Comments Add Comment

हृदयेश त्रिपाठीको राजनीतिक यात्रा : कम्युनिष्ट छाडेर मधेसतिर, मधेस छाडेर सिंहदरबारतिर !

५ मंसिर, काठमाडौं । हृदयेश त्रिपाठी कसको कोटामा मन्त्री भए ? गुटका आधारमा मन्त्रीहरुको भागबण्डा हुने प्रचलन भएकाले नेकपा पंक्तिमा हृदयेशको गुट कुन हो भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

हाल कुनै दलमा आवद्ध नरहेका त्रिपाठी नेकपाको गुट बाहिरबाट मन्त्री बन्न सफल भएका छन् । सूर्य चिह्नबाट चुनाव जिते पनि उनी र बृजेशकुमार गुप्ता स्वतन्त्र सांसद हुन् । चुनाव जितेपछि त्रिपाठी र गुप्ता नेकपामा समाहित हुने अपेक्षा विपरीत अहिलेसम्म स्वतन्त्र हैसियतमै छन् ।

२५ वर्षअघि तत्कालीन नेकपा एमालेको अल्पमतको सरकारमा स्वास्थ्यमन्त्री बनेका पद्मरत्न तुलाधर पनि यसैगरी सूर्यचिन्हबाट चुनाव जितेर स्वतन्त्र रहेका थिए । यसपटक नेकपाको दुई तिहाईको बहुमतको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका हृदयेश त्रिपाठीको अवस्था पनि तुलाधरको जस्तै देखिएको छ । अर्थात उनीहरु दुबैजना सूर्य चिह्नबाट चुनाव जितेका तर पार्टीको सदस्य नभएका स्वतन्त्र सांसद हुन् ।

स्वर्गीय तुलाधर र नवनियुक्त मन्त्री त्रिपाठी ०४८ देखि लामो समय संसदमा सँगै थिए । तर, त्यसबेला तुलाधारको हैसियत सूर्यचिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसदका रुपमा थियो भने त्रिपाठी अर्कै दलका सक्रिय नेता थिए ।

पद्मरत्न तत्कालीन एमालेबाट जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्य सहित तीनपटक सांसद भए पनि स्वतन्त्र वामपन्थीकै हैसियतमा रहे । त्रिपाठी अहिले स्वतन्त्र सांसद हुन् । तर, वामपन्थी हुन् कि होइनन् ? यो प्रश्न अझ रोचक छ । मन्त्री त्रिपाठी पूर्ववामपन्थी हुन् भन्न चाहिँ हिच्किचाउनुपर्दैन ।

त्रिपाठीलाई मधेसवादी राजनीतिज्ञका रुपमा आजको पुस्ताले चिनेको छ । तर, उनको राजनीति भने वामपन्थबाट शुरु भएको थियो । तीसको दशकमा उनी रायमाझी समूहको एउटा हाँगोमार्फत कम्युनिस्ट कार्यकर्ताका रुपमा राजनीतिमा चिनिएका थिए । उनले तत्कालीन विद्यार्थी फेडरेशनको नेतृत्वमा रहेर काम गरे ।

गजेन्द्रनारायणले चिनाएका त्रिपाठी

त्रिपाठीलाई राष्ट्रिय राजनीतिमा चिनाएको भने नेपाल सद्भावना पार्टी र गजेन्द्रनारायण सिंहले नै हो । कांग्रेसबाट अलग भएका गजेन्द्रनारायणले मधेस मुद्दा उठाएर गठन गरेको सद्भावना पार्टीबाट उनी ०४८ सालमा नवलपरासीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

उनले लेखा समितिमा बसेर धेरै ठूला घोटालाहरुको पर्दाफास गरेर । लाउडा र धमिजा विमान काण्डमा गिरिजाप्रसाद कोइरालालाई लेखा समितिले नै दोषी देखाएको थियो ।

त्रिपाठी ०७० सालको संविधानसभा निर्वाचनबाहेक ०४८ सालयताका सबै निर्वाचनमा जितेर सिंहदरवार आए । ०५१ सालमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेपछि तत्कालीन २०५ सदस्यीय संसदमा ६ सिट सहित उपस्थित सद्भावना पार्टी पनि सत्ता राजनीतिको मैदानमा पुग्यो । मन्त्री बन्न पालैपालो पार्टी समेत फुट्यो ।

त्रिपाठीलाई तत्कालीन सत्तारुढ नेकपा एमालेले संसदका सार्वजनिक लेखा समितिको सभापति बनाएपछि उनी संसदीय राजनीतिका खेलाडी बनेर निस्किए । उनको पालामा लेखा समिति कामबाटै चर्चित भयो । एमालेको अल्पमतको सरकार ढलेपछि त्रिपाठीको यात्रा संसदीय समितिबाट सरकारतिर भयो ।

उनी २०५४ असोजमा पहिलोपटक मन्त्री भए । सूर्यबहादुुर थापा नेतृत्वको गैरकम्युनिस्ट सरकारमा उनी वन तथा भूसंरक्षणमन्त्री बनेका थिए । त्यसपछि उनी लामो समय मन्त्री बन्न पाएनन् । सद्भावना पार्टीभित्रको विवाद र पार्टी विभाजनपछि उनले आफ्नो साटो रामेश्वर रायलाई मन्त्री बनाए ।

मन्त्री नबने पनि त्रिपाठी नेपाली संसदीय राजनीतिका कुशल खेलाडी हुन् । उनले लेखा समितिमा बसेर धेरै ठूला घोटालाहरुको पर्दाफास गरेर । लाउडा र धमिजा विमान काण्डमा गिरिजाप्रसाद कोइरालालाई लेखा समितिले नै दोषी देखाएको थियो । त्यस्तै चेज एयर र चाइना साउथवेष्ट विमान काण्डदेखि धेरै भ्रष्टाचार काण्ड त्रिपाठीले लेखा समितिमा प्रवेश गराएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्तामा हातमा लिएपछि सद्भावना पार्टी पुनः विभाजित भयो । बद्री मण्डल राजाको सरकारमा गएपछि त्रिपाठी र राजेन्द्र महतोहरुले गजेन्द्र नारायणसिंहकी पत्नी आनन्दीदेवीलाई अध्यक्ष बनाएर पार्टी पुनर्गठन गरे । कांग्रेस एमाल सहित सात दलको आन्दोलनमा त्रिपाठी अग्रभागमै थिए ।

लोकतन्त्र पुनर्स्थापनापछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा २०६३ सालमा त्रिपाठी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बने । तर त्यही बेला संघीयताको माग सहित मधेशमा उपेन्द्र यादव नेतृत्वमा आन्दोलन भएपछि त्रिपाठी आन्दोलनमा लागे । त्रिपाठीलगायतका नेताकै पहलमा उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमलाई काउन्टर दिन महन्थ ठाकुर नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन भयो ।

त्रिपाठी तमलोपाको वरिष्ठ उपाध्यक्ष थिए । उनी ०६४ सालको संविधानसभामा पनि निर्वाचित भएर आए । त्यसबीचमा त्रिपाठी बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला भौतिक पूर्वाधार मन्त्री बने । मध्य तराईमामात्र केन्द्रित मधेसवादी दललाई पश्चिम तराईमा स्थापित गर्ने नेता हुन् त्रिपाठी ।

यो पनि पढ्नुहोस निजामती सेवाका व्यक्तिगत र संरचनागत समस्या हटाउँछु : मन्त्री त्रिपाठी संविधानसभाबाट संविधान जारी गर्नेबेला भएको मधेस आन्दोलनमा उनले पश्चिमको कमाण्ड गरेका थिए । तर आन्दोलनकै बेला तपलोपासहित मधेस केन्द्रित पाँच पार्टी मिलेर राजपा बनेपछि त्रिपाठी किनारामा परे । आफूभन्दा जुनियर कार्यकर्ता एक सिट सांसदकै भरमा दल एकीकरण गरेर अध्यक्षमण्डलको सदस्य भएपछि उनी भूमिकाको खोजीमा थिए ।

पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गरेका बेला उनले फरक मत राखे । यद्यपी त्रिपाठीले पार्टी निर्णय अनुसार बहिस्कार अभियान चलाउँदा नवलपरासीको एउटा वडामा मतदान नै भएन ।

तर, तेस्रो चरणको चुनावमा प्रदेश २ मा पार्टीले चुनावमा भाग लिएपछि त्रिपाठीले विरोध गरे । त्यहाँबाट मधेसवादी दलसँग उनको सैद्धान्तिक विमति बढ्यो ।

मधेसवादी दलले प्रदेश २ लाई मात्र मधेस भनेर सीमित गर्न खोजेको भन्दै उनले पार्टीमा अलग्गै समूह बनाए । अन्ततः ०७४ असोजमा तत्कालीन नेकपा एमालेसँग सम्झौता गरेर त्रिपाठी, बृजेश गुप्ता, ईश्वरदयाल मिश्रलगायत नेताहरु सूर्य चिह्नबाट चुनाव लडे । तीमध्ये त्रिपाठी र गुप्ता प्रतिनिधिसभामा आए भने प्रदेशसभामा पनि सो समूहका दुईजनाले जिते ।

नेकपा एकीकरणमा त्रिपाठी समेटिने भने पनि उनी स्वतन्त्रकै हैसियतमा छन् । उनलाई मन्त्री बनाउन नेकपा महासचिव विष्णु पौडेलले भूमिका खेलेका छन् । पौडेलकै पहलमा त्रिपाठीको समूह तत्कालीन एमालेबाट चुनाव लडेको थियो ।

के त्रिपाठी आउने चुनावसम्म नेकपाको नेताका रुपमा जनताबीच जान्छन् ? वा पद्मरत्न तुलाधर जस्तै सदस्यताविनाको स्वतन्त्र वामपन्थी बन्छन् ? यो रोचक प्रतिक्षाको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment