Comments Add Comment

पदभार ग्रहणलगत्तै राज्यमन्त्री मानन्धर संसदीय समितिमा !

५ मंसिर, काठमाडौं । नवनियुक्त शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर बिहीबार पदभार ग्रहणलगत्तै संसदीय समितिमा पुगे ।

संसदको विकास तथा प्रविधि समिति काठमाडौंको फोहोर फाल्ने ल्याण्डफिल साइटबारे छलफल गर्न राखेको बैठकमा उनी जवाफ दिन पुगेका हुन् । समिति सभापति कल्याणी खड्काले राज्यमन्त्री मानन्धरलाई स्वागत गर्दै सफल कार्याकालको शुभकामना दिइन् ।

करिब ५ मात्रै मिनेट बसेका मानन्धरले बैठकबाट बाहिरिने क्रममा उभिएरै भने, ‘अर्को पटकदेखि समितिको छलफलमा बस्छु । यो विषय (बन्चरेडाँडा निर्माणाधीन ल्याण्डफिल साइट) मा मेरो विशेष चासो छ । यसमा बृहत छलफल गर्न चाहेको छु ।’

सांसदको ध्यानाकर्षण

नुवाकोटको ककनीस्थित बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको जिम्मा लुम्बिनी/कोशी एण्ड न्यौपाने जेभीले पाएको छ । सम्झौताअनुसार ल्याण्डफिल साइट निर्माणको समयसीमा २०७७ वैशाख २२ गतेसम्म छ ।

हालसम्म २५ प्रतिशत काम सकिएको आयोजना निर्देशक एवं शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए । उनले सामाजिक समस्याका कारण काम प्रभावित हुने गरेको वा हुन सक्ने भन्दै यसतर्फ सम्बद्ध निकायले जिम्मेवार भएर भूमिका निर्वाह गरिदिनुपर्ने बताए ।

समिति सदस्यहरुले भने समयमै काम सक्न मन्त्रालयको ध्यानाकर्षण गरेका छन् ।

‘अहिलेसम्मको भौतिक प्रगति ठिकठिकै देखिन्छ । अब उदाहरणीय बनाउने गरी यसको कामलाई अगाडि बढाउनपर्‍यो । अर्को बैठक बस्दा मूर्त प्रगति भएको सुन्न पाइयोस्’ समिति सदस्य केदार सिग्देलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment