Comments Add Comment
प्रेस रिभ्यु :

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पुस दोस्रो साता नेपाल आउने !

६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको अन्तरकुन्तरसँगै मन्त्रीहरूलाई प्रधानमन्त्रीले दिएको निर्देशनले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएकाे छ । यसबाहेक शुल्क फिर्ता माग्दै मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दोलन, एनसेलबारे सर्वोच्चले गरेको फैसला, गुण्डागर्दीको पछिल्लो अवस्थालगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले नजर लगाएका छन् ।

मन्त्री हेरफेरपछि प्रमुख सत्तारूढ दल नेकपामा असन्तुष्टि देखिएको अन्नपूर्णले लेखेको छ । नेकपाका विभिन्न नेताहरूको प्रतिक्रिया विश्लेषण गर्दै अन्नपूर्णले यस्तो निष्कर्ष निकालेको हो ।

पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको अर्को खबर पनि अन्नपूर्णमा छ । समाचार अनुसार, भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, होटल बुक गरेको कागज र भिसा शुल्क ६ हजार ३ सय तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको हो । यो सर्त तीन महिनाको एकल प्रवेशका लागि हो ।

राजधानीले विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न गुन्डाहरू पछिल्लो समय पलायन हुन थालेको लेखेको छ । राजनीतिक आडमा विगतदेखिख नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछि केही कमजोर देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग नभएको राजधानी समाचारमा उल्लेख छ ।

राजधानीमा महेश्वर गौतम लेख्छन्– केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसद्सम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् । धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीाके सदस्यता लिएका छन् । केही गुन्डा नाइके पलायन भएर विदेशसमेत हान्निएका छन् ।’

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा समेटिएका पात्रमाथि कान्तिपुरले मुख्य समाचार बनाएको छ । ‘मन्त्रिपरिषद् पुनर्गठनः केहीलाई सरप्राइज, केहीलाई धोका’ शीर्षक समाचारमा लेखिएअनुसार, केहीले सरप्राइज पाए पनि केहीले धोकाको महसुस गरेका छन् । वसन्त नेम्वाङ, हृदयेश त्रिपाठीलगायतका नेताले सरप्राइज पाए पनि प्रभु साहलगायतका नेताले धोका महसुस गरेको कान्तिपुर समाचारमा लेखिएको छ ।

मेडिकल कलेजका विद्यार्थीले शुल्क फिर्ताको माग राख्दै थालेको आन्दोलनदेखि बबईमा हुर्कंदै गरेको घडियालसम्मको समाचारलाई कान्तिपुरले आफ्नो पहिलो पृष्ठमा प्राथमिकतापूर्वक छापेको छ ।

र, यो पनि– रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै

नेपाल समाचारपत्रले रूसी राष्ट्रपति भ्लादिमर पुटिन नेपाल आउन लागेको लेखेको छ । पुस दोस्रो साता पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको उसको दाबी छ ।

‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन । उता रूसबाट डिसेम्बर अन्तिम साताका लालगि प्रस्ताव आएको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतको हवाला दिँदै नेपाल समाचारपत्रले लेखेको छ ।

नेपालमा रहेको युरेनियम पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिन भ्रमणको तयारी गरेको सो समाचारमा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment