Comments Add Comment

आयातित तरकारीमा विषादी जाँच्न अत्याधुनिक प्रविधि जडान गरिदैं

वीररगञ्ज भन्सार ।

३ मंसिर, काठमाडौं । नेपालमा तरकारी र फलफूल आयात हुने भारत र चीनसँगको सीमानाकामा विषादी परीक्षण गर्न अत्याधुनिक प्रविधि जडान गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ वटा नाकामा त्यस्ता प्रविधि जडान गरिन लागेको हो ।

उपकरण खरिदका लागि प्रक्रिया अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

नयाँ जडान गरिने १२ मध्ये एउटा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा, ९ वटा नेपाल-भारत भन्सार नाकामा र दुई वटा नेपाल चीन सीमानाकामा जडान गरिने विभागले जनाएको छ । प्रवक्ता महर्जनका अनुसार उपकरण खरिदका लागि १० करोड हाराहारी खर्च लाग्ने छ ।

नयाँ प्रविधिमार्फत विषादी परीक्षणको तालिम दिन विभागले केही कर्मचारीलाई भारत पठाएको छ । गत असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने व्यवस्था गरेको थियो ।

नेपाल सरकारको उक्त कदमप्रति भारतले गम्भीर चासो व्यक्त गरे पछि उद्योग मन्त्रालयले व्यवहारिक कठिनाई भन्दै निर्णय फिर्ता गरेको थियो । नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भारतको दाबी थियो ।

नेपाल-भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निर्माणपछि मात्रै निकासी पैठारी नीति पूर्ण कार्यान्वयनमा लैजान मन्त्रालय तयार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment