Comments Add Comment

तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

Photo Credit : Onlinekhabar/File

२९ कात्तिक, नेपालगञ्ज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ । आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो ।

तरुण दल बाँके जिल्ला समितिले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । हतियारसहित पक्राउ परेको भनिएका नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहलाई रिहा गर्न माग गर्दै तरुण दलले बन्द आह्वान गरेको हो ।

प्रहरीले उनको साथबाट हतियार बरामद भएको भने पनि तरुण दलले भने त्यो हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्ताहरुलाई फसाउने झूठो आरोप लगाइएको दाबी गर्दै आएको छ ।

तरुण दलको नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहसहित राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले यही कात्तिक १४ गते बाँकेको जानकी गाउँपालिका-६ गनापुरस्थित नमस्ते रिसोर्टबाट पक्राउ गरेको थियो ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिराखेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली बरामद भएको दाबी प्रहरीको छ ।

तरुण दलका नेताहरुले भने दशैंको बेला डिएसपी शाहीले खसी मागेको तर आफूहरुले नदिएको रिसमा लगाएर फसाएको आरोप लगाउादै आएका छन् । खसी मागेको अडियोसमेत सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment