Comments Add Comment

ललितपुरमा साइकल लेनको शिलान्यास शनिबार, स्ट्याण्ड तयार

८ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकामा बन्ने साइकल लेनका लागि स्ट्याण्ड तयार भएको छ । ललितपुर महानगरपालिकाले कुपण्डोल–पुल्चोक–जावलाखेल–मंगलबजार साइकल लेन निर्माणका लागि ३ ठाउँमा साइकल स्ट्याण्ड तयार पारेको हो ।

महानगरका प्रवक्ता राजु महर्जनले पुल्चोकस्थित महानगरको कार्यालय परिसरसहित जाउलाखेल र मंगलबजारमा साइकल स्ट्याण्ड तयार भएको जानकारी दिए । प्रवक्ता महर्जनका अनुसार ती स्ट्याण्डमा ५० वटा साइकल अट्ने छन् । बाँकी ५० वटा अट्ने स्ट्याण्ड पनि चाँडै सकिने उनले बताए ।

महानगरले स्टयाण्ड बनाउनका लागि ५ लाख रुपैयाँमा ठेक्का लगाएको छ । स्ट्याण्ड बनाइसकेको महानगरले साइकल लेनका लागि समेत ठेक्का लगाइसकेको छ ।
कुपण्डोल–पुल्चोक–जाउलाखेल–मंगलबजार सडक खण्डमा साइकल लेन बनाउनका लागि ३२ लाखमा ठेक्का लगाइएको प्रवक्ता महर्जनले बताए । साइकल लेन निर्माणको जिम्मा रमिट कन्ट्रक्सनले पाएको छ ।

ललितपुर महानगरपालिका आफैंले कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउन बजेट समेत विनियोजन गरेको थियो । साइकले लेन बनेपछि साइकल यात्रीको सुरक्षा साथै वातावरणलाई समेत सकारात्मक प्रभाव पार्ने भन्दै महानगरले बजेट विनियोजन गरेको थियो ।

ठेक्का प्रक्रिया सकिएको र आगामी शनिबारदेखि नै काम शुरु हुने महानगरले बताएको छ । ‘शनिबार कुपण्डोलमा शिलान्यास कार्यक्रम आयोजना गरिएको छ, त्यही दिनदेखि काम शुरु हुन्छ,’ प्रवक्ता महर्जनले भने ।

साइकल लेन बनाउन महानगरले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । महानगरका मेयर चिरिबावु महर्जनले सडक विस्तार नगरी अहिले भएकै सडकको छेउमा १.२ मिटर क्षेत्रमा साइकल लेनका रुपमा रेखांकन गरिने बताएका छन् ।

उनका अनुसार अहिले बार भने लगाइने छैन । साइकल लेनमा अन्य सवारी साधनहरु पनि गुड्न पाउने तर त्यस क्षेत्रमा साइकललाई प्राथमिकता दिनुपर्ने मेयर महर्जनले बताए ।

लामो समयदेखि साइकल लेनको माग हुँदै आएकाले महानगरले बनाउन लागेको उनको भनाइ छ ।

‘धुवाँधुलोका कारण हामी वाक्क भएका छौं, इन्धन प्रयोग हुने सवारी साधनले प्रदुषण फैलाइरहेको छ’ मेयर महर्जनले भने, ‘साइकल चलाउँदा प्रदुषणको चिन्ता भएन, स्वास्थ्यको लागि पनि यो फाइदाजनक छ ।’ अहिले पहिलो चरणमा यति गरिए पनि विस्तारै आधुनिक तरिकाले साइकललेन निर्माण गर्ने महानगरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment