Comments Add Comment

ह्वाइट हाउसका कर्णेलले भने– ट्रम्पले युक्रेनी समकक्षीसँग अनुचित आग्रह गरे

४ मंसिर, काठमाडौं । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी उच्च विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न युक्रेनी समकक्षीसँग आग्रह गरेको स्वीकारेका छन् । उनले एक कदमअघि बढेर युक्रेनी समकक्षीसमक्ष ट्रम्पले गरेको राजनीतिक आग्रह अनुचित भएको टिप्पणीसमेत गरेका छन् ।

गत जुलाईमा ट्रम्पले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेंस्कीसँग फोनवार्ता गरेका थिए । जसमा उनले डेमोक्रेटिक पार्टीका प्रतिद्वन्द्वी नेता जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न जेलेंस्कीलाई दबाव दिएको अभियोग डेमोक्रेटिक पार्टीसँगै अन्यले लगाउँदै आएका छन् । यसकै लागि युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोकिएको दाबी पनि ट्रम्पका आलोचकहरूको छ ।

ट्रम्पले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् । यद्यपि, ट्रम्पविरुद्ध संसदको तल्लो सदनले राष्ट्रपतिको अधिकार दुरुपयोग भए/नभएकोबारे अनुसन्धान तथा सुनुवाइ गरिरहेको छ ।

यही क्रममा संसदको तल्लो सदनले ह्वाइट हाउसमा कार्यरत एनएससीका युक्रेनसम्बन्धी उच्च विज्ञ लेफ्टिनेन्ट कर्णेल भिन्डमनसँग पनि बयान लिएको छ । युक्रेनी समकक्षीसँगको ट्रम्पको टेलिफोन वार्ता सुनेका भनिएका भिन्डमनले प्रतिद्वन्द्वीबारे कुराकानी भएको स्वीकारेका छन् । यद्यपि, उनले भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाब भने नदिएको दाबी गरेका छन् ।

‘आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध ट्रम्पले अनुसन्धानको माग गर्नु अनुपयुक्त विषय थियो’, संसदको गुप्तचरीसम्बन्धी समितिसमक्ष उनले भनेका छन् ।

भिन्डमनको जन्मभूमि युक्रेन हो । उनी ४० वर्षदेखि अमेरिका बस्दै आएका छन् । इराक युद्धमा योगदान पुर्याएको भन्दै सम्मानित उनले यस्तो बयान दिएपछि उनीविरुद्ध ह्वाइट हाउस खनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment