Comments Add Comment

गोरखामा नगर बस सञ्चालन

५ मंसिर, गोरखा । गोरखा नगरपालिकामा नगर बस सेवा सुरु भएको छ । बिभिन्न रुटमा दश वटा बस सञ्चालन भएका छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सुरु गरेको सेवाको बिहीबार गोरखा नगर प्रमुख राजनराज पन्तले उद्घाटन गरे ।

घलाङ–नारेश्वर हुँदै नगरपालिकाको कार्यालय, छापथोकदेखी नगरपालिकाको कार्यालय, नगरपालिकाबाट फिनाम–ताप्ले हुँदै छापथोक र छेवेटारबाट नगरपालिकाको कार्यालयसम्मको रुटमा नगर बस सञ्चालन भएको प्रालिका क्षेत्रिय सदस्य विपिनचन्द्र ढकालले बताए ।

त्यस्तै गोरखकाली दरबार–सतिपिपल–पस्लाङ–रोहोटेपानी हुँदै नगरपालिका कार्यालय, देउरालीबाट नगरपालिका कार्यालय, पिपलथोक–पन्थेधारा–रानीवन हुँदै नगरपालिका कार्यालय, मान्द्रेढुङ्गा–गोरखा क्याम्पस–खिरेपानी हुँदै नगरपालिका कार्यालयसम्म नगर बस चल्ने उनले जानकारी दिए ।

ढुङ्गागाडे–आहाले–कट्टेलडाँडा हुँदै नगरपालिका कार्यालय, गोरखा बजार परिक्रमा र नगरपालिकाबाट बसपार्क–नारेश्वर–मेलबिसौना–डेरागाउँ–फिनाम हुँदै नगरपालिकाको रुटमा पनि सेवा सञ्चालन भएको उनको भनाइ छ ।

बिहान ८ बजेदेखी बेलुकी ८:३० बजेसम्म नगर बस सञ्चालन हुने उनले बताए । यात्रुलाई सहज होस् भनेर कुन सवारी कहाँ जाने भनेर गाडीको अग्र भागमा प्रष्ट देखिने गरी लेखिने उनले बताए । बस सञ्चालन भएका रुटका स्थानीयहरु ठाउँ-ठाउँमा भेला भएर चालक र सहचालकलाई माला र अबीरले स्वागत गरेको वडाध्यक्षहरुले बताएका छन् ।

बसको भाडादर भने निर्धारण गरिएको छैन । वुधबार गोरखा नगर प्रमुख पन्तको अध्यक्षतामा बसेको बैठकले तीन सदस्यीय भाडा निर्धारण तथा बाटो अनुगमन समिति गठन गरेको छ । संयोजकमा नगरपालिकाका इन्जिनियर प्रकाश ढकाल रहेका छन् । सदस्यमा व्यवसायीको तर्फबाट विपिनचन्द्र ढकाल र उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष किशोरजंग थापा छन् । ‘बैठकमा सहभागीहरुले भाडादरको मोटामोटी खाका बनाएर प्रस्तुत गर्नुभएको छ,’ ढकालले भने, ‘बैज्ञानिक आधारमा केही दिनमै भाडादर निर्धारण गर्छौं ।’ भाडादर निर्धारण नहुँदासम्म बैठकमा प्रस्तावित भाडादर लागू हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment