङ पुल नै छैन । निजी होटलहरुमा विस्तारै हिटिङ स्वीमिङ पुल निर्माण हुदैछ भने सरकारले सातदोबाटोमा १३औं सागकै लागि भनेर हिटिङ स्वीमिङ पुल निर्माण गरिरहेको छ ।

योभन्दा पहिले हामीले वर्षमा ६ महिना मात्रै अभ्यास गर्न पाउथ्यौं । ६ महिनासम्म अभ्यास नै नगरी बस्दा आफ्नो स्टामिना त्यसै घट्छ । शून्यमा झरिसकेको हुन्छ । गर्मी लागेपछि हामीले शून्यदेखि नै अभ्यास थाल्नु पर्ने भएकाले पनि हाम्रो नतिजामा प्रभाव पर्छ ।

मेरो मुख्य लक्ष्य भनेको नै ओलम्पिक हो । यो २०२० ओलम्पिक नहुन सक्ला, तर २०२४ को ओलम्पिक खेलेरै छाड्छु । त्यस्तै, २०२२ मा हुने एसियन गेम्स खेल्ने पनि मेरो सपना हो ।

यी दुईवटै प्रतियोगितामा अर्जुनदृष्टि राखेर अघि बड्नु छ । त्यसैले जसरी हुन्छ अहिलेदेखि नै मिसन बनाएर अघि बढ्ने छु । मसँग चार वर्ष समय छ यो अवधिमा सक्छु जस्तो लाग्छ ।

०००

थुप्रै राष्ट्रिय प्रतियोगिताहरु खेलेको छु । राष्ट्रिय प्रतियोगिताहरुमा निकै कडा प्रतिस्पर्धा हुन्छ । गत बैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कुरा गर्छु ।

आठौं खेलकुदमा मैले बटरफ्लाई १०० मिटरमा स्वर्ण पदक जितेँ । मैले स्वर्ण जित्दा नेपाली सेनाका सायद हाम्जा शाह दोस्रो स्थान हासिल गरेका थिए ।

बटरफ्लाई २०० मिटरमा म दोस्रो भएको थिएँ । पहिलो नाथन दोर्जे शेर्पा भए । त्यस्तै, बटरफ्लाई ५० मिटरमा पनि म दोस्रो भएँ भने पहिलो सायद हाम्जा शाह भए । फ्रिस्टाइल रिले ४ गुणा १०० मिटरमा रजत पदक जितेँ । फ्रिस्टाइल १०० मिनेटमा म तेस्रो भए एलेक्स पहिलो हुँदा सायद हाम्जा शाह दोस्रो भएका थिए ।

फ्रिस्टाइल ५०, इन्डिभिजुएल २०० मिटर र आईएम रिले ४ गुणा १०० मिटरमा मैले कास्य पदक जितेँ ।

घरेलु प्रतियोगिताहरुमा मेरो मुख्य चुनौती भनेकै शायद हाम्जा र नाथन दोर्जे हुन् । आठौं राष्ट्रिय खेलकुदमा पनि मैले एउटा विधामा मात्रै स्वर्ण जित्दा अरुमा नतिजा शायद र नाथन तथा एलेक्सलाई सुम्पिएको छु ।

अन्तर्राष्ट्रिय स्तरमा राम्रो गर्नका लागि मैले राष्ट्रिय स्तरमा राम्रो गर्नै पर्छ । त्यही अनुसारको तयारी गर्नै पर्छ ।

०००

अब हामीसँग १३औं सागको लागि कति पनि समय छैन । सागको लागि भनेर कालोपुलिस्थत एउटा प्राइभेट क्षेत्रको स्वीमिङमा हामीले निकै लामो समय अभ्यास गर्‍यौं । अहिले हामीले लिंकन स्कुलको स्वीमिङ पुलमा तयारी गरिरहेका छौं ।

हिटिङ स्वीमिङ पुल नै हो । त्यसैले अभ्यासमा खासै समस्या त छैन । विहान पाँच बजेदेखि अभ्यास सुरु हुन्छ । साढे सात बजे हामी फर्किन्छौं । अहिले दिनमा दुई पटक अभ्यास भइरहेको छ । यो पटक सर्ट कोर्समा स्वीमिङ प्रतियोगिता हुने भएकाले पनि केही फाइदा पुग्छ जस्तो लाग्छ ।

मेहेनत गरेअनुसार त राम्रो नतिजा आउनै पर्ने हो । मैले बटरफ्लाईतर्फ ५० र १०० तथा १०० फ्रिस्टाइल र रिलेहरुमा खेल्नेछु । म सागमा कास्य पदकसम्मको आशामा छु । स्वर्ण पदक र रजत पदक जित्न त निकै कठिन छ । स्वीमिङमा हेर्ने हो भने भारत र श्रीलंका निकै माथि छन् । उनीहरुको प्रदर्शन सधै राम्रो नै हुने गर्छ । हाम्रो प्रतिस्पर्धा भनेको पाकिस्तान, बंगलादेश, भुटान र माल्दिभ्ससँग कास्यका लागि मात्रै हो ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको लक्ष्य अक्सर राष्ट्रिय कीर्तिमान राख्ने वा आफ्नो व्यक्तिगत टाइमिङ सुधार गर्ने मात्रै हुन्छ । मेडल नै जित्छु भन्ने कमैले सोचेका हुन्छन् । हामी दक्षिण एसियाली स्तरबाट माथि उठ्न सकेका छैनौं ।

०००

घरमा अहिले आमा, हजुरआमा र म छौं । दाइदिदी हुनुहुन्छ तर आफ्नै आमाको होइन । उहाँहरु मेरो बाबाको जेठी श्रीमतीका सन्तान हो ।

म जन्मिएको चाहिँ बेल्जियममा हो । त्यहाँबाट जन्मेको २ महिनापछि बाबा आमाले मलाई नेपाल ल्याउनु भयो । घुम्न गएको बेलाविदेशमा म जन्मिएको भनेर आमाले मलाई सुनाउनु हुन्छ ।

आमा सानु राजभण्डारी र बाबा प्रेम सुब्बाको एक्लो छोरा हुँ म । २ वर्ष भयो बाबा वित्नु भएको । तर बाबा र आमा पहिलेदेखि नै सँगै बस्नु भएन । म दुई वर्षको हुँदादेखि नै बाबा र आमा छुटिनु भएको रहेछ । के कारणले छुट्टिनु भयो त्यो मलाई थाहा छैन ।

मलाई आमाले नै हुर्काउनु भयो । बाबा र आमाको माया उहाँले नै दिनुभएको छ । मेरा हरेक इच्छाहरु पूरा गरिदिनु भएको छ, त्यसैले म खुशी छु ।

स्कुलमा पढ्दा फुटबल लगायतका अन्य खेलकुदहरु हुन्थे । तर मलाई फुटबल खेल्न नै आउँदैनथ्यो । म बल हान्न पनि जान्दिनथेँ । आमाले केही न केही गरेर बस, त्यतिकै समय खेर नफ्याँक भन्ने गर्नुहुन्थ्यो ।

म पढाईमा पनि एकदमै राम्रो विद्यार्थी थिइनँ । घरमा खासै नपढ्ने । जति पढ्थेँ स्कुलमै । त्यसैले पनि आमाले मलाई खेलकुदमा लगाउन चाहनुहुन्थ्यो । उहाँको इच्छाअनुसार नै म ९ वर्षको हँुदादेखि स्वीमिङ सिक्न थालेको हुँ ।

दशरथ रंगशालाको परिसरमै रहेको स्वीमिङ पुलमा मलाई आमाले लानु भएको थियो । सिक्दै गरेको २–४ दिनपछि त्यहीँको प्रशिक्षक रविन्द्रनाथ पौडेलले मलाई देख्नु भएछ । उहाँले आमालाई भनेपछि आमाले पनि अनुमति दिनुभयो । त्यसपछि उहाँले मलाई सिकाउनु थाल्नुभयो ।

तर १–२ हप्ता त मलाई स्वीमिङ पुल जानै जाँगर चलेन । एकदमै डर लाग्थ्यो । किनभने निकै गहिरो हुन्थ्यो । डुब्छु कि झैं लाग्ने ।

यसरी दिनहरु वित्दै गर्दा विस्तारै पौडी पोखरीसँग नजिकिदै गए । राम्रो गर्दै गएँ । यसरी नै वित्यो पहिलो वर्ष । दोस्रो वर्षमा प्रवेश गरेपछि चाहिँ अब राम्रो तरिकाले खेल्नु पर्छ भन्ने भाव जाग्यो । त्यसरी नै खेल्दै गए ।

सिक्न थालेको तेस्रो वर्षमा पुगेपछि मात्रै मैले मेडलहरु जित्न थाले । चौथो वर्षमा प्रवेश गरेपछि चाहिँ मैले स्वर्ण पदक पनि जित्न थालेँ । देवेस मानन्धरलाई राष्ट्रिय प्रतियोगितामा पराजित गर्दै मैले स्वर्ण पदक जितेको थिएँ । ओपनमै मैले स्वर्ण पदक जित्न थालेपछि अब चाहिँ केही गर्न सक्छु कि भन्ने आँट आएको हो ।

०००

पढाईमा मैले १२ कक्षा सकाएको छु । यो १३ औं सागको तयारीका कारण पढाई अवरुद्ध भइरहेको छ । साग सकेपछि फेरि कलेज जान थाल्नेछु ।

तर म सकेसम्म अनलाइन पढ्छु होला । मैले पढ्ने विषय पनि यहाँ छैन । मैले पढ्न खोजेको स्पोर्टस् म्यानेजमेन्ट हो । स्नातक तहमा यो विषय नै रहेनछ नेपालमा । मास्टर्समा चाहिँ टियुमा रहेछ ।

अहिले म १७ वर्षको भएँ । अझै ७–८ वर्ष खेल्छु होला । त्यसपछि के भन्ने आउँछ । त्यसैले मैले स्पोर्टस् म्यानेजमेन्ट पढ्न लागेको हो । खेलकुदमै केही गर्ने लक्ष्य बनाएको छु ।

यहाँ धेरै खेलाडी खेलकुदमा वित्थामा लागेछु भन्छन् । तर मलाई भने त्यस्तो लाग्दैन । खेलकुदमा लागेकोमा गौरव गर्छु । मेरो निश्चित उद्देश्यहरु तय भइसकेका छन् । कतिपय सपनाहरु पूरा गरिसकेको पनि छु । धेरै बाँकी छन् ।

यहाँ साथीहरु १२ सकेर के गरौं ? के गरौं ? भनेर बसिरहेका हुन्छन् । यदि म स्वीमिङमा नलागेको भए त्यस्तै गन्तब्यहीन हुने थिएँ होला । तर खेलकुदले मलाई एउटा निश्चित गन्तब्य दिएको छ । सपना दिएको छ ।

मेरो लागि स्वीमिङ एउटा नसा हो । कसैले छोड भनेर दबाब दियो भने पनि सक्दिन । अब जाडोले खेल्न नसक्नु अर्को कुरा होला, तर स्वीमिङमै रमाउँछु । पानीभित्रै खेलिरहनु मन लाग्छ । अभ्यासहरु मिस गर्न मन लाग्दैन ।

अहिले आमा पनि निकै खुशी हुनुहुन्छ । आमाले मलाई हरेक दिन आत्मविश्वास बढाउने कुराहरु गर्नुहुन्छ । सधै भन्नुहुन्छ कि यो पटक चाहिँ स्वर्ण पदक जित्नु पर्छ । उहाँको कुराबाट म निकै शिक्षा पाउछु । आमाको हौसलाले थप शक्ति प्राप्त गरेको महसुस हुन्छ ।

प्रस्तुति : सरोज तामाङ

तस्वीर र भिडियो : चन्द्रबहादुर आले

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला  ‘मेरो कथा’को ६२ औं अंकमा यो हप्ता पौडी खेलाडी अनुभव सुब्बाको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment