Comments Add Comment

द भ्वाइस अफ बलबहादुर !

२९ कात्तिक, काठमाडौं । प्रख्यात लेखक हान्स क्रिश्चियन एन्डरसन भन्छन्, ‘जहाँ शब्दहरुले काम गर्दैन, त्यहाँ संगीत बोल्छ ।’

संगीत मौनताको आवाज हो । आवाजविहीनहरुको भाषा हो । त्यसैले यो सर्वप्रिय छ, सर्वस्वीकार्य छ । तर, बलबहादुर राजवंशीको जीवनमा संगीत त्यतिमात्र कहाँ हो र ?

संगीत उनको सपना हो ।

भनिन्छ,  ‘सपना त्यो हो, जसले सुत्न दिँदैन ।’ हो त, बलबहादुरलाई सधै जागा राख्ने त्यही संगीत हो । जतिबेला उनको कलिलो हृदयमा संगीतको झंकार गुञ्जियो, त्यही बेलादेखि उनी यसमा रत्तिन थाले ।

गीत-संगीतमा कसरी थाहै नपाई उनी समाहित भए ? सायद त्यो बाल्यकालको कुनै प्रभाव थियो कि ? त्यसो हुँदो हो त उनको घर-परिवार वा छर-छिमेकमा सांगीतिक माहौल हुन्थ्यो । बाजे-बराजु गिताङ्गे हुन्थे । आफन्त, नातेदार गानाबजानामा खप्पिस हुन्थे । तर, बलबहादुरको जगमा त्यस्तो कुनै माहौल थिएन, जसले उनलाई संगीतमा डोहोर्‍याएको होस् । त्यसो भए कसरी उनी गिताङ्गे निस्किए ?

‘सायद लहलहैमा लागियो’ उनी स्पष्ट छैनन्, ‘त्यो के कुरा थियो, जसले मलाई गीत गाउन उक्सायो ?’ सानै छँदाको धमिलो सम्झना छ । उनी गुनगुनाउँथे । दौंतरीसँग खेल्दा, बस्दा, रमाउँदा । यसरी थाहा नपाई उनलाई संगीतको मात चढ्यो । हुर्कंदै गए । गायकीमा अरु रस भिज्यो । तर, गाएर जीवन चल्ने भए पो ?

विद्यालयमा पढ्थे । बेलामौकामा गाउँथे । सहपाठीहरु हौसाउँथे, ‘तेरो स्वर गजब छ ।’ बलबहादुर फुरुंग । उनलाई आफैंप्रति विश्वास जागेर आउँथ्यो । सोच्थे, के म गायक हुन्छु ?

सामान्य परिवारको कान्छो छोरो । यसै पनि पुलपुलिएका, सबैको लाड-प्यारले । उद्युम चकचके थिए । बदमास थिए । जे देख्यो, चलाउने । फुटाउने । बिगार्ने ।

बुवा सानो छँदै बित्यो । बुढी आमा र दाजुहरुको रेखदेखमा हुर्किए । घर व्यवहार धान्नुपर्ने जिम्मेवारीको बोझ त उनीमाथि थिएन । तर, पढ्नुपर्ने र पढेर गरिखाने हुनुपर्ने अवस्था छँदै थियो । आफ्नो खुट्टामा आफैं उँभिन सक्ने बन्नु नै थियो ।

त्यसैले गीत संगीतले मनमा जरा गाडे पनि उनी यसमै आफूलाई खर्चन सक्दैनथे । पढाइ र करियरका लागि जीवनको पिङ जो मच्चाउनु थियो ।

००००

बलबहादुरको थातथलो झापा, जुरेपानी । गाउँकै विद्यालयबाट एसएलसी सकाएपछि उनी लागे, बिराटनगरतिर ।

बिराटनगर, जहाँ उनले करियरको सिँढी बनाउनु थियो । करियरको भर्‍याङ तयार गर्नु थियो । आफ्नो रुचिमा पखेटा हाल्नु थियो । घर बाहिरको यो खुला संसारमा उनी आफूलाई माझ्न सक्थे ।

उनी पुगे, कुशेश्वर राईकहाँ । साधना संगीतालय चलाइरहेका उनै कुशेश्वरले बलबहादुरलाई संगीतमा मेलो लगाइदिए । ‘कुशेश्वर गुरुबाट मैले शास्त्रिय संगीत सिकें,’ बलबहादुर पछाडि फर्केर सोच्छन्, ‘त्यसबेला मलाई लागिरह्यो कि मैले धेरै सिक्नुछ ।’

तर, गीत-संगीतमा रत्तिएर मात्र हुनेवाला थिएन । घरबाट बुढी आमा र दाजु-भाउजुले त उनलाई पढ्नका लागि पठाएका थिए । पढेर जागिरे बनाउनका लागि पठाएका थिए । उनले ल्याब टेक्निसियनको कक्षा लिए । त्यहीको नोबेल अस्पतालमा जागिरे पनि भए । जीवनमा एक किसिमको हाइसञ्चो थियो ।

पाँच वर्षसम्म उनी अविछिन्न संगीत-साधनामा लागे । एकातिर जागिर, अर्कोतिर पढाई । साथसाथै संगीत । सबै कुरालाई तालमेल मिलाएरै अघि बढे । यतिबेला उनलाई लाग्यो, कम्तीमा आफ्नै राजववंशी भाषाको गीत निकाल्नुपर्छ, गाउनुपर्छ ।

बलबहादुरले आफन्त, साथीभाइसँग सल्लाह गरे । राजवंशीको आफ्नै भाषा, आफ्नै मिठास । किन गीत नबनाउने ?

धमाधम राजवंशी भाषामा गीत कोर्न थाले । त्यसको धून खोज्न थाले । अन्ततः एकपछि अर्को गीत तयार भयो । गीत गाउदै गए, गाउँदै गए । राजवंशी भाषाकै करिब आधा दर्जन एल्बम तयार भयो । यसले उनलाई आफ्नो समुदायबीच नयाँ चिनारी दिलायो । आफ्नो गाउँ र समुदायमा सबैलाई थाहा भयो, बलबहादुरको स्वर चाहिँ मिठो छ ।

उनी राजवंशी भाषाको गीतमा मात्र सीमित रहेनन् । नेपाली भाषामा पनि गीत गाए, रेकर्ड गराए । स्थानिय क्षेत्रमा केही गीत रुचाइए पनि । त्यसपछि उनलाई स्टेजमा उक्लन उति पसिना काड्न परेन । चिने-जानेकाले कार्यक्रममा बोलाएर गाउन लगाए ।
स्टेजमा गाउन थालेपछि उनको पढाइ र जागिर धर्मरायो । जागिर जोगाउने कि आफ्नो रुचिमा फूलबुट्टा भर्ने ? उनले दुईमध्ये एउटा बाटो रोज्नुपर्ने बेला आइलाग्यो ।

अन्ततः उनले विराटनगरको चौध वर्षे बसाइमा पूर्णविराम लगाए । आठ वर्षे जागिरको माया मारे र पूर्णकालीन संगीतमा होमिए ।
औसत कदका । गोलाकार चेहेरा । हल्का लामो कर्ली कपाल । नछाँटिएको दाह्री जुँगा । बलबहादुर राजवंशीको सक्कल हो यो । यही सक्कल अहिले सार्वजनिक चिनारी बन्दैछ । झट्ट उनलाई देख्नेहरुले ठम्याइहाल्नेछन्, ‘उनी त फलानो होइनन् ?’

हिमायलन टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी संगीत प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’मा यतिबेला बलबहादुरको यात्रा जारी छ । ‘संगीतमा केही गर्छु’ भनेर उनी ११ महिनाअघि काठमाडौं आएका थिए । यो ११ महिने बसाइमा यस्तो संयोग जुर्‍यो, जसले उनलाई भ्वाइस अफ नेपालको स्टेजसम्म ल्याइपुर्‍यायो ।

डिजिटल राउन्डमा छनौट भएपछि उनले पछाडि फर्केर हेर्नुपरेन । एकपछि अर्को चरण पार गर्दै आजको दिनसम्म उनी छाइरहेका छन् । भोलिको दिनमा के होला ? यात्रा कुनै मोडमा पुगेर टुंगिनेछ वा शीर्ष उपाधि हात लाग्नेछ ? त्यसको लेखाजोखामा पुगिसकेका छैनन् उनी । तर, आज जहाँसम्म आइपुगेका छन्, त्यसले उनको सपनामा पखेटा भने हालिदिएको छ ।

अब उनी आफैं उडान भर्न सक्छन् । त्यसैले निर्धक्कसाथ भन्छन्, ‘भ्वाइस अफ नेपालको प्लेटफर्म पाउनु नै मेरो करियरको टर्निङ प्वाइन्ट हो । हिजो दर्जनौं गीत गाएर पनि मलाई मान्छेले चिन्दैनथे । आज सबैसामु मेरो चिनारी बनिसकेको छ ।’

महान् दाशर्निक प्लेटो भन्छन्, ‘संगीत एक नैतिक नियम हो । यसले आत्मालाई ब्रह्मान्ड, दिमागलाई पखेटा दिन्छ । कल्पनाको उडान भरिदिन्छ । र, जीवनको हरेक चिजलाई आकर्षण र भव्यता दिलाउँछ ।’

बलबहादुर राजवंशीलाई संगीतको यो आयम कति बोध छ ? थाहा छैन । यद्यपि संगीतले उनको जीवनलाई एउटा लयमा डोर्‍याएको छ । त्यसमा उनी सूर-ताल मिलाउँदैछन्, धून भर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment