Comments Add Comment

बामदेवको दावी– पाँच वर्षमा आधारभूत समाजवाद, अर्को पाँच वर्षमा चीनसमान

८ मंसिर, काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालमा पाँच वर्षमा आधारभूत समाजवाद निर्माण गरेर अर्को पाँच वर्षभित्र चीनको स्थान जहाँ छ, त्यहाँसम्म पुग्ने दाबी गरेका छन् ।

‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यशालामा गौतमले १५ देखि २० वर्षमा समृद्धिको बाटोमा जान सकिने बताए ।

गौतमले भने, ‘नेपालमा पाँच वर्षमा हामीले आधारभूत समाजवाद निर्माण गर्न सक्छौं । अर्को पाँच वर्षमा हामीले चीन जहाँ पुगेको छ, त्यो ठाउँ पुग्न सक्छौं र १५ वर्षदेखि २० वर्षमा हामी समृद्धिको बाटोतर्फ जान सक्छौं ।’

उनले नेपालमा समाजवाद अवश्यंभावी रहेको समेत बताए । ‘समृद्ध समाजवादको चरमविन्दु भनेको विश्वव्यापी रुपमा समाजवाद स्थापना हुने चरणसम्म जाने हो । त्यो साम्यवाद रुपान्तरणको चरणसम्म जाने समाजवाद हो,’ गौतमले भने, ‘त्यो समाजवाद हामीले निर्माण गर्ने हो । त्यसको ग्यारेन्टी नेपाल कम्युनिष्ट पार्टीले लिनुपर्छ । लिने गरी हामी जान्छौं । नेपालमा समाजवाद अवश्यंभावी छ ।’

उनले जनताको जनवादको नाममा पुँजीवाद निर्माण गर्ने विचार नेकपाको आधिकारिक विचार भएको भन्दै त्यसमा आफूले फरक मत राखेको जानकारी दिए ।

‘अहिलेको प्रतिवेदनमा पनि मेरो फरक मत छ । विधानमा पनि फरक मत छ । मेरो प्रतिवेदन छुट्टै छ । पार्टी कस्तो हुनुपर्छ भन्ने कुरामा पनि म आज सहमत छैन,’ उनले भने ।

समयक्रममा छलफल र बहस हुँदै जाँदा आफ्ना दस्तावेज सार्वजनिक गर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment