Comments Add Comment
विचार :

चिकित्सक र बिरामीबीचको खाडल

समस्या बिरामीलाई बुझ्नेगरी काउन्सिलिङ नगर्नुमा छ

‘उपचार क्रममा जटिलता देखियो वा मृत्यु भयो भने हुलदंगा हुन्छ, जति काउन्सिलिङ गरे पनि काम लाग्दैन । पत्रपत्रिकाले पनि लापरबाही भनेर लेखिदिन्छन् । जटिलता वा लापरबाही छुट्याउन छानविन हुँदैन ।’

प्रायः चिकित्सकबीच यस्तै गफ भइरहन्छ ।

चिकित्सकले उपचारमा भरमग्दुर कोसिस गरेको हुन्छ, धेरै बिरामीलाई जोगाएर डिस्चार्ज गरिएको हुन्छ । अत्यन्त न्यून बिरामीमा जटिलता वा मृत्यु हुन सक्छ संसारका सबै अस्पतालमा ।

धेरै भइरहने एपेण्डिसाइटिस वा पित्त थैलीको पत्थरीको शल्यक्रियाको क्रममा पनि हिँडेर आएको बिरामीमध्ये हजारमा एक जनाको मृत्यु हुने विश्वव्यापी रेकर्डले देखाउँछ । कुनै चिकित्सक वा अस्पतालले सय प्रतिशत सफल गराउँछु भनेर दाबी गर्छ भने त्यो केवल झूठ हो भनेर मेडिकल किताबमा नै लेखिएको छ ।

कुनै चिकित्सक वा अस्पतालले सय प्रतिशत सफल गराउँछु भनेर दाबी गर्छ भने त्यो केवल झूठ हो भनेर मेडिकल किताबमा नै लेखिएको छ

कुनै पत्रिका वा मिडियाले कुनै अस्पतालमा मान्छे मर्छ भन्यो भने त्यो अस्पताल असुरक्षित, कुनै अस्पतालको बारेमा केही भनेन भने त्यो बढी सुरक्षित भनेर मानिसहरू दिग्भ्रमित हुने र सुविधासम्पन्न अस्पताल छाडेर कम सेवा सुविधा भएको अस्पतालतिर झुम्मिने गरेको पनि यदाकदा देखिँदै आएको छ । वास्तवमा मेडिकल रेकर्डको गहन अध्ययनविना गरिने अनुमानहरू पूर्ण हुँदैनन् ।

बिरामीतर्फबाट हेर्दा अर्कै पाटो देखिन्छ ।

छरछिमेकका चिनेजानेका प्रायः सबै बिरामीको शल्यक्रिया सफल भएको देखिएको अवस्थामा एकजनाको मृत्यु हुनु आश्चर्यजनक छ । हिँडेर आएको बिरामीको एपेण्डिक्स वा पत्थरी वा पिलो निचोर्ने शल्यक्रियामा मान्छे किन मर्छ ? पक्कै लापरबाही भएको शंका उत्पन्न हुन्छ ।

चिकित्सक र अस्पताललाई बढी विश्वास र भरोसा गरेको परिणाम हो यो । बन्जी जम्पिङ खतरनाक खेल मानिन्छ । जहाज चढ्दा डराइन्छ । आणविक भट्टी कति खतरनाक मानिन्छ । चिकित्सकबाहेक अन्यलाई थाहै भएको छैन कि अहिले उपलब्ध उपचार पद्दति पनि असुरक्षित छ, संसारको जुनसुकै अस्पतालमा पनि ।

उपचार गर्नु बाध्यता हो, रहर होइन । चिकित्सक र बिरामीबीचको खाडल यही हो ।

समस्या बिरामीलाई बुझ्नेगरी काउन्सिलिङ नगर्नुमा छ

चिकित्सक लगायत स्वास्थ्यसँग सम्बन्धित संघ–संस्था कसैले पनि बिरामीहरूलाई प्रष्ट बुझाउन सकेको पाइँदैन । हामीले के बुझाउन सकेका छैनौं भने बिरामीको मृत्यु लापरबाहीले पनि हुन्छ र जटिलताले पनि हुन्छ । यीमध्ये के कारणले भएको हो, छानविन गरेर पत्ता लगाउनु पर्छ । जटिलता रहेछ भने कोसिस गर्दा–गर्दै कहिलेकाहीँ भवितव्य हुन्छ । लापरबाही हो भने अस्पतालसँग पाँच लाख लिएर किन मिलापत्र गर्ने ? करोड दाबी पनि गर्न सकिन्छ ।

हामी चिकित्सक पनि त्यहीँ चाहन्छौं, जुन आम जनमानस चाहन्छन् । लापरबाही सहन सकिने कुरा होइन, तर कोसिस गर्दा–गर्दै भएको भवितव्यमा हाम्रो मन पनि उत्तिकै रोएको हुन्छ ।

आपूm शल्यचिकित्सक भएका कारणले म शल्यक्रियाका क्रममा बिरामीले के थाहा पाउनुपर्छ भन्ने जानकारी गराउन चाहन्छु । शल्यक्रियाअघि सर्जनले बिरामीलाई प्रशस्त समय दिएर निम्न कुराहरू बताउनु वा बिरामीले सोधेर भए पनि बुझ्नुपर्छ । यो चिकित्सकको नैतिक र कानूनी दायित्व पनि हो । बिरामीको तर्फबाट पनि राम्रोसँग बुझेपछि उपचार क्रममा निर्णय लिन सजिलो पर्छ ।

–रोग के हो र कसरी पहिचान गरियो भन्ने कुरा प्रष्ट बताउनुपर्छ ।

–उपचार कसरी गरिन्छ वा कस्तो शल्यक्रिया गरिन्छ भन्ने थाहा दिनुपर्छ ।

–शल्यक्रिया नगरी अन्य उपचारले हुने÷नहुने बताउनुपर्छ ।

–शल्यक्रियाको फाइदा÷बेफाइदा जानकारी गराउनु पर्छ ।

–शल्यक्रिया वा उपचार नगर्दाको खतराहरूबारे पनि बताउनु पर्छ ।

हामीले के बुझाउन सकेका छैनौं भने बिरामीको मृत्यु लापरबाहीले पनि हुन्छ र जटिलताले पनि हुन्छ । यीमध्ये के कारणले भएको हो, छानविन गरेर पत्ता लगाउनु पर्छ

यस्तैखाले शल्यक्रिया कति गर्नुभएको छ र सफल दर कति छ भनी बिरामीले सोधेको बेला नढाँटी बताउनुपर्छ । योभन्दा राम्रो विधि अन्य अस्पतालमा छ भने त्यो पनि इमानसाथ बताउनुपर्छ ।

बिरामीले सबभन्दा राम्रो विधिबाट उपचार पाउनुपर्छ ।

शल्यक्रिया कसले गर्छ, अन्य चिकित्सक, नर्स र स्टाफ को–को रहन्छ र कसले के–कस्ता काम गर्छन्, विद्यार्थी चिकित्सकहरू टिममा हुन्छन् वा हुँदैनन् ? प्रष्ट बताउनुपर्छ । विद्यार्थी चिकित्सक आफ्नो शल्यक्रियामा नहुन् भन्ने बिरामीको माग छ भने त्यो मान्नुपर्छ ।

विद्यार्थी चिकित्सक नराख्ने हो भने तपाईंको सर्जरी गर्दिनँ भन्ने अधिकार पनि रहन्छ चिकित्सकसँग । शल्यक्रियाको क्रममा अर्को शल्यक्रिया थपिन पनि सक्छ वा सोचेजस्तो हुबहु शल्यक्रिया अगाडि नबढ्न पनि सक्छ भन्ने कुरा जानकारी गराउनुपर्छ ।

शल्यक्रिया कसले गर्छ, अन्य चिकित्सक, नर्स र स्टाफ को–को रहन्छ र कसले के–कस्ता काम गर्छन्, विद्यार्थी चिकित्सकहरू टिममा हुन्छन् वा हुँदैनन् ? प्रष्ट बताउनुपर्छ । विद्यार्थी चिकित्सक आफ्नो शल्यक्रियामा नहुन् भन्ने बिरामीको माग छ भने त्यो मान्नुपर्छ

कहिलेकाहीँ क्यान्सरको शल्यक्रियाअघि पूरै क्यान्सर निकाल्न सकिन्छजस्तो लागेको हुन्छ । बिरामी जाँच, विभिन्न उपकरणबाट गरिएका जाँचले त्यस्तै संकेत दिएको हुन्छ । तर सर्जरीमा हेर्दा सबैतिर फैलिएको छ भने पूरै क्यान्सर निकालेर फाइदा नहुने देखेपछि चिकित्सकले अनुमानित शल्यक्रिया गर्दैनन् । कहिलेकाहीँ पाठेघरको शल्यक्रिया गर्दा एपेण्डिक्स पनि समस्याग्रस्त लाग्यो भने सर्जनले एपेण्डिक्स पनि निकालिदिन्छन् ।

यी सब कुरा बुझ्नेगरी बताएर बिरामीपक्षबाट सही छाप गर्नुपर्छ । र पनि, शल्यक्रियाको लागि बेहोस गराउनु अघिसम्म आफ्नो निर्णय परिवर्तन गर्ने अधिकार सुरक्षित रहन्छ बिरामीसँग ।

यसरी प्रष्टसँग समय लिएर गरिएको काउन्सिलिङ र मञ्जुरीनामा पछि उपचारका क्रममा चिकित्सक र बिरामी दुवै पक्षले एक अर्काको साथ पाउँछन् । उपचार गर्न सजिलो हुन्छ । झैं–झगडा हुने, मनमुटाव हुने सम्भावना कम हुन्छ ।

(प्रा. डा. कोइराला किष्ट मेडिकल कलेज र ओम अस्पतालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment