+
+
Shares

भक्तपुर नगरका सबै वडामा निःशुल्क जिमखाना, बदलियो दैनिकी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते ११:२६
नगरपालिकाले बनाएको जिमखानामा जिम गर्दै स्थानीय । तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

२९ कात्तिक, भक्तपुर । हिजोआज भक्तपुर सिद्धपोखरी आसपास बस्नेहरुको दैनिकी बदलिएको छ । झिसमिसे बिहानीमै सिद्धपोखरी परिक्रमा र सूर्यदेवको दर्शन गरेर घर फर्किने धेरैलाई आजकल पोखरीको द्वारमै रहेको जिमखानाले भुल्याउँछ ।

जिमखाना सानै छ । उपकरण पनि त्यति धेरै छैनन् र पनि नगरपालिकाले दिएको उपहारको सदुपयोग गर्नेहरुको संख्या बढ्दो छ । कोही मर्निङ वाकबाट फर्कंदा आउँछन् भने कोही पहिले जिमखाना छिरेर सिद्धपोखरीतिर लाग्छन् ।

तिनैमध्येका एक दिनेश बोडे (३५)ले बिहान सवा पाँच बजेसम्ममा तीन पटक सिद्धपोखरी घुमेर जिमखाना पसिसक्ने रुटिन बनाएका छन् । ‘पहिले पोखरी परिक्रमापछि हल्का शारीरिक व्यायाम गरेर घर फर्किने गरेको थिएँ’, उनी भन्छन्, ‘नगरपालिकाले जिमखाना बनाइदिएपछि चाहिँ ४५ मिनेटजति यसको उपयोग गरेर र्फकन्छु ।’

सिद्धपोखरी नजिकै डेरा लिएका दोलखाका विष्णु श्रेष्ठ पनि नगरपालिकाले बनाइदिएको जिमखानाको नियमित उपयोग गर्नेमा पर्छन् । काठमाडौंमा काम गर्ने उनी भक्तपुर नगरपालिकाले कोठा नजिकै यस्तो निःशुल्क सुविधा जुटाइदिएपछि डेरा नसर्ने निर्णयमा पुगेका छन् ।

बिहान आठ बजेसम्म जिमखाना भरिभराउ हुने गरेको छ । वृद्ध, वयका र साना नानीबाबु लिएर आउने आमाबाबु आठ बजेसम्म पनि आइरहन्छन् । जिमखानाभित्र बुढापाका, महिला र बालबालिकादेखि तन्नेरीहरुसम्मका लागि शारीरिक व्यायामका उपकरणहरु राखिएका छन् ।

जिमखानामामै भेटिएका वडा नं ३ का शिवजी श्रेष्ठ -७५)ले सुरुदेखि नै यहाँ आउने गरेको बताए । ‘पहिला मेरो आफ्नै जिमखाना थियो, बुढेसकाल लागेसँगै त्यो बन्द भयो’, उनले भने, ‘करिब १० वर्षदेखि व्यायामको नाममा विहान मर्निङवाक मात्र गर्ने गरेकोमा अहिले नगरपालिकाको सुविधा लिने गरेको छु ।’

नगरबासीलाई स्वस्थ राख्ने उपाय

जनप्रतिनिधिहरु निर्वाचित भएर आएलगत्तै भक्तपुर नगरपालिकाले नगरवासीलाई पूरा गर्न नसकिने ठुल्ठूला सपना देखाउनुभन्दा शिक्षा, स्वास्थ्य, संस्कृतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजनाहरु लागू गरेको मेयर सुनिल प्रजापति बताउँछन् ।

मेयर सुनिल प्रजापति

उनका अनुसार, पहिले नगरबासीको स्वास्थ्य अवस्था बुझ्न घर-घरमा सुरु गरेको नर्सिङ सेवाको क्रममा रोगहरुको पहिचान गर्दा सरुवाभन्दा नसर्ने रोगले बढीलाई सताएको पाइएको थियो ।

‘मुटुरोग, क्यान्सर, मधुमेह, मिर्गौला रोग जस्ता समस्याको निदानमा नियमित शारीरिक व्यायाम गतिलो उपाय हो भन्ने भयो’, मेयर प्रजापति भन्छन्, ‘त्यसपछि रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिन हरेक वडामा जिमखाना खोल्ने निश्कर्षमा पुगियो ।’

उनका अनुसार, पहिलो चरणमा नगरपालिकाको भाइचा पोखरी, माहेश्वरी, डेकोचा लगायत पाँच ठाउँमा जिमखाना खोलियो । परीक्षणका लागि खोलिएका ती जिमखानामा वडाबासीको भीड भएपछि सबै वडामा यो सुविधा पुर्‍याएको मेयर प्रजापतिले बताए ।

दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मका उपकरण भएका जिमखानाहरुको रेखदेख गर्ने जिम्मेवारी सम्बन्धित वडाका खेलकूद समितिलाई दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?