Comments Add Comment

जगमान गुरुङलाई सूर्यमणि स्मृति पुरस्कार

६ मंसिर, पोखरा । प्रा. डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानले शुक्रबार ५१ हजार रुपैयाँसहित इतिहास तथा संस्कृतिविद् जगमान गुरुङलाई सम्मान गरेको छ ।

अधिकारीको ७१ औं जन्मजयन्तीका अवसरमा उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बीच उनलाई पुरस्कृत गरिएको हो ।

गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार ग्रहण गर्दै उनले अधिकारी एक विज्ञान पृष्ठभूमिका इतिहासकार भएको खुलाए । ‘अधिकारी र म पिएन देखिका सहपाठी हौं,’ उनले भने, ‘योगी नरहरिनाथले बटुलेका इतिहास तथ्यहरु केही अधुरा थिए । तर, उहाँले पछि खोज अनुसन्धान गरेर पूरा गर्नुभयो ।’

उनले अधिकारी विज्ञानका विद्यार्थी भएपनि इतिहासको मोहले इतिहास विधामा लागेको बताए । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश कला, साहित्य र इतिहासले भरिपूर्ण भएकाले त्यसलाई जोगाउन प्रदेश कटिबद्ध रहेको सुनाए ।

उनले प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयकदेखि एकीकृत ग्राम बनाउनेसम्म प्रदेशको योजना रहेको जानकारी दिए । उनले भने, ‘एकीकृत नमुना सांस्कृतिक ग्राम बनाउन पाउँदरकोटमा जग्गा छनोट गरेका छौं । तर, नेपाल सरकारले भोकाधिकार नदिएकाले जग्गा प्राप्तिमा समस्या भइरहेको छ ।’

प्रा. डा. दिलबहादुर क्षेत्रीको संयोजकत्वमा डा. बाबुराम अधिकारी, महेश अधिकारीको प्रतिभा छनोट समितिले गुरुङलाई सिफारिश गरेको हो । २००३ माघ २१ गते कास्की याङ्जाकोटमा जन्मिएका गुरुङ हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन् ।

अधिकारी चितवन जिल्लाबाट पहिलो पटक विद्यावारिधी गर्ने व्यक्ति हुन् । उनको मृत्यु ०६२ जेठ १२ गते भएको थियो । बाबुको सम्झनामा उनकी छोरी इन्दिरा अधिकारी कोइरालाले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन् ।

अक्षयकोषबाट प्राप्त रकमबाट प्रत्येक वर्ष एक अनुसन्धातालाई सम्मानित गरिने प्रतिष्ठानकी अध्यक्ष इन्दिरा कोइरालाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment