Comments Add Comment

गोरखाको घ्यालचोकमा कृषि ज्ञान केन्द्र बन्दै

८ मंसिर, चितवन ।चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले गोरखाको घ्यालचोकमा कृषि ज्ञान केन्द्र निर्माण गरिरहेको छ । गण्डकी गाउँपालिका-७ मा झण्डै ५१ लाखको लगानीमा ज्ञान केन्द्र निर्माण भइरहेको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले जानकारी दिए ।

गत भदौ महिनामा सम्झौता भएर अघि बढेको काम पौष महिनाभित्र सकिने विश्वविद्यालयका रजिष्ट्रार कोलाक्षपतिले जानकारी दिए । झण्डै ११ रोपनी जग्गामा बन्दै गरेको ज्ञान केन्द्रमा दुई ठूला हल, कार्यालय प्रमुख र अन्य कर्मचारी कक्ष र सामान्य ल्याव रहनेछ । केन्द्रको कम्पाउण्डसहितको गेट पनि बनाउने सम्झौतामा उल्लेख रहेको रजिष्ट्रार कोलाक्षपतिले बताए । ज्ञान केन्द्रका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको हो ।

ज्ञान केन्द्रमा एक जना कृषि अधिकृतसहितका करीव ५ जना कर्मचारीहरु रहनेछन् । ज्ञान केन्द्र बन्दै गरेको क्षेत्रमा विजुली र पानीको समस्या रहेकोले तत्कालै गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरिने वडा नः ७ का वडाध्यक्ष तुलसी रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।

गोरखाको घ्यालचोक क्षेत्र तरकारी खेती उत्पादनको पकेट क्षेत्र मानिन्छ । वडा अध्यक्ष रेग्मीले ज्ञान केन्द्र स्थापनापछि तरकारी उत्पादक किसानलाई धेरै सहजता हुने र उत्पादन वृद्धि हुने अपेक्षा रहेको बताए । व्यवसायिक तरकारी उत्पादनमा लागेका किसानले भोग्दै आएका रोग, किराको समाधान तथा बाली लगाउँदा अपनाउनुपर्ने सचेतनाका बारेमा सहज हुने विश्वास विश्वविद्यालयको छ । विश्वविद्यालयले यसअघि मकवानपुरको पालुङमा कृषि ज्ञान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment