
४ मंसिर, काठमाडौं । डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोपबारे छानविन गर्न गठित समितिमै विवाद भएको छ ।
एक महिनाको समयसीमा दिएर १८ कात्तिकमा समिति गठन गरिएकोमा छानविन सकिन नपाउदै विवाद भएको हो । राष्ट्र बैंकका एक सञ्चालकले छानविन प्रक्रिया नै सही नभएको प्रश्न उठाएका छन् ।
स्रोतका अनुसार छानविनमाथि नै प्रश्न उठाउदै राष्ट्र बैंकमा उजुरीसमेत परेको छ । उजुरी दर्ता भएपछि संयोजक श्रीराम पौडेलले समितिको संयोजक पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको आरोप लगाउदै अर्थमन्त्रालयले छानविन गरी कारबाही गर्न भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
अर्थ मन्त्रालयको पत्राचारपछि श्रेष्ठमाथि छानविन गर्न भन्दै राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसमा राष्ट्र बैंककै सञ्चालकहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् ।
अनलाइनखबरको सम्पर्कमा आएका संयोजक पौडेलले आफू राजीनामा दिने सोचमा भएको बताए । ‘निश्पक्ष ढंगले काम गर्न नपाउने विवाद हुने र उजुरी पर्ने भएपछि मलाई काम गर्न मन लाग्दैन’ उनले भने, ‘म भोलि काठमाडौं आउछु होला त्यसपछि राजीनामा दिनसक्छु ।’
आफू नेतृत्वको समितिले छानविन गरिरहेकै बेला विवाद सिर्जना गर्न खोजिएको उनले बताए । संयोजक पौडेलले भने, ‘जिम्मेवारी पाए पछि काम नगर्ने मान्छे म होइन तर बिवाद मुछिएर म काम गर्न सक्दिन ।’ यो समितिको प्रतिवेदनकै आधारमा श्रेष्ठमाथि कारबाही गर्ने बताइएको छ ।
नेपाली कांग्रेस निकट मानिने श्रेष्ठ ०७२ फागुनमा डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छ ।
यद्यपि, श्रेष्ठले भने उनीमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । गभर्नर हुनबाट रोक्न षड्यन्त्र गरिएको उनको दाबी छ ।
प्रतिक्रिया 4