News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले हङकङ सिक्सेस क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
- शरदले सामाजिक सञ्जालमा 'साइनिङ अफ' लेख्दै सन्यास लिएको जानकारी दिएका छन्।
- शरदले सन् २००२ मा यु-१५ र २००४ मा सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए र दुई दशकभन्दा बढी नेपाली क्रिकेटमा योगदान दिएका छन्।
२३ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटपछि उनले सन्यास लिएका हुन् ।
यसअघि नै शरदले यस प्रतियोगितापछि सन्यास लिने जानकारी दिइएको थियो । हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएपछि उनलाई ‘गार्ड अफ अनर’ सम्मान दिइयो । शरदले पनि सामाजिक सञ्जालमा स्टाटस राख्दै ‘साइनिङ अफ’ भनेर लेखेका छन् ।

प्रतियोगिताका लागि शरद कप्तान तोकिएपनि उनले समूह चरणका दुवै खेल खेलेनन् । त्यसपछि बाउल लिगको पहिलो खेलमा श्रीलंकाविरुद्ध खेलेका उनी १ रनमै आउट भए । भारत र यूएईविरुद्ध पनि शरदले खेलेनन् ।
श्रीलंकासँगको खेलबाहेक अन्य खेलमा सन्दीप जोराले नेपालको कप्तानी गरे। जोराले शरदप्रति सम्मान प्रकट गर्दै नेपाली क्रिकेटमा दिएको योगदानका लागि धन्यवाद दिएका छन् ।
३७ वर्षीय शरदले सन् २००२ मा नेपाली यु-१५ राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए भने २००४ मा युएई विरुद्ध सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए ।
सन् २०१४ मा पहिलो पटक नेपाललाई टी-२० विश्वकपमा छनोट गराउन अविस्मरणीय प्रदर्शन गरेका उनले २०१४ को नेपालको पहिलो टी-२० विश्वकप सहभागितामा खेलेका थिए ।
यस्तै सन् २०१८ मा नेपालको ओडिआई डेब्युमा पनि शरद टिमको सदस्य थिए । नेपाली क्रिकेटमा दुई दशकभन्दा बढी योगदान दिएका शरदले घरेलु क्रिकेटमा पनि आफ्नो कप्तानीमा विभिन्न उपाधिहरू जितेका छन् ।
सन् २०१४ मा शरदसँगै विश्वकप खेलेकामध्ये तत्कालीन पारस खड्का हाल नेपाल क्रिकेट संघ (क्यान)को सचिव छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल हाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक छन् । यस्तै विनोद भण्डारी र सोमपाल कामी अहिले पनि खेलमा सक्रिय छन् जहाँ सोमपाल नेपाली टोलीको नियमित सदस्य हुन् ।
प्रतिक्रिया 4