+
+
Shares

दैलेखमा जोडतोडले हुँदैछ पेट्रोलियम अन्वेषणको काम

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १३:३६

४ मंसिर, काठमाडौं । नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले ड्रिलिङ (जमिन प्वाल पार्ने काम) सुरु गरेको छ । सयभन्दा बढी कामदार अहिले दैलेखको पञ्चकोशीस्थित कार्यस्थलमा खटिएका छन् ।

चीनको ‘चाइना जियोलोजिकल सर्भे’ को टोलीले करिब २० वर्ग किलोमिटर क्षेत्रमा अन्वेषण सुरु गरेको हो । चिनियाँसँगै खानी विभागका प्राविधिक पनि यहाँ संलग्न छन् । काम सुरु भएसँगै पञ्चकोशी धार्मिक क्षेत्रमा अहिले चहलपहल बढेको छ । कोही कामदार मेसिन बोकेर कुदाकुद गरिरहेका देखिन्छन् भने कोही ड्रिलिङको काममा व्यस्त छन् ।

डुंगेश्वर गाउँपालिकाको गैरीमा कामदारहरुलाई अस्थायी बसोबासको प्रवन्ध गर्न क्याम्प खडा गरिएको छ । विभिन्न देशमा ‘चाइना जियोलोजिकल सर्भे’ अन्तरगत नै काम गरेका नेपाली कामदारहरुलाई अन्वेषणमा ल्याइएको छ । झण्डै ४० जनाको संख्यामा रहेका त्यस्ता कामदारहरुले अहिले दैलेखका ६० भन्दा बढी स्थानीय कामदारलाई तालिम पनि दिइरहेका छन् । उनीहरुलाई उपकरण सञ्चालन, व्यवस्थापन र प्रयोग र सुरक्षाबारे सिकाइँदै छ ।

गैरीमा बाहेक अन्य दुई स्थानमा पनि अस्थायी क्याम्प बनाइएको छ । यी क्याम्पमा काम गर्न भोजपुरसहित तराईका विभिन्न जिल्लाका प्राविधिक कामदारहरु पनि आएका छन् । थुप्रै ड्रिलिङ मेसिनहरु गैरीको क्याम्प नजिक राखिएका छन् । दैलेखका स्थानीय कामदारलाई पनि प्रशिक्षित गरेपछि ड्रिलिङको काम अझै तीव्र हुने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

के-के गरिँदै छ? 

अहिले ४ प्रकारका सर्भेको काम एकसाथ अघि बढाइएको विभागका अन्वेषण अधिकृत दिनेश गणेश त्रिपाठीले जानकारी दिए । उनका अनुसार सेस्मिक सर्भे र भू–भौतिक सर्भेको काम भइरहेको छ । यसअन्तरगत करिब ३ हजार स्थानमा ड्रिलिङ गर्नुपर्नेछ ।

ड्रिलिङपछि जमिनमुनिबाट प्राप्त हुने सिग्नललाई रिसिभरमार्फत ‘डाटा’का रुपमा संकलन गरिनेछ । यसकै आधारमा सो स्थानको भौगर्भिक अवस्था र पेट्रोलियम पदार्थको उत्खनन्को सम्भाब्यताबारे विश्लेषण गरिने विभागले जनाएको छ ।

त्यसैगरी ‘म्याग्नेटेरियल मेथड’ बाट गरिने पेट्रोलियम ‘जिओलोजिकल सर्भे’ को काम पनि सुरु भइससकेको छ भने ‘जिओकेमिकल सर्भे’ अन्तरगत विभिन्न स्थानको ढुंगाको नमूना लिने काम पनि थालनी भइसकेको त्रिपाठीले बताए । नेपाली सेनामार्फत विष्फोटक पदार्थ लिएर विस्तृत सर्भेको काम अघि बढाउन सबै खालको तयारी पनि सकिएको छ ।

प्रभावित गर्ने प्रयास

पेट्रोलियम अन्वेषणको काम सुरु भएपछि त्यसलाई प्रभावित गर्ने गरी केही उश्रृङ्खल व्यक्तिहरुले अवरोध पुर्‍याएका छन् । विभिन्न स्थानमा जमिन उत्खनन् गर्ने, चिन्हरु लगाउने काम गरिरहँदा खाल्डा पुरिदिने, ढुंगा हालेर भरिदिने चिन्ह मेटिदिने लगायतका काम भएको टोलीको गुनासो छ ।

यस्ता कामले प्राविधिक टोलीलाई काम गर्न असहज भएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले मंसिर १ मा स्थानीय गाउँ तथा नगरपालिकालाई पत्र लेखेर सहयोग गर्न आग्रह गरेको छ । स्थानीय गाउँपालिका तथा नगरपालिकाहरुले पनि अन्वेषण स्थलमा प्रवेश गरेर प्रभावित हुने गरी कुनै काम नगर्न स्थानीयलाई आग्रह गर्दै आएका छन् ।

चाइना जियोलोजिकल सर्भेको टोलीले गत आसार १३ गते दैलेख पुगेर पेट्रोलियम अन्वेषणको तयारी थालेको थियो । अध्ययनका लागि विभिन्न टोली बनाएर फरक–फरक स्थानमा एकसाथ काम अघि बढाइँदैछ ।

यसरी हुनेछ काम 
‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । यो सम्झौताको अवधि तीन वर्षको छ । चीनको विज्ञ टोलीले पहिलो चरण (१० महिना) मा तानसेन तथा दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रेलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो ।

योजनाअनुसार दोश्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । अहिले यही काम चलिरहेको हो । तेश्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने विभागले जनाएको छ ।

‘तोकिएका क्षेत्रहरुमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यवसायिक उत्पादनको सम्भाव्यता छ वा छैन भन्ने टुंगो लगाउँछौं,’ विभागका महानिर्देशक सोमनाथ सापकोटाले भने, ‘निकै जटिल भए पनि काम जतिसक्दो छिटो सक्ने गरी लागेका छौं ।’

तीन वर्षमा पूरा हुने अपेक्षा गरिएको अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोर्ने छ । सरकारले गत माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

०७२ को चैतमा नै यो कामका लागि चीन र नेपालबीच प्रधानमन्त्रीस्तरमा द्विपक्षीय समझदारी भएको थियो । त्यतिबेला पनि केपी ओली नै प्रधानमन्त्री थिए । यस समझदारीलाई कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त रुपमा कार्ययोजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?