Comments Add Comment

चितवनमा औषधि उद्योग खोल्ने प्रतिस्पर्धा

८ मंसिर, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा औषधि उद्योगहरू खुल्ने क्रम बढ्न थालेको छ ।

देशको मध्यभाग, औषधिको बजार, भन्सार नाकाहरु नजिक, समथर भूभाग र पानीको सहज पहुँच भएकाले जिल्लामा औषधि उत्पादन गर्ने उद्योग खोल्ने प्रतिस्पर्धा नै चलेको छ ।

चितवन र गैंडाकोटमा गरी झण्डै एकदर्जन औषधि उद्योग छन् । केही उद्योगहरु सञ्चालनमा आइसकेको छन् भने आधा दर्जनभन्दा बढी उद्योगहरू खुल्ने प्रक्रियामा छन् । चितवनमा औषधि उद्योग खुल्नुभन्दा झण्डै एक दशकअघि नवलपुरको गैंडाकोटमा टाइम फर्मास्युटिकल्स र सुमी फर्मास्युटिकल्स खुलेका थिए ।

चितवनमा २०७३ सालमा पहिलोपटक कस्तुरी फर्मास्युटिकल्स उद्योग सञ्चालनमा आएको हो । झण्डै ४० करोडको लगानीमा भरतपुर महानगरपालिका–१६ मा स्थापित कस्तुरीले ६० प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कस्तुरीपछि इनोभेटिभ फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्स सञ्चालनमा आए ।

गत तीनबर्षमा अरु औषधि उद्योग थपिएका छन् । अधिकांश उद्योगले नारायणगढ बजार नजिक रहेको भरतपुर– १६ लाई रोजेका छन् ।

इनोभेटिभ र रोयल कस्तुरीकै वरपर छन् । डिभाइन हेल्थ केयर प्रालि सञ्चालनको अन्तिम तयारीमा रहेको छ । यही मंसिर महिनाबाट डिभाइनले उत्पादन सुरु गर्ने उद्योगका निर्देशक पवन धितालले जानकारी दिए । झण्डै ३५ जना शेयर सदस्यहरुको लगानीमा ३० करोड रुपैयाँको लगानीमा एक विगाहा जमिनमा उद्योग स्थापना गरिएको निर्देशक धितालको भनाइ छ ।

डिभाइनलगत्तै एलिक्जर लाइफ साइनसेन्ज प्रालि, रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालि, मेड्रिक फर्मास्युटिकल्स् प्रालि, केभा फर्मास्युटिकल्स् प्रालि सञ्चालनमा आउँदैछन् ।

रत्ननगर नगरपालिका–१४ माधवपुरमा झण्डै ५० करोड लगानीमा हावर्ड फर्मास्युटिकल्स नाममा अर्को औषधि उद्योग खोल्ने तयारी छ । चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रमा झण्डै डढे दर्जन औषधि उद्योग खोल्ने भनेर उद्योग संघ चितवनमा दर्ता गराइएको छ । लामो समयदेखि यही नै औषधिको क्षेत्रमा काम गरेका व्यक्तिहरु मिलेर अधिकांश उद्योगहरुमा लगानी गरेका छन् । कुनै बेला देशकै सबैभन्दा बढी औषधि उद्योग सञ्चालन रहेको वीरगंज क्षेत्रलाई अहिले काठमाडौं र चितवनले उछिन्न खोजेको छ ।

किन बढे चितवनमा औषधि उद्योग ?

चितवनका अस्पतालहरुले आफ्ना सेवालाई विशिष्टिकृत गर्दै लगेका छन् । जिल्लामा भरतपुर क्यान्सर अस्पताल, मेडिकल कलेज, भरतपुर अस्पतालसहित दुई दर्जन जति साना–ठूला अस्पताल छन् । क्यान्सर अस्पतालमा देशैभरिका बिरामी आउने गरेका छन् ।

चितवनमा अस्पताल र बिरामी बढेसँगै औषधिको बजार बढेको कस्तुरी फर्मास्युटिकल्सका सञ्चालक ईश्वरकुमार भण्डारी बताउँछन् । चितवनमा यति धेरै अस्पतालहरु छन्, विदेशबाट ल्याइएका औषधि प्रयोग गर्नुपर्छ, किन यही औषधि उद्योग नखोल्ने भन्ने सोचले छजना मिलेर कस्तुरीको काम थालेको उनले बताए । ‘पछि अरु साथी पनि थपिनुभयो’, उनले भने ‘अहिले त ४० जनाको ४० करोड लगानी छ ।’

आफुहरुले उद्योग खोलेर जिल्लामा औषधिको बजार छ है भन्ने शन्देश दिएपछि अन्य लगानीकर्ताहरु पनि चितवनमा आकर्षित भएको भण्डारी बताउँछन् । जिल्लाको औषधि उद्योगमा लगानी थपिँदा आफूहरुलाई खुशी लागेको उनी बताउँछन् ।

डिभाइन फर्मास्युटिकल्सका सञ्चालक विनोद धिताल चितवनमा सुरक्षित औद्योगिक वातावरण र बजार भएकोले लगानीकर्ताहरु आकर्षित भएको बताउँछन् ।

काठमाडौं, बारा र भैरहवामा ठूलठूला औषधि उद्योग खोलेकाले पनि चितवनमा शाखा उद्योग सञ्चालन गर्ने होडबाजी नै गरेको बताए । गुणस्तरमा पनि अन्तर्राष्ट्रिय स्तरकै उत्पादन थालेपछि स्वदेशी औषधिको माग बढिरहेको उद्योगहरु बताउँछन् । योसँगै बजार चुनौतीपूर्ण पनि बन्दै गएको उनीहरुको भनाइ छ ।

चुनौतीपूर्ण बन्दै बजार

औषधि उत्पादक संघकाअनुसार नेपालमा वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढीको औषधि कारोबार भइरहेको छ, यसमध्ये ४५ प्रतिशत औषधि स्वदेशी उत्पादन हो । बाँकी ५५ प्रतिशतमा भारतीय औषधिको हिस्सा ९५ प्रतिशत छ ।

नेपालमा तीनसय प्रकारका औषधि उत्पादन हुन्छन् । स्वदेशी उद्योग थपिनुलाई सुखद मानिए पनि एकैप्रकारका औषधि उत्पादन गर्ने उद्योग थपिदा बजार खुम्चिदै जाने सम्भावना छ । त्यसमाथि सरकारको आयातमुखी नीति स्वदेशी उद्योगको लागि घातक भएको उद्योगीहरु बताउँछन् ।

अहिले नेपालमा साना–ठूला गरी करिब ५० आयुर्वेद र २८ अर्ब रुपैँयाभन्दा बढी लगानीका करिब ६० वटा स्वदेशी औषधि उद्योग छन् । तिनको उत्पादनले ८० प्रतिशत माग धान्ने दावी व्यवसायीहरु गर्छन् ।

सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने नीति लिए दुई बर्षमा बजार हिस्सा अहिलेको ४५ प्रतिशतबाट ७५ प्रतिशत पर्याउन सकिने औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष जीनारायणबहादुर क्षेत्री बताउँछन् ।

उनका अनुसार, अहिले औषधिका लागि दैनिक करीव सात करोड रुपैयाँ भारतसहित विभिन्न देश गइरहेको छ । नेपाल सरकारले तयारी सामान आयातमा कम र औषधिको कच्चा पदार्थ ल्याउँदा चर्को भन्सार लगाउने गरेको व्यवसायीहरुको गुनासो छ । यसरी पनि स्वदेशी उत्पादन निरुत्साहित भएको उनीहरुको भनाइ छ ।

संघका अध्यक्ष क्षेत्री सरकारले नेपालमा उत्पादन हुने औषधिको आयात रोक्ने नीति नलिएर स्वदेशी उद्योग जुनसुकै बेला थला पर्ने स्थिती कायम गरेको बताउँछन् । उनकाअनुसार, स्वदेशी उद्योगहरु औषधिका मोलिक्यूल्स नै तयार पार्न सक्ने अवस्थामा नरहेपनि एकाध वर्षमै देशलाई औषधिमा आत्मानिर्भर बनाउन सक्ने अवस्था छ ।

अहिले नेपालमा औषधि बनाउन चीन लगायतका देशबाट मोलिक्यूलहरु ल्याइन्छ । विदेशबाट आयात हुने ३० प्रकारका औषधि रोक्ने सरकारको आश्वासन अहिलेसम्म कार्यान्वयन नभएको व्यवसायीको गुनासो छ । कच्चा पदार्थ र औषधिको गुणस्तर परिक्षणको लागि आवश्यक पर्ने प्रयोगशाला उपकरणको आयातमा पनि सरकारले चर्को भन्सार महशुल असुल्दै आएको उनीहरु बताउँछन् ।

अहिले सञ्चालित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन पनि सकेका छैनन् । अध्यक्ष क्षेत्री पूँजी र जनशक्तिलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नपाएका बताउँछन् । ‘ठुलो बजार नभएको र निश्चित आयू हुने भएकाले एकैपटक धेरै औषधि उत्पादन गर्न पनि मिल्दैन’, उनी भन्छन्, ‘अर्कोतिर आयात घटाउने नीति नै नभएको बजारमा स्वदेशी उत्पादनको प्रतिस्पर्धा छ ।’

‘क्रिटिकल केयर’का औषधि उत्पादन

नेपालमा हाल करिब नौ हजार ब्रान्डका स्वदेशी औषधि र साढेसात हजार ब्रान्डका विदेशी औषधि दर्ता छन् । क्यान्सर, एचआइभी/एड्स, न्यूरो, मिर्गौलालगायत जटिल समस्या र खोपमार्फत लिनुपर्ने औषधिहरु आयात भइरहेका छन् ।

नेपाली कम्पनीहरुले खोपबाट दिइने औषधि उत्पादन बढाउँदै लगे पनि प्रर्याप्त हुन सकेको छैन । केहि कम्पनीले क्यान्सरका औषधि र एन्टी स्नेक भेनम उत्पादन गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment