Comments Add Comment

शेरमानलाई भोट मागेपछि नेकपाका दुई नेतामाथि कारवाही

शेरमान घर्ती

२९ कात्तिक,काठमाडौं । उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिसकेका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई कारवाही गरेको छ ।

पार्टीका जिल्ला तहका नेता तुलसीराम अर्याल र दधिराम अर्याललाई शेरमानको उम्मेदवारी कायमै रहेको भन्दै उनले पाएको चुनाव चिह्न क्लिप दुरुपयोग गरेकाले कारवाही गरिएको नेकपाले जनाएको छ ।

नेकपाले शुक्रबार तुलसीरामलाई पार्टी सदस्यबाट निलम्बन र दधिरामलाई पार्टी सदस्य नरहने गरी निश्कासन गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

उम्मेदवारी फिर्ता लिने दिन ढिलो पुगेपछि प्राविधिक कारण घर्तीको चुनाव चिह्न मतपत्रम यथावत छ । यद्यपी उनले पत्रकार सम्मेलन गरेर आफू उम्मेदवार नरहेको भन्दै नेकपा समर्थित बामपन्थी उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन गरेका थिए । शाही राष्ट्रिय जनमोर्चाको गिलास चिह्नबाट उम्मेदवार छन् ।

उनीहरुमाथि शेरमानलाई बागी उठाउने, उम्मेदवारी फिर्ता नलिन दबाब दिने र हेलिकोप्टर लिन जाँदा पनि ढोका थुनेर राखेको आरोप लगाइएको छ । दधिराम अहिले पनि शेरमानको चुनाव चिह्न क्लिप बनाएर प्रचार प्रसारमा लागेपछि निश्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निश्कासनमा परेका दुवै नेता यसअघि नेकपा मसालमा थिए । तुलसीराम २०७० मा माओवादीबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए भने दधिराम नेकपा एमालेबाट गत चुनावमा प्रदेशसभामा सिफारिस भएका थिए । तर उनको ठाउँमा राष्ट्रिय जनमोर्चालाई छाडिएपछि उम्मेदवारी फिर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment