१२ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री पार्टीमा आवद्ध युवाले अघि सारेको ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागको पक्षमा उभिएकी छन् ।
उनले बुधबार पार्टीमा आवद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई फेसबुकमा पोस्ट गर्दै ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागमा ऐक्यवद्धता जनाएकी हुन् ।
‘विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो (जेनजी) विद्रोह अरूले हाइज्याक गरे । तपाईंहरूको प्रयास ठीक छ’, झाँक्रीले लेखेकी छन्, ‘मिल्नेहरू जोडिदै जान्छन, नमिल्नेहरू छोडिदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन । अगाडि बढ्नुस मेरो सधैँ साथ र धेरै शुभकामना छ ।’
जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ । राजनीतिक दलका युवा विद्यार्थी संगठनहरू समाजमा प्रभावहिन भएकै कारण जेनजी पुस्ताले ‘स्पेश’ (ठाउँ) लिएर संघर्ष सुरू गरेको झाँक्रीले फेसबुकमा लेखेकी छन् ।
जेनजी आन्दोलन र आन्दोलन पछिका घटनाक्रमले देखाएजस्तै लाखौँ वाम विचारमा विस्वास गर्ने मतदातालाई आफ्नै कम्युनिस्ट पार्टीमा संगठित गर्न सकिने एकीकृत समाजवादीमा आवद्ध युवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘तर, यसका लागि हामीले हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नुपर्छ । नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समयको मागअनुसार पार्टीलाई सुधार गरेर, प्रगतिशील युवालाई पार्टीभित्र जबरजस्त स्थान सिर्जना गरेर हामीले व्यापक रुपान्तरणसहितको वाम एकताको आह्वान गर्नुपर्छ ।’

प्रतिक्रिया 4